सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जापान शाखा (बायाँ) पुनर्निर्माण गर्न र अङ्‌गोला शाखा (दायाँ)-को ठाउँ बढाउन थुप्रै कामकुरा गर्नुपऱ्‍यो

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

साक्षीकार्यमा टेवा पुऱ्‍याउने निर्माणकार्य

साक्षीकार्यमा टेवा पुऱ्‍याउने निर्माणकार्य

अक्टोबर २०, २०२३

 परिचालक निकायले अनुदान प्रयोग गरेर साक्षीकार्यलाई टेवा पुऱ्‍याउन चाहिने भवनहरू उपलब्ध गराउन उत्सुक छ। उदाहरणको लागि, सन्‌ २०२३ सेवा वर्षको दौडान यहोवाका साक्षीहरूको शाखा कार्यालयले प्रयोग गर्ने संस्थाबाट संसारभरि किनमेल, निर्माण, पुनर्निर्माण र सभाभवन तथा सम्मेलन भवनहरूको मर्मतसम्भार गर्न ५० करोड अमेरिकी डलरभन्दा बढी खर्च गऱ्‍यो। यो रकम विश्‍वभरिका मण्डलीहरूले आफ्ना सभाभवनहरूको रेखदेख गर्न प्रयोग गरेका थिए।

 साथै शाखाहरू निर्माण गर्न र हेरचाह गर्नका लागि ती अनुदानहरू प्रयोग गरिन्छ, जसले विश्‍वव्यापी रूपमा साक्षीकार्यलाई व्यवस्थित ढङ्‌गमा अघि बढाउन मदत गर्छ। हामीले अनुदानको केही रकम सभाभवन र सम्मेलन भवनहरू निर्माण र पुनर्निर्माणको लागि प्रयोग गर्न सकियोस्‌ भनेर शाखामा गरिने कामहरूलाई छाँटकाँट गऱ्‍यौँ। तैपनि शाखा कार्यालयहरूको मर्मतसम्भार गर्न, पुनर्निर्माण गर्न वा नयाँ ठाउँमा सार्न थप रकमको आवश्‍यकता देखियो। यी परियोजनाहरू किन महत्त्वपूर्ण छन्‌? शाखाहरूले क्षेत्रमा हुने महत्त्वपूर्ण कामहरूलाई कसरी टेवा पुऱ्‍याउँछन्‌? सँगै पत्ता लगाऔँ!

“भवनहरू लामो समयसम्म टिक्न मदत”

 थुप्रै शाखा कार्यालय ३० देखि ४० वर्ष भन्दा बढी पुराना छन्‌। विश्‍वव्यापी डिजाइन/निर्माण विभागकी निकोलस यसो भन्छिन्‌, “एकदमै राम्रोसँग स्याहारसम्भार गरिएको भवनसमेत समयको दौडान पुरानो हुँदै जान्छ र समस्याहरू देखा पर्न थाल्छ। त्यसैले पुनर्निर्माण गर्दा ती भवनहरू लामो समयसम्म टिक्न सक्छन्‌।”

 सङ्‌गठनको मागअनुसार कामकुराहरू अघि बढाउन बेथेल भवनहरूमा पनि त्यसैअनुरूप परिवर्तन गर्नुपर्छ। थुप्रै शाखा कार्यालय निर्माण भएदेखि यता संसारभरि प्रकाशकहरूको सङ्‌ख्यामा उल्लेखनीय वृद्धि भएको छ। त्यसैले हामीलाई मदत गर्न थप स्वयंसेवकहरूको आवश्‍यकता परेको छ। नतिजास्वरूप, कुनै समय ठूलो लाग्ने भवनहरू पनि अहिले काम गर्न अपुग देखिएको छ।

