सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

हाम्रा महान्‌ शिक्षकको महिमा गर्ने भवनहरू

हाम्रा महान्‌ शिक्षकको महिमा गर्ने भवनहरू

जुलाई १, २०२३

 यहोवा उहाँका जनहरूलाई सिकाउन मन पराउनुहुन्छ। त्यसैले उहाँका सेवकहरूलाई सुम्पिएको जिम्मेवारी राम्ररी पूरा गर्न सकोस्‌ भनेर उहाँको सङ्‌गठनले विभिन्‍न स्कुलको प्रबन्ध मिलाएको छ। ती स्कुलहरूमध्ये एउटा राज्य प्रचारकहरूका लागि स्कुल (SKE) पनि हो। हालैका केही वर्षहरूमा परमेश्‍वरको सङ्‌गठनले पाठ्यक्रममा मात्र नभई यी ईश्‍वरतान्त्रिक स्कुलहरू सञ्चालन हुने भवनहरूमा पनि छाँटकाँट गर्दै आएको छ। यसको मुख्य उद्देश्‍य भनेको विद्यार्थीहरूले सजिलै सिक्न सकोस्‌ र प्रशिक्षकले राम्ररी सिकाउने वातावरण बनोस्‌ भन्‍ने हो। यो उद्देश्‍य पूरा गर्न तपाईँको अनुदानले कस्तो भूमिका खेल्छ?

थुप्रै विद्यार्थीले सुविधायुक्‍त भवनबाट लाभ उठाउँदै

 धेरै वर्षसम्म ईश्‍वरतान्त्रिक स्कुलहरू सभाभवन र सम्मेलन भवनहरूमा सञ्चालन गरियो। त्यसोभए हालसालै चाहिँ हामीले किन ईश्‍वरतान्त्रिक स्कुलहरूकै लागि भनेर थप भवनहरू निर्माण वा पुनर्निर्माण गऱ्‍यौँ? यसको तीन वटा कारण विचार गरौँ।

 बढ्‌दो आवश्‍यकता। परिचालक निकायको सेवा समितिका सहयोगी भाइ क्रिस्टोफर मेभर यसो भन्छन्‌, “शाखा कार्यालयहरूले अहिले क्षेत्रमा भाइबहिनीहरूको निकै खाँचो छ भनेर रिपोर्ट गरे। उदाहरणको लागि, सन्‌ २०१९ मा ब्राजिल शाखाले आफ्नो क्षेत्रको लागि झन्डै ७ हजार ६ सय थप SKE स्नातकहरूको आवश्‍यकता भएको कुरा बताए।” अमेरिकी शाखाले भने विशेष महानगरीय सार्वजनिक साक्षीकार्यमा भाग लिन अनि बन्दरगाह र झ्यालखानामा साक्षी दिनको लागि अरू भाइबहिनीलाई तालिम दिन सक्ने सिपालु अग्रगामीहरूको निकै खाँचो भएको कुरा बताए। स्थानीय डिजाइन/ निर्माण विभाग र अस्पताल सम्पर्क समितिमा सेवा गर्न पनि भाइहरूको निकै खाँचो छ। यी विभागहरूको आवश्‍यकता पूरा गर्न SKE स्नातकहरूले मदत गर्न सक्छन्‌।

 आवेदकहरूको बढ्‌दो सङ्‌ख्या। थुप्रै शाखामा धेरै भाइबहिनीहरूले आवेदन भरेको हुनाले सबैलाई निम्तो दिन गाह्रो भयो। उदाहरणको लागि, ब्राजिल शाखाले एक वर्षमा मात्र लगभग २ हजार ५ सय वटा SKE आवेदन प्राप्त गऱ्‍यो। तर ठाउँहरू सीमित भएकोले ९५० जना भाइबहिनीहरूलाई मात्र निम्तो दिन सकियो।

 उपयुक्‍त आवासको प्रबन्ध। सभाभवन वा सम्मेलन भवनमा स्कुल आयोजना हुँदा अक्सर विद्यार्थीहरूलाई स्थानीय भाइबहिनीहरूको घरमा बस्ने प्रबन्ध मिलाइन्छ। वर्षमा केही पटक मात्र स्कुल सञ्चालन हुने देशमा यस्तो प्रबन्ध उपयुक्‍त नै होला। तर वर्षमा थुप्रै पटक कक्षा सञ्चालन हुने देशहरूमा भने महिनौँसम्म स्थानीय भाइबहिनीहरूको घरमा आवासको प्रबन्ध मिलाउन असम्भव हुन्छ। त्यसैले विद्यार्थीहरूको लागि भनेर स्कुल नजिकै भवनहरू निर्माण गरियो।

 एउटा कक्षा कोठा र प्रशिक्षक अनि लगभग ३० जना विद्यार्थीको लागि आवासको प्रबन्ध मिलाउन साथै अरू सुविधाको लागि लाखौँ अमेरिकी डलर खर्च हुन्छ। अनि यस्तो खर्च ठाउँ र अन्य कुराले गर्दा फरक हुन्छ।

स्कुल सञ्चालन हुने भवनहरूका विशेषताहरू

 प्रायजसो स्कुल सञ्चालन हुने ठाउँ सहरी इलाकामा नभई सार्वजनिक यातायातको राम्रो सुविधा भएको शान्त ठाउँतिर हुन्छ। प्रकाशकहरू धेरै भएको ठाउँमा स्कुल सञ्चालन हुने भवनको रेखदेख गर्न र त्यसलाई दुरुस्त अवस्थामा राख्न सजिलो हुन्छ। त्यसैले यस्ता ठाउँहरूलाई प्राथमिकता दिइन्छ।

