सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

हातैमा पुस्तकालय

हातैमा पुस्तकालय

सेप्टेम्बर १, २०२१

 “केही समयअघिसम्म डिजिटल फर्म्याटमा आध्यात्मिक भोजनहरू पाउनेछौँ भनेर कल्पना गर्न समेत गाह्रो थियो।” के तपाईँहरू यस भनाइसित सहमत हुनुहुन्छ? यो भाइ जेफ्रि ज्याक्सनले २०२० परिचालक निकायबाट अपडेट #६ को प्रोत्साहनदायी भाषणमा बताउनुभएको थियो। उहाँले अझै यसो भन्‍नुभएको थियो, “तर अहिले सोच्छौँ ‘यस्तो महामारीको समयमा JW लाइब्रेरी एपजस्तो डिजिटल माध्यम नभएको भए के हुन्थ्यो होला।’ हो, हालैका वर्षहरूमा यहोवा हामीलाई यस्तै कुराहरूको लागि तयार पार्दै हुनुहुन्थ्यो।”

 यहोवा हामीलाई कसरी तयार पार्दै हनुहुन्छ? JW लाइब्रेरी एप कसरी बनाइयो अनि यसलाई व्यवस्थित पार्न र अझ राम्रो बनाउँदै लैजान के गर्नुपर्छ?

पहिलो एप

 मे २०१३ मा परिचालक निकायले मुख्यालयमा रहेको मेप्स प्रोग्रामिङ विभागलाई अङ्‌ग्रेजी भाषाको संशोधन गरिएको नयाँ संसार अनुवाद भएको एउटा एप बनाउन आग्रह गऱ्‍यो। मेप्स प्रोग्रामिङ विभागमा सेवा गर्नुहुने भाइ पल विलिस यसो भन्‍नुहुन्छ, “त्यतिबेलासम्म हामीले कुनै पनि एप स्टोरको लागि मोबाइल एप बनाएका थिएनौँ। तर हामीले एउटा टिम बनायौँ, काम गरिरहेका केही प्रोजेक्टलाई थाती राख्यौँ। त्यसपछि एप अनि त्यसमा राखिने कुराहरू डिजाइन गर्न र बनाउन अरू विभागसितै मिलेर काम गऱ्‍यौँ। हामीले धेरै प्रार्थना गऱ्‍यौँ। यहोवाको मदतले हामीले पाँच महिनापछि नै वार्षिक सभामा यो एप विमोचन गर्न सक्यौँ!”

 यो एपलाई साँच्चै लाइब्रेरीजस्तो बनाउनु एउटा चुनौती थियो। त्यसको लागि एपमा अरू प्रकाशन पनि थप्नुपर्थ्यो अनि अरू भाषा पनि समावेश गर्नुपर्थ्यो। जनवरी २०१५ सम्म यस एपमा अङ्‌ग्रेजी भाषाको लगभग सबै प्रकाशन उपलब्ध भइसकेको थियो। अनि त्यसको छ महिनापछि नै प्रयोगकर्ताहरूले अरू सयौँ भाषामा पनि ती प्रकाशनहरू डाउनलोड गर्न सक्नुभयो।

 त्यसबेलादेखि हाम्रा भाइहरूले विभिन्‍न तरिकामा यस एपलाई सुधार्दै जानुभयो, जस्तै, भिडियोहरू थपेर, मण्डलीका सभाहरूको लागि एउटै ट्याबमा प्रकाशनहरू अनि मिडियाहरू समावेश गरेर अनि सीधै बाइबल पदबाट अनुसन्धान सहयोगी-मा भएका सन्दर्भ सामाग्रीहरू खोल्न सक्ने बनाएर।