 हामीले सुरक्षाबारे पनि विचार गर्नुपर्छ। अन्तको दिन जति नजिकिँदै जान्छ, त्यति नै हामीले ज्यानै जान सक्ने प्राकृतिक प्रकोपहरूको सामना गर्नुपर्ने हुन्छ। (लुका २१:११) हामीले पुनर्निर्माण गर्दा नयाँ प्रविधिहरू अपनाउँछौँ भने त्यहाँ काम गरिरहेकाहरूका लागि त्यो ठाउँ अझ सुरक्षित बनाइरहेका हुन्छौँ। यी सुधार परियोजनाहरूले भाइहरूलाई ती भवनहरू प्रयोग गरेर प्राकृतिक प्रकोप आइपर्दा राहतकार्यमा सहयोग गर्न र साक्षीकार्यमा पनि टेवा पुऱ्‍याउन मदत गर्न सक्छ।

“यहोवाले यो निर्णयमा आशिष्‌ दिनुभएको छ”

 सन्‌ २०२३ सेवा वर्षको दौडान परिचालक निकायको निर्देशनमा ४३ वटा शाखाहरूमा पुनर्निर्माणको काम भयो। यसको मतलब विश्‍वभरिका झन्डै आधाजसो बेथेल भवनहरूमा केही न केही पुनर्निर्माणको काम गरियो। यो कामको महत्त्व बुझ्न केही उदाहरण विचार गरौँ।

 अङ्‌गोला। अङ्‌गोला शाखा समितिका एक सदस्य म्याट यसो भन्छन्‌, “हामीले हाग्गै २:७ मा गरिएको भविष्यवाणी विशेष तरिकामा पूरा भएको देख्ने मौका पाएका छौँ। हामीले केवल १० वर्षमा प्रकाशकहरूको सङ्‌ख्यामा ६० प्रतिशतले वृद्धि भएको देख्यौँ। ती सबै प्रकाशकहरूलाई मदत दिन बेथेल परिवारको सङ्‌ख्या तीन गुणाले बढाउनुपर्ने भयो। तर बेथेलमा काम गर्न पुग्दो ठाउँ नभएकोले हामीले चाहेजति भाइबहिनीहरूलाई बोलाउन सकेनौँ। त्यसले गर्दा थुप्रै बेथेल सेवकहरूले कडा मेहनत गर्दै ओभरटाइम समेत गर्नुपऱ्‍यो।”

नयाँ अफिसमा (दायाँ) भाइबहिनीहरूलाई काम गर्न सजिलो भएको छ

 केही भाइहरूलाई शाखाको बढ्‌दो आवश्‍यकता पूरा गर्न के गर्नुपर्छ भनेर पत्ता लगाउन खटाइयो। सुरुमा त भइरहेकै शाखा कार्यालयलाई पुनर्निर्माण गर्नु छिटो र व्यावहारिक समाधान हो भन्‍ने भाइहरूलाई लाग्यो। तर गहिरो अध्ययन-अनुसन्धान गरेपछि, त्यसो गर्दा अनुदानको सदुपयोग हुँदैन भनेर भाइहरूले महसुस गरे। त्यसैले नजिकैको भवन किनेर पुनर्निर्माण गर्ने सुझाव दिए। यसबारे म्याट यसो भन्छन्‌, “शाखा समितिलाई पहिलो पटक निर्माण भइसकेको भवन किनेर पुनर्निर्माण गर्ने सुझाव दिँदा त्यो भवन हामी आफैले निर्माण गरेका भवनहरू जत्तिको उपयुक्‍त हुँदैन कि भनेर चिन्ता लागेको थियो। तर अहिले ती पुनर्निर्माण गरिएका भवनहरूले हाम्रो आवश्‍यकता राम्रोसँग पूरा गरेको छ। साँच्चै, यहोवाले यो निर्णयमा आशिष्‌ दिनुभएको छ।”

शाखासित पहिल्यै भएको जग्गामा मोडुलर घर बनाइएकोले क्षेत्रमा भइरहेको वृद्धिमा सघाउन अझ धेरै भाइबहिनीलाई बोलाउन सकियो