 स्कुल सञ्चालन हुने भवनमा पुस्तकालयहरू, विद्यार्थीलाई पढ्‌न उपयुक्‍त हुने ठाउँहरू, कम्प्युटरहरू, प्रिन्टरहरू र अरू सामग्रीहरू हुन्छन्‌। विद्यार्थीहरू र प्रशिक्षकहरू सँगै खाना खानको लागि प्रायः ती भवनहरूमा खाना खाने कोठा पनि बनाइएको हुन्छ। साथै व्यायाम र मनोरञ्जनको लागि पनि प्रशस्त ठाउँ छुट्ट्याइएको हुन्छ।

 कक्षा कोठा पनि एकदमै सोचविचार गरेर डिजाइन गरिएको हुन्छ। न्यु योर्कस्थित वारविकको विश्‍वव्यापी डिजाइन/निर्माण विभागमा सेवा गर्ने भाइ ट्रोए भन्छन्‌, “विद्यार्थीहरूले राम्ररी सिक्न सकोस्‌ भनेर कक्षा कोठाहरूको डिजाइन पनि त्यसै हिसाबले गर्नुपर्थ्यो। त्यसको लागि हामीले ईश्‍वरतान्त्रिक स्कुल विभागसित सल्लाह माग्यौँ। त्यहाँका भाइहरूले हामीलाई कक्षा कोठाहरूको लम्बाइ, चौडाइ र नक्साको साथै बत्ती, अडियो-भिडियो सिस्टमसित सम्बन्धित निर्देशिका पनि दिनुभयो।” अडियो उपकरणहरू जडान गर्नेबारे हङ्‌गेरीका SKE प्रशिक्षक जल्टन यसो भन्छन्‌, “सुरु-सुरुतिर हामीसित एउटै माइक थिएन। त्यसैले विद्यार्थीहरूलाई अलि ठूलो स्वरमा बोल्न सम्झाइ रहनुपर्थ्यो। तर अहिले प्रत्येक टेबुलमा माइक भएकोले निकै सजिलो भएको छ।”

“यहोवाले निम्तो दिनुभएका विशेष पाहुनाहरू”

 स्कुल सञ्चालन हुने भवनहरू अनि कक्षा कोठाहरूमा गरिएको सुधारले प्रशिक्षकहरू र विद्यार्थीहरूमा कस्तो प्रभाव परेको छ? अमेरिकास्थित फ्लोरिडाको पाम कोस्टमा भएको SKE मा उपस्थित भएकी एन्जिला भन्छिन्‌, “यहाँको माहोल एकदमै शान्त छ। कक्षा कोठा र हामी बस्ने कोठा राम्ररी सोचविचार गरेर बनाइएकोले हामीलाई ध्यान दिएर पढ्‌न र सिक्न सजिलो भएको छ।” हङ्‌गेरीका एक प्रशिक्षक चबालाई विद्यार्थीहरू सँगै खाना खान मन पर्छ। तिनी भन्छन्‌, “त्यतिबेला विद्यार्थीहरूले अक्सर आफूले बटुलेका अनुभवहरू खुलेर बताउने भएकोले तिनीहरूलाई अझ राम्ररी चिन्‍न सकेका छौँ। अनि विद्यार्थीहरूको आवश्‍यकताअनुसार पाठ्यक्रममा भएको कुरा अझ प्रभावकारी तरिकामा सिकाउन सकेका छौँ।”

 विद्यार्थीहरू र प्रशिक्षकहरूले स्कुल सञ्चालन हुने भवनहरू अनि कक्षा कोठाहरूमा गरिएको सुधारलाई “महान्‌ शिक्षक” यहोवाले दिनुभएको आशिष्‌को रूपमा हेर्छन्‌। (यसैया ३०:२०, २१) फिलिपिन्समा स्कुलको लागि सुधार गरिएको एउटा भवनमा SKE सञ्चालन गरियो। त्यस स्कुलमा उपस्थित भएकी एक बहिनी यसो भन्छिन्‌, “स्कुलको वातावरणले हामी केवल विद्यार्थी मात्र होइनौँ बरु यहोवाले निम्तो दिनुभएका विशेष पाहुनाहरू हौँ भनेर महसुस गरायो। उहाँ हामीले रमाउँदै बाइबल अध्ययन गरेको चाहनुहुन्छ।”

 तपाईँहरूले दिनुभएको अनुदानले गर्दा नै स्कुल सञ्चालन हुने भवनहरूको निर्माण, पुनर्निर्माण र मर्मतसम्भार गर्न सम्भव भएको छ। यी अनुदानहरू धेरैजसो donate.pr418.com मार्फत प्राप्त हुन्छ। तपाईँहरूले उदार भई दिनुभएको अनुदानको लागि धेरै धन्यवाद!

अमेरिकास्थित फ्लोरिडाको पाम कोस्टमा भएको भवनको प्रवेशद्वार

अमेरिकास्थित फ्लोरिडाको पाम कोस्टमा भएको स्कुलको लबीमा येसुको समयको मन्दिरको नमुना

ब्राजिलमा सञ्चालन गरिएको राज्य प्रचारकहरूका लागि स्कुलमा विद्यार्थीहरू आउँदै

ब्राजिलमा सञ्चालन भइरहेको कक्षा

फिलिपिन्समा सञ्चालन गरिएको राज्य प्रचारकहरूका लागि स्कुलमा विद्यार्थीहरू आउँदै

फिलिपिन्सको स्कुलमा भएको खाना खाने ठाउँमा सबै जना खाँदै