सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

हाम्रो सभाभवनको मर्मतसम्भार

हाम्रो सभाभवनको मर्मतसम्भार

अप्रिल १, २०२४

 कोलम्बियाकी एक जवान बहिनी निकोल यसो भन्छिन्‌, “मेरो सभाभवन मलाई एकदमै मनपर्छ। म त्यहाँ आध्यात्मिक परिवारसँग बस्न पाउँछु।” के तपाईँ पनि त्यस्तै महसुस गर्नुहुन्छ?

 संसारभरि यहोवाका साक्षीहरू करिब ६३ हजार सभाभवनहरूमा भेला हुन्छन्‌। यी भवनहरूमा हामी आरामदायी तरिकामा परमेश्‍वरको उपासना गर्न सक्छौँ। तर त्यति मात्र होइन। कोलम्बियाका नियमित अगग्रामी भाइ डेभिड यसो भन्छन्‌, “सभाभवनले हाम्रो शिक्षाको शोभा बढाएको छ। थुप्रै नवआगन्तुकहरू हामीले सभाभवनलाई एकदमै राम्रो अवस्थामा राखेको देखेर छक्क पर्छन्‌।” यो संयोगले भएको कुरा होइन। हामी सभाभवनलाई सफा र दुरुस्त राख्न निकै मेहनत गर्छौँ। हामीले कसरी त्यसो गर्न सकेका छौँ?

मर्मतसम्भार कसरी गरिन्छ?

 सभाभवनको मर्मतसम्भार गर्ने जिम्मा यसलाई प्रयोग गर्ने मण्डलीहरूकै हो। यसको लागि भाइबहिनीहरूले नियमित रूपमा सभाभवन सफा गर्नुपर्छ। अनि तिनीहरूले सानोतिनो मर्मतसम्भार पनि गर्नुपर्ने हुन्छ।

 मण्डलीहरूले सभाभवनलाई दुरुस्त राख्न सकोस्‌ भनेर स्थानीय डिजाइन/ निर्माण विभागले (एल डी सी) केही भाइहरूलाई मर्मतसम्भार प्रशिक्षकको रूपमा नियुक्‍त गर्छ। प्रत्येक मर्मतसम्भार प्रशिक्षकको जिम्मामा ६ देखि दस वटा सभाभवनहरू हुन्छन्‌। सभाभवनको कसरी रेखदेख गर्ने भनेर ती प्रशिक्षकले मण्डलीको प्रकाशकहरूलाई तालिम दिन्छन्‌। तिनले हरेक तीन वर्षमा भवनको अवस्था जाँच्छन्‌ र त्यहाँ कुनै सुरक्षा अपनाउनुपर्ने हो कि वा मर्मतसम्भार गर्नुपर्ने हो कि भनेर हेर्छन्‌।

मर्मतसम्भार प्रशिक्षकले हामीलाई सभाभवन राम्रो अवस्थामा राख्न मदत गर्छ

 मर्मतसम्भार प्रशिक्षकहरूबाट पाएको तालिमप्रति हाम्रा भाइबहिनीहरू निकै कृतज्ञ छन्‌। भारतकी एक बहिनी इन्दुमति यसो भन्छिन्‌: “मैले तालिमबाट निकै लाभ उठाएकी छु। सभाभवनलाई ठीक अवस्थामा राख्न के गर्नुपर्छ भनेर थाह पाउँदा मलाई निकै खुसी लाग्यो।” केन्याका एक भाइ इभान्स्‌ यसो भन्छन्‌: “समस्या ठूलो हुनुअघि नै त्यसलाई मर्मत गरेर कसरी धेरै पैसा जोगाउन सकिन्छ भनेर हामीले सिक्यौँ।”

खर्चहरू बेहोर्ने

 सभाभवन प्रयोग गर्न र मर्मतसम्भार गर्न वर्षेनी सयौँदेखि हजारौँ अमेरिकी डलर खर्च हुने गर्छ। सभाभवन कुन ठाउँमा छ, यो बनाएको कति भयो र कति वटा मण्डलीले प्रयोग गर्छन्‌ भन्‍ने कुराको आधारमा खर्च तय हुने गर्छ। यी सबै खर्चहरू कसरी बेहोरिन्छन्‌?

 अनुदानहरू प्रयोग गरेर सभाभवनको मर्मतसम्भार गरिन्छ। काजकस्तानका एक भाइ अलेक्जेन्डर यसो भन्छन्‌: “इन्टरनेट जोड्‌न र अरू कुराहरू जस्तै पानी र बिजुलीको लागि अनुदानको केही भाग छुट्ट्याइन्छ अनि अरू अत्यावश्‍यक सरसामानहरू जस्तै, टिस्यु पेपर, पन्जा, सरसफाइको लागि चाहिने सामान र रङका लागि पनि केही रकम छुट्ट्याइन्छ। साथै बाँकी रकमहरू संसारभरिको बृहत्‌ र अझै महङ्‌गा मर्मत परियोजनामा टेवा पुऱ्‍याउन विश्‍वव्यापी कोषमा पठाइन्छ।