 भविष्यमा अङ्‌गोला शाखामा थप ठाउँहरूको आवश्‍यकता पर्न सक्छ। तर अहिले बेथेल परिसरभित्र नयाँ भवन निर्माण गरिएको छ भने बेथेल परिसरबाहिर पनि केही भवनहरू भाडामा लिइएका छन्‌। यसले गर्दा शाखा कार्यालयमा क्षेत्रको बढ्‌दो सङ्‌ख्यालाई टेवा पुऱ्‍याउन पर्याप्त ठाउँ भएको छ।

अङ्‌गोला शाखाको परियोजनामा थुप्रै बहिनी रमाउँदै काम गर्दै छन्‌

 जापान। शाखा कार्यालयका मुख्य भवनहरू लगभग ४० वर्षअघि निर्माण गरिएका थिए र तीमध्ये धेरैजसोमा कहिल्यै बृहत्‌ पुनर्निर्माण गरिएको थिएन। हुनत यी भवनहरूलाई राम्रो अवस्थामा राख्न भाइहरूले धेरै मेहनत गरेका थिए। तर यी भवनहरू जति समयको लागि भनेर बनाइएका थिए, त्यो भन्दा लामो समयसम्म त्यसको प्रयोग गरिँदै थियो। त्यसैले अहिले त्यहाँ बृहत्‌ पुनर्निर्माण हुँदैछ।

 वर्षौँको दौडान बेथेल जीवनमा पनि परिवर्तन आएको छ। सन्‌ २०१५ अघि बेथेल परिवारको लागि बिहान-बेलुकी नै खानाको प्रबन्ध गरिन्थ्यो। त्यसैले जापानमा बेथेलमै बस्नेहरूका लागि सानो “भान्छा” सहितको कोठा तयार पारिएको थियो। तर अहिले बेथेल सेवकहरूले प्रायजसो आफै खाना पकाउँछन्‌। त्यसैले बेथेल सेवकहरूलाई खाना पकाउन सजिलो होस्‌ भनेर पुनर्निर्माण गरिँदा बेथेलका कोठाहरूमा अझै उपयुक्‍त भान्छाकोठाहरू थपिए। जापान शाखामा सेवा गर्ने बहिनी कुमिको यसो भन्छिन्‌, “उपयुक्‍त भान्छाकोठा भएकोले मलाई आफू घरमै छु जस्तो लाग्छ अनि यसले गर्दा बेथेलका नयाँ प्रबन्धहरूलाई पूरापूर समर्थन गर्न पनि मदत पुगेको छ।”

बेथेल परिवारको आवश्‍यकता पूरा गर्न बनाइएको नयाँ भान्छाकोठा (दायाँ)

 जापान शाखामा गरिने कामहरू विश्‍वव्यापी कार्यको लागि महत्त्वपूर्ण छ। (मत्ति २८:१९, २०) पूरै बाइबल छाप्ने दुई वटा शाखामध्ये एउटा जापान हो। त्यसैले अहिले चलिरहेको निर्माण परियोजनाको एउटा काम भनेको छापाखानामा काम गर्ने भाइबहिनीहरूको सुरक्षाको लागि धुलो सङ्‌कलन गर्ने उपकरण जडान गर्नु पनि हो। हुनत यो उपकरण किन्‍न र जडान गर्न करिब १० लाख अमेरिकी डलर लाग्छ। तर यसले गर्दा शाखाले प्रकाशनहरू विशेषगरि बाइबल छाप्ने र ढुवानी गर्ने कामलाई निरन्तरता दिन मदत गर्छ।

धुलो सङ्‌कलन गर्ने उपकरणले छापाखानामा काम गर्ने भाइबहिनीहरूलाई अझ सुरक्षित भई काम गर्न मदत गर्छ