लाइब्रेरीलाई व्यवस्थित बनाउने

 JW लाइब्रेरी एप हरेक दिन ८० लाख वटा डिभाइसहरूमा अनि हरेक महिना १ करोड ५० लाखभन्दा धेरै डिभाइसहरूमा खोलिने गर्छ! ती डिभाइसहरूमा एप राम्रोसित चल्नको लागि के गर्नुपर्छ? भाइ विलिस यसो भन्‍नुहुन्छ, “मोबाइल एप बनाउने काम कहिले पनि सिद्धिदैन। नयाँ विशेषताहरू थप्न अनि चलाउन सजिलो बनाउन हामी यसमा काम गरिरहन्छौँ। डिजिटल डिभाइसहरूमा अक्सर अपरेटिङ सिस्टमहरू अपडेट भइरहन्छन्‌ त्यसैले ती नयाँ अपरेटिङ सिस्टमहरूमा पनि एप चलिरहोस्‌ भनेर हामीले छाँटकाँट गरिरहनुपर्छ। JW लाइब्रेरी एपमा हाम्रा प्रकाशन अनि रेकर्डिङहरूको सङ्‌ख्या बढिरहेकोले हाम्रो सफ्टवेयर पनि अपडेट गर्नुपर्छ, त्यसमा छाँटकाँट गरिरहनुपर्छ।” अहिले JW लाइब्रेरी एपमा सबै भाषाको गरि लगभग दुई लाख प्रकाशनहरू अनि छ लाखभन्दा धेरै अडियो र भिडियो रेकर्डिङहरू छन्‌!

 यसरी एपलाई निरन्तर चलिरहन कम्प्युटर मात्र भएर पुग्दैन। विभिन्‍न सफ्टवेयरहरूको लाइसेन्स किन्‍नुपर्ने हुन्छ। एक वर्षको लागि एउटा लाइसेन्सको मात्रै १५ सय अमेरिकी डलर पर्छ। त्यसको साथै नयाँ कम्प्युटर, ट्याबलेट अनि मोबाइलहरूमा एप राम्ररी चलोस्‌ भनेर हरेक वर्ष मेप्स प्रोग्रामीङ विभागले लगभग १० हजार अमेरिकी डलर खर्च गर्छ।

अनुदानको बचत

 JW लाइब्रेरी एपले गर्दा प्रकाशनहरूको छपाइ, बाइन्डिङ अनि ढुवानीमा लाग्ने खर्च निकै कम भएको छ। उदाहरणको लागि, दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाको कुरा गरौँ। हामीले सन्‌ २०१३ को दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिका लगभग १ करोड २० लाख प्रति छापेका थियौँ। तर सन्‌ २०२० को दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिका चाहिँ ५० लाख जति मात्र छापिएको थियो, जबकी त्यतिबेलासम्म प्रकाशक सङ्‌ख्या लगभग सात लाखले बढिसकेको थियो। किन यस्तो परिवर्तन भयो? किनकि अहिले हाम्रा थुप्रै भाइबहिनीहरू JW लाइब्रेरी मै दैनिक पद पढ्‌नुहुन्छ।  a

“यो साँच्चै अनमोल छ”

 JW लाइब्रेरी एप अरू थुप्रै तरिकामा मदतकारी छ। क्यानाडामा बस्ने जेनेभिएभ यस एपले गर्दा नियमित रूपमा अध्ययन गर्ने बानी बसेको महसुस गर्छन्‌। तिनी यसो भन्छिन्‌, “नढाँटी भन्‍नुपर्दा किताबहरू निकालेर अध्ययन गर्ने हो भने म हरेक बिहान अध्ययन गर्दिनथेँ होला। तर यो एप भएकोले सजिलो भएको छ। आफूलाई चाहिने सबै कुरा म ट्याबलेटमै खोल्न सक्छु। यसरी नियमित रूपमा अध्ययन गर्दा मेरो विश्‍वास बलियो भएको छ र यहोवासित अझ नजिक हुन सकेकी छु।”

जेनेभिएभ

 कोभिड-१९ महामारीको समयमा यो एप अझ मदतकारी साबित भयो। अमेरिकाकी सार्लिन यसो भन्छिन्‌, “कोभिड-१९ संसारभर फैलिरहेकोले मैले वर्षभरि छापिएको कुनै पनि नयाँ प्रकाशन पाइनँ। तर JW लाइब्रेरी एपले हामीलाई आध्यात्मिक भोजन पाउन मदत गरिरहेको छ। यस्तो मायालु प्रबन्ध गरिदिनुभएकोमा म यहोवालाई धन्यवाद दिन्छु।”

