सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अहिलेको खाद्यान्‍न अभावबारे बाइबल के भन्छ?

अहिलेको खाद्यान्‍न अभावबारे बाइबल के भन्छ?

 “शून्य भोकमरी।” यो खाद्यान्‍न अभाव हटाउन विश्‍वका नेताहरूले राखेको एउटा लक्ष्य हो। a तिनीहरू सबैको लागि पर्याप्त खानेकुराको प्रबन्ध गरिदिएर अहिले मानिसजातिले भोगिरहेको यस ठूलो समस्याको समाधान गर्न चाहन्छन्‌। तर के यस संसारबाट भोकमरी कहिल्यै हट्‌ला? यसबारे बाइबल के भन्छ?

बाइबलमा अहिलेको खाद्यान्‍न अभावबारे पहिल्यै बताइएको थियो

 बाइबलमा “अन्तको दिनमा” अर्थात्‌ हाम्रो समयमा खाद्यान्‍न अभाव हुनेछ भनेर पहिल्यै लेखिएको थियो। (२ तिमोथि ३:१) अहिले भइरहेको खाद्यान्‍न अभावको लागि परमेश्‍वरलाई दोष दिन मिल्दैन तर यसबारे उहाँले हामीलाई पहिल्यै सजग गराउनुभएको छ। (याकुब १:१३) बाइबलका दुई वटा भविष्यवाणी विचार गर्नुहोस्‌।

 “ठाउँठाउँमा अनिकाल ... हुनेछ।” (मत्ति २४:७) बाइबलमा संसारभरि खाद्यान्‍न अभाव हुनेछ भनेर भविष्यवाणी गरिएको छ। खाद्य आपूर्तिसम्बन्धी हालैको एउटा रिपोर्टअनुसार “संसारमा भोकमरी, पर्याप्त खानेकुराको अभाव र कुपोषणजस्ता समस्याहरूले विकराल रूप लिँदै छ।” b कैयौँ देशका करोडौँ मानिसले पर्याप्त मात्रामा खानेकुरा पाएका छैनन्‌। दुःखको कुरा, धेरैले आफ्नो ज्यान गुमाएका छन्‌।

 “हेर, मैले एउटा कालो घोडा देखेँ। त्यसमाथि सवार हुनेको हातमा एउटा तराजु थियो।” (प्रकाश ६:५) यस भविष्यवाणीको घोडा र घोडसवारले अन्तको दिनमा हुने अनिकाललाई चित्रण गर्छ। c घोडसवारको हातमा तराजु हुनुले खानेकुरा तराजुमा जोखी-जोखी वितरण गर्नुपर्ने अवस्थालाई चित्रण गर्छ। यी घोडसवार अघि बढ्‌दै जाँदा खानेकुराको भाउ अकासिने घोषणा गरेको आवाज सुनिन्छ र त्यस आवाजले मानिसहरूलाई खानेकुराको जोहो गर्न पनि चेतावनी दिन्छ। (प्रकाश ६:६) यस भविष्यवाणीले अहिले विश्‍वभरि भइरहेको खाद्यान्‍न अभावको स्पष्ट चित्र कोर्छ किनभने अहिले करोडौँ मानिसले स्वस्थकर खानेकुरा पाइरहेका छैनन्‌ वा तिनीहरूसित खानेकुरा किन्‍ने पैसा छैन।

खाद्यान्‍न अभाव कसरी हट्‌नेछ?

 विज्ञहरूको भनाइअनुसार यस पृथ्वीले सबै मानिसलाई जति खानेकुरा चाहिन्छ, त्योभन्दा धेरै उत्पादन गर्न सक्छ। त्यसोभए कस्ता समस्याहरूले गर्दा विश्‍वमा खाद्यान्‍न अभाव भइरहेको छ? हाम्रा सृष्टिकर्ता यहोवाले d यस्ता समस्याहरूको समाधान गर्न कदम चाल्नुहुनेछ। त्यसबारे बाइबल के भन्छ?

 समस्या: मानव सरकारले गरिबी र आर्थिक असमानता हटाउन सक्दैन, जसले गर्दा मानिसहरू भोकमरीको सिकार भएका छन्‌।

 समाधान: त्रुटिपूर्ण मानव सरकारहरूको ठाउँ त्रुटिरहित सरकार अर्थात्‌ परमेश्‍वरको राज्यले लिनेछ। (दानिएल २:४४; मत्ति ६:१०) अहिले थुप्रै मानिस गरिब भएकोले तिनीहरूलाई बिहान-बेलुकीको छाक टार्न धौधौ छ तर परमेश्‍वरको राज्यमा यस्तो हुनेछैन। परमेश्‍वरको राज्यका राजा येसु ख्रिष्टबारे बाइबल यसो भन्छन्‌: “मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्‌, दीनदुःखी र असहायहरूको पनि तिनले उद्धार गर्नेछन्‌। . . . पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ; पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।”—भजन ७२:१२, १६.

 समस्या: युद्धले विनाश र आर्थिक असमानता निम्त्याउँछ, जसले गर्दा खाद्यान्‍न वितरणमा बाधा पुग्छ।

 समाधान: “पृथ्वीबाट [यहोवाले] युद्ध नामेट पार्नुहुन्छ। उहाँले धनु भाँचिदिनुहुन्छ र भालाहरू टुक्राटुक्रा पारिदिनुहुन्छ; युद्धका रथहरू उहाँले आगोमा जलाइदिनुहुन्छ।” (भजन ४६:९) परमेश्‍वरले हातहतियार र युद्धको आगो सल्काउने दुष्टहरूको विनाश गर्नुहुनेछ। नतिजास्वरूप सबैले पर्याप्त मात्रामा स्वस्थकर खानेकुरा पाउनेछन्‌। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “धर्मी मानिसहरूको फलिफाप हुनेछ, जबसम्म चन्द्रमा रहन्छ, तबसम्म शान्ति छाउनेछ।”—भजन ७२:७.

 समस्या: असन्तुलित मौसम र प्राकृतिक प्रकोपले गर्दा अन्‍नपात र वस्तुभाउ सखाप भएका छन्‌।

 समाधान: परमेश्‍वरले पृथ्वीका प्राकृतिक शक्‍तिहरूलाई नियन्त्रणमा राख्नुहुनेछ, जसले गर्दा खाद्यान्‍न उत्पादनको लागि उपयुक्‍त वातावरण बन्‍नेछ। बाइबल भन्छ: “[यहोवाले] आँधीलाई थाम्नुहुन्छ; समुद्रका छालहरूलाई शान्त पार्नुहुन्छ। . . . उहाँले मरुभूमिलाई नर्कट उम्रने पोखरी बनाउनुहुन्छ अनि सुक्खा जमिनमा पानीको मूल फुटाउनुहुन्छ। उहाँले भोकाहरूलाई त्यहाँ बास गर्न दिनुहुन्छ [अनि] . . . तिनीहरूले खेतमा बिउ छर्छन्‌ र अङ्‌गुर बगान लगाउँछन्‌, जसबाट प्रशस्त उब्जनी हुन्छ।”—भजन १०७:२९, ३५-३७.

 समस्या: लोभी र भ्रष्ट मानिसहरू स्वास्थ्यलाई हानि पुग्ने खानेकुरा उत्पादन गर्छन्‌ वा अभावमा परेकाहरूसम्म खानेकुरा पुग्न दिँदैन।

 समाधान: परमेश्‍वरको राज्यमा बेइमान र भ्रष्ट मानिसहरूको लागि कुनै ठाउँ हुनेछैन। (भजन ३७:१०, ११; यसैया ६१:८) बाइबलले यहोवा परमेश्‍वर ‘धोका खाएकाहरूको इन्साफ गरिदिनुहुन्छ र भोकाहरूलाई भोजन दिनुहुन्छ’ भनेर बताउँछ।—भजन १४६:७.

 समस्या: प्रत्येक वर्ष विश्‍वको कुल उब्जनीको एक तिहाइ भाग खेर जान्छ।

 समाधान: परमेश्‍वरको राज्यमा खाद्यान्‍नको राम्रो व्यवस्थापन हुनेछ। येसु पृथ्वीमा हुनुहुँदा खानेकुरा खेर नजाओस्‌ भनेर सधैँ सचेत हुनुहुन्थ्यो। उदाहरणको लागि, एकपटक उहाँले चमत्कार गरेर ५ हजारभन्दा धेरै मानिसलाई खुवाउनुभयो। सबैले खाइसकेपछि उहाँले चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “उब्रेका टुक्राटाक्री बटुल र केही पनि खेर नजाओस्‌।”युहन्‍ना ६:५-१३.

 परमेश्‍वरको राज्यमा भोकमरी निम्त्याउने सम्पूर्ण समस्या पूरै हट्‌नेछ। त्यतिबेला सबै मानिसले प्रशस्त मात्रामा स्वस्थकर खानेकुरा पाउनेछन्‌। (यसैया २५:६) यो कहिले हुनेछ भनेर थाह पाउन “ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?” लेख हेर्नुहोस्‌।

a सन्‌ २०१५ मा संयुक्‍त राष्ट्र सङ्‌घका सम्पूर्ण सदस्य राष्ट्र मिलेर पारित गरेको दिगो विकासका लागि एजेण्डा २०३०.

b संयुक्‍त राष्ट्र सङ्‌घ खाद्य तथा कृषि सङ्‌गठन, अन्तरराष्ट्रिय कृषि विकास कोष, संयुक्‍त राष्ट्र बालकोष, संयुक्‍त राष्ट्र सङ्‌घ विश्‍व खाद्य कार्यक्रम र विश्‍व स्वास्थ्य सङ्‌गठनको संयुक्‍त प्रतिवेदन।

c प्रकाशको किताबमा चर्चा गरिएका चार घोडसवारबारे थप कुरा बुझ्न “चार घोडसवार—तिनीहरू को हुन्‌?” लेख हेर्नुहोस्‌।

d परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।