 निर्माण भइरहेको बेला पनि बाइबल छाप्ने कामलाई प्राथमिकता दिइयो। जापान शाखा समितिका सदस्य भाइ ट्रे यसो भन्छन्‌, “निर्माणको दौडान हाम्रो सङ्‌गठनले धेरै भाषामा बाइबल विमोचन गरिरहेको हुनाले विश्‍वव्यापी रूपमै बाइबलको माग बढिरहेको थियो। नयाँ उपकरण जडान गर्न र साहित्यहरू छाप्न राम्रो तालिका बनाउन सकियोस्‌ भनेर थुप्रै विभाग र ठेकेदारले मिलेर काम गर्नुपर्ने भयो।” यी चुनौतीहरूको बाबजुद सन्‌ २०२३ को मार्चदेखि अगस्तसम्म प्रत्येक महिना करिब २ लाख २० हजार प्रति बाइबल छापियो, त्यतिबेला छापाखानामा निर्माणको सबैभन्दा ठुलो काम भइरहेको थियो। निर्माणमा कुनै खर्च नबढाईकनै सबै काम पूरा भए।

 पुनर्निर्माण परियोजनाको अर्को विशेषता उर्जाको बचत गर्नु पनि हो। हामी नयाँ सोलार प्यानलहरू जडान गर्नेछौँ, जसले गर्दा प्रत्येक वर्ष उर्जामा लाग्ने लगभग १ लाख २० हजार अमेरिकी डलर बचत हुनेछ। हामी तीन तहको सिसाले बनेको झ्याल राख्नेछौँ। यसले उर्जाको प्रयोग कम गर्नुका साथै प्रति वर्ष लगभग १० हजार अमेरिकी डलरको बचत गर्नेछ। हुनत उर्जा बचत गर्ने विशेषताहरूले गर्दा पुनर्निर्माण परियोजनाको खर्च बढ्‌छ। तर प्यानल र झ्यालहरू प्रयोग गर्ने समयावधिलाई विचार गर्दा, यसले झन्डै ३५ लाख अमेरिकी डलरभन्दा बढी बचत हुने अनुमान गरिएको छ। साथै भवनले गर्दा वरपरको वातावरणमा पुग्न सक्ने असरहरूलाई पनि कम गर्नेछ।

तीन तहको सिसाले बनेको झ्यालले उर्जाको प्रयोग कम गर्न मदत गर्छ

“अझै पनि धेरै काम गर्न बाँकी छ”

 यी दुई शाखा परियोजनाहरूले क्षेत्रको आवश्‍यकतालाई पूरा गर्न कति धेरै काम गर्नुपर्छ भनेर बुझ्न मदत गऱ्‍यो। तर काम अझै पनि सकिएको छैन। विश्‍वव्यापी डिजाइन/निर्माण विभागका भाइ एरोन भन्छन्‌, “भाइहरूले थुप्रै कामकुरा सकाउनुभयो तर अझै पनि धेरै काम गर्न बाँकी छ।” यो काम कसरी पूरा हुनेछ? तिनी अझै यसो भन्छन्‌, “भाइबहिनीहरूले उदार भई दिनुभएको अनुदानले गर्दा नै यी महत्त्वपूर्ण परियोजनाहरू सम्पन्‍न हुन सक्यो। विगतमा स्वयंसेवाको लागि इच्छुक मनोभाव देखाएर आउनुभएकाहरू र भविष्यमा पनि छाँटकाँट गरेर आफूलाई उपलब्ध गराउनुहुने सबै जनाप्रति हामी निकै कृतज्ञ छौँ। भाइबहिनीहरूले शारीरिक र आर्थिक तवरमा दिनुभएको मदतले हाम्रो काममा यहोवाको आशिष्‌ छ भनेर स्पष्टै देखिन्छ।”—भजन ११०:३.

 तपाईँहरूले दिनुभएको अनुदानले गर्दा नै निर्माण, पुनर्निर्माण र मर्मतसम्भारको काम गर्न सम्भव भएको छ। यी अनुदानहरू धेरैजसो donate.pr418.com मार्फत प्राप्त हुन्छ। तपाईँहरूले उदार भई दिइरहनुभएको अनुदानको लागि धेरै धन्यवाद!