ठूलठूला मर्मतसम्भार परियोजनाहरू

 सभाभवनमा एक वा दुई महिनाभन्दा बढी मर्मतसम्भारको काम गर्नुपऱ्‍यो भने एल्डरहरूले एल डी सी मर्मतसम्भार प्रशिक्षकसित सल्लाह लिन्छन्‌। यदि एल डी सी-ले उक्‍त परियोजना गर्न अनुमति दियो भने त्यो मर्मतको लागि विश्‍वव्यापी कोषमा आएको अनुदान नै प्रयोग गरिन्छ। सन्‌ २०२३ सेवा वर्षमा ८ हजार ७ सय ९३ वटा परियोजनाहरू पूरा भयो। यसको कुल खर्च ७ करोड ६६ लाख अमेरिकी डलर हुन पुग्यो। अब दुई वटा परियोजनाबारे विचार गरौँ।

 अङ्‌गोलामा भएको १५ वर्ष पुरानो एउटा सभाभवनमा थुप्रै समस्या थियो। त्यहाँको पूरै विद्युतीय प्रणाली फेर्नुपरेको थियो। भित्ताहरू चर्किएका थिए र सभाभवनको पानी आफ्नो घरमा पसेकोले छिमेकीहरूले गुनासो गरिरहेका थिए। यी समस्याको समाधान गर्न एल डी सी-ले मर्मतको काम सुरु गऱ्‍यो। अनि यसको खर्च ९ हजार २ सय ८५ अमेरिकी डलर भयो। सभाभवन मर्मतको काम राम्ररी सम्पन्‍न भएको देखेर छिमेकीहरू निकै प्रभावित भए र धन्यवाद दिए।

अङ्‌गोलामा मर्मतसम्भार गरिएको सभाभवन

 पोल्याण्डमा भएको एउटा सभाभवनको छतबाट पानी चुहिन्थ्यो र कार्पेट पनि जीर्ण अवस्थामा पुगिसकेको थियो। एल डी सी-ले मर्मत गर्ने अनुमति दिएपछि, त्यहाँ पानी नचुहिनेगरि छत बनाइयो र नयाँ कार्पेट पनि राखियो। यो परियोजनामा ९ हजार ७ सय ५७ अमेरिकी डलर खर्च भयो। यसले गर्दा अब केही वर्षसम्म सभाभवनको बृहत्‌ मर्मतसम्भार गर्नु नपर्ने भयो।

पोल्याण्डको सभाभवन मर्मतसम्भार गरिँदै

मर्मतसम्भारले यहोवाको महिमा गर्छ

 मर्मतसम्भारले तपाईँहरूले दिनुभएको बहुमूल्य अनुदान जोगाउने मात्र नभई यहोवाको प्रशंसा पनि गर्छ। टोङ्‌गाका एक भाइ शन यसो भन्छन्‌: “मर्मतसम्भारको कामले गर्दा नै हामीले सफा, व्यवस्थित र राम्ररी प्रयोग गर्न सकिने सभाभवनमा यहोवाको उपासना गर्न सकेका छौँ। यसले गर्दा समाजमा उहाँको नाउँको प्रशंसा भएको छ। हामी मानिसहरूलाई सभाभवनमा आउन निम्तो दिँदा गर्व महसुस गर्छौँ।”

तपाईँ के गर्न सक्नुहुन्छ?

 हामी सबैले उपासना गर्ने ठाउँलाई सफा र चिटिक्क राख्न सक्छौँ। अस्ट्रेलियाका मर्मतसम्भार प्रशिक्षक मारिनो यसो भन्छन्‌: “हामी सबैले सभाभवनको रेखदेख गर्ने यो विशेष काममा योगदान दिन सक्छौँ। सभाभवनको स्याहारसम्भार गर्दा भाइबहिनीहरूले दिएको अनुदानको बचत गरिरहेका हुन्छौँ। त्यति मात्र नभई साँच्चै आवश्‍यक भएका ठाउँहरूमा ती अनुदान प्रयोग गर्न मदत पनि गरिरहेका हुन्छौँ।”

 भारतमा बस्नुहुने भाइ जोएल आफ्नो सभाभवन मर्मतसम्भार गर्न मन पराउनुहुन्छ। तिनी यसो भन्छन्‌: “भाइबहिनीहरूसित सँगै काम गर्दा नयाँ संसारमा अवस्था कस्तो होला भनेर म कल्पना गर्छु।” सुरुमा उल्लेख गरिएकी निकोल बहिनी यसो भन्छिन्‌: “हालसालै भाइहरूले बाथरुममा भएको चुहावटको समस्या मर्मत गर्नुहुँदा मैले भुईँ पुछेर उहाँहरूलाई मदत गरेँ। हुनत मैले समस्याको समाधान गर्न सकिनँ तर दुर्घटना हुनदेखि भने जोगाउन मदत गरेँ।”

 तपाईँ पनि आफ्नो सभाभवनको मर्मतसम्भारमा स्वयंसेवा गर्न चाहनुहुन्छ भने मण्डलीको एल्डरहरूसित कुराकानी गर्नुहोस्‌। साथै तपाईँले दिनुभएकोले अनुदानले तपाईँको सभाभवनमा मात्र नभई संसारभरिका अरू थुप्रै सभाभवनमा मर्मतसम्भार गर्न मदत पुग्छ। तपाईँले मण्डलीमा भएका अनुदान बाकसहरूबाट वा donate.pr418.com मार्फत अनुदान दिन सक्नुहुन्छ। तपाईँहरूले देखाउनुभएको उदार मनोवृत्तिप्रति हामी निकै कृतज्ञ छौँ।

हामी सबैले सभाभवनको हेरचाह गर्न मदत दिन सक्छौँ