 थुप्रैले फिलिपिन्समा बस्ने फाएले जस्तै महसुस गर्छन्‌। तिनी यसो भन्छिन्‌, “यहोवासित नजिक हुन म यो प्रभावकारी एप चलाउने गर्छु। बिहान सबेरै म यसैबाट पढ्‌छु। घरायसी कामकुरा गर्दा यसैबाट अडियो सुन्‍ने गर्छु। सभाको लागि यसैबाट अध्ययन गर्ने गर्छु। व्यक्‍तिगत बाइबल अध्ययनको लागि म यही प्रयोग गर्छु। खाली समय हुँदा म यसैमा भिडियो हेर्ने गर्छु। कतै लाइनमा बस्नुपर्दा म यसैमा कुनै लेख वा बाइबल पढ्‌ने गर्छु। यो साँच्चै अनमोल छ।”

 यस एपले साक्षीकार्यको लागि पनि निकै मदत गरेको छ। उदाहरणको लागि, साक्षी दिँदै गर्दा क्यामरूनमा बस्ने एक बहिनीले केही हप्ताअघि अर्को बहिनीले चलाएको बाइबल पद प्रयोग गर्न चाहिन्‌। तर त्यो पद कहाँ छ भनेर तिनले सम्झिन सकिनन्‌। तिनी यसो भन्छिन्‌, “मलाई त्यस पदको वाक्यांश थाह थियो। त्यसैले मैले यो एप खोलेँ, बाइबलमा गएँ अनि त्यो वाक्यांश खोजेँ। मैले तुरुन्तै त्यो पद भेट्टाएँ। यस एपले मलाई आफूले बिर्सेका थुप्रै बाइबल पदहरू भेट्टाउन मदत गरेको छ।”

 तपाईँहरूले donate.pr418.com मा उल्लेख गरिएका तरिकाहरू प्रयोग गर्दै उदार भएर अनुदान दिनुभएकोले JW लाइब्रेरी एप बनाउन, व्यवस्थित पार्न अनि अझ राम्रो बनाउँदै लैजान सकेका छौँ। तपाईँहरूको उदार मनोभावको लागि धेरै धन्यवाद।

JW लाइब्रेरी एपका अपडेटहरू

  1. अक्टोबर २०१३—संशोधन गरिएको नयाँ संसार अनुवाद (अङ्‌ग्रेजी) भएको एप विमोचन भयो

  2. जनवरी २०१५—अङ्‌ग्रेजी भाषामा अरू प्रकाशनहरू उपलब्ध भयो पछि अरू सयौँ भाषामा पनि थपियो

  3. नोभेम्बर २०१५—चिन्ह लगाउने विशेषता थपियो

  4. मे २०१६—“सभा” ट्याब थपियो

  5. मे २०१७—नोट लेख्ने विशेषता थपियो

  6. डिसेम्बर २०१७—अध्ययन संस्करण बाइबलको लागि विशेषताहरू थपियो

  7. मार्च २०१९—अडियो रेकर्डिङ डाउनलोड गर्ने, भिडियो स्ट्रिम गर्ने अनि अनुसन्धान सहयोगी-मा भएका स्रोत सामग्रीहरूमा जान मिल्ने विशेषता थपियो

  8. जनवरी २०२१—सधैभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रकाशनको लागि नयाँ विशेषता समावेश गरियो

a हरेक चोटि JW Library एपमार्फत डाउनलोड गर्दा थोरै खर्च हुने गर्छ। उदाहरणको लागि, गत वर्ष jw.org अनि JW Library एपमार्फत स्ट्रिम अनि डाउनलोड गर्ने प्रबन्धको लागि हामीले त्यस्तै १५ लाख अमेरिकी डलरजति खर्च गरेका थियौँ। तर यसरी डिजिटल प्रकाशन अनि रेकर्डिङहरू डाउनलोड गर्दा लाग्ने खर्च प्रकाशनहरू छापेर ढुवानी गर्दा अनि सीडी र डिभीडी बनाउँदा लाग्ने खर्च भन्दा धेरै नै कम हो।