सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

YURI LASHOV/AFP via Getty Images

जागा रहो!

ख्रिष्टियनहरूले युद्धमा भाग लिनु—यसबारे बाइबल के भन्छ?

ख्रिष्टियनहरूले युद्धमा भाग लिनु—यसबारे बाइबल के भन्छ?

 थुप्रै ख्रिष्टियन धर्मगुरुहरू युद्धलाई समर्थन गर्छन्‌ भनेर हालै रूस र युक्रेनबीचको द्वन्द्वबाट पनि छर्लङ्‌ग भएको छ। दुवै देशका पादरीहरूले कसरी युद्धलाई समर्थन गरिरहेका छन्‌, याद गर्नुहोस्‌:

  •    “हाम्रो युक्रेनलाई आक्रमणकारीहरूबाट बचाउन रगत-पसिना एक गरिरहेका हाम्रा वीर योद्धाहरूको हामी मनैदेखि सम्मान गर्छौँ र आभार व्यक्‍त गर्छौँ। . . . तिनीहरूलाई हाम्रो पूर्ण समर्थन छ र हामी तिनीहरू विजयी होऊन्‌ भनेर प्रार्थना गरिरहन्छौँ।”—कियभका मेट्रोपोलिटन एपिफानियस प्रथम, द जेरुसलेम पोस्ट, मार्च १६, २०२२.

  •    “रुसी सेनाले युक्रेनमा आफ्नो सैन्य कारवाहीलाई निरन्तरता दिइरहँदा गत आइतबार रुसी अर्थोडक्स चर्चका प्रमुखले रुसी सेनाको लागि विशेष प्रार्थना समारोह आयोजना गरेका छन्‌। तिनले उक्‍त समारोहमा सिपाहीहरूलाई ‘रुसी ताकत देखाउन’ र आफ्नो देशको रक्षा गर्न हौसला दिएका छन्‌।”—रोइटर, अप्रिल ३, २०२२.

 के ख्रिष्टियनहरूले युद्धमा भाग लिन मिल्छ? यसबारे बाइबल के भन्छ?

बाइबल वास्तवमा के भन्छ?

 येसुका साँचो चेलाहरूले युद्धमा भाग लिनु हुँदैन भनी बाइबल सिकाउँछ।

  •    “तिम्रो तरबार म्यानमै राख किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।”—मत्ति २६:५२.

     के युद्धलाई समर्थन गर्ने र त्यसमा भाग लिने मानिसले येसुको यो आज्ञा पालन गरिरहेका हुन्छन्‌ र?

  •    “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—युहन्‍ना १३:३४, ३५.

     के युद्धलाई समर्थन गर्ने मानिसले यी पदमा येसुले बताउनुभएको जस्तो साँचो प्रेम देखाइरहेका हुन्छन्‌ र?

 थप जानकारीको लागि “यहोवाका साक्षीहरू किन युद्धमा भाग लिँदैनन्‌?” लेख पढ्‌नुहोस्‌।

के ख्रिष्टियनहरूले युद्धमा भाग लिनु हुन्छ?

 के ख्रिष्टियनहरूले युद्धमा भाग नलिएको आशा गर्नु उचित छ? छ। बाइबलमा हामी बाँचिरहेको समय अर्थात्‌ “आखिरी समयमा” सबै राष्ट्रका मानिसहरूले “फेरि युद्ध गर्न सिक्