सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

kovop58/stock.adobe.com

जागा रहो!

के ओलम्पिकले मानिसहरूलाई साँच्चै एकतामा बाँध्छ?—यसबारे बाइबल के भन्छ?

के ओलम्पिकले मानिसहरूलाई साँच्चै एकतामा बाँध्छ?—यसबारे बाइबल के भन्छ?

 सन्‌ २०२४ को ग्रीष्मकालीन ओलम्पिकमा भाग लिने २०६ वटा देशका खेलाडीहरूलाई करिब पाँच सय करोड मानिसहरूले हेर्नेछन्‌। अन्तर्राष्ट्रिय ओलम्पिक समितिको अध्यक्ष थोमस बाक यसो भन्छन्‌, “ओलम्पिकले संसारमा शान्ति ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ। मानिसहरूको पृष्ठभूमि बिलकुलै फरक भएतापनि ओलम्पिकले सबैजना शान्ति र एकतामा बस्नुपर्छ भन्‍ने कुरालाई बढावा दिन्छ र हामीले पनि यो सोचलाई समर्थन गर्नुपर्छ।”

 के ओलम्पिकले यो उद्देश्‍य पूरा गर्न सक्छ? के साँच्चैको शान्ति र एकता सम्भव छ?

के ओलम्पिकले साँचो शान्ति र एकता ल्याउन सक्छ?

 यस वर्षको ओलम्पिक एउटा खेलमा मात्र सीमित भएन। यो खेलले गर्दा मानव अधिकार, जातीय भेदभाव, धार्मिक विभेद र असमानताजस्ता विभिन्‍न सामाजिक र राजनैतिक समस्या खडा भयो। यसले गर्दा मानिसहरूबीच विभाजन समेत उत्पन्‍न भयो।

 हुनत ओलम्पिकजस्ता अन्तर्राष्ट्रिय खेलले मानिसहरूलाई मनोरञ्जन दिन्छ तर यस्ता कार्यक्रमले मानिसहरूमा फुट ल्याउने खालको सोचाइ र व्यवहारलाई पनि बढावा दिएको छ। जसको कारण मानिसहरूमा शान्ति र एकता ल्याउनु भनेको “आकाशको फल आँखा तरी मर्‌” भनेझैँ भएको छ।

 अहिलेको समयका मानिसहरूमा एकतामा रहिरहन गाह्रो बनाउने खालको स्वभाव हुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (२ तिमोथि ३:१-५) बाइबल भविष्यवाणीबारे थप जानकारीको लागि “के बाइबलमा अहिलेका मानिसहरूको सोच्ने र व्यवहार गर्ने तरिकाबारे भविष्यवाणी गरिएको थियो?” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

विश्‍वमा शान्ति र एकता ल्याउने साँचो आशा

 विश्‍वमा साँचो शान्ति र एकता छाउनेछ भनेर बाइबलमा बताइएको छ। यसमा मानिसहरू स्वर्गीय सरकार अर्थात्‌ “परमेश्‍वरको राज्यको” अधीनमा बस्दा तिनीहरूबीच एकता छाउनेछ भनेर प्रतिज्ञा गरिएको छ।—लुका ४:४३; मत्ति ६:१०.

 यस राज्यको राजा येसु ख्रिष्टले विश्‍वभरि नै शान्ति ल्याउनुहुनेछ। बाइबल यसो भन्छ:

  •   “धर्मी मानिसहरूको फलिफाप हुनेछ . . . शान्ति छाउनेछ।”—भजन ७२:७.

  •   “मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्‌ . . . तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌।”—भजन ७२:१२, १४.

 आज पनि येसुको शिक्षाले २३९ मुलुकका लाखौँ मानिसलाई एकतामा बाँधेको छ। संसारभरिका यहोवाका साक्षीहरूले शान्तिमा रहन सिकेका छन्‌। यो कसरी सम्भव भयो भनेर बुझ्न “घृणामाथि विजय” भन्‍ने विषयको प्रहरीधरहरा हेर्नुहोस्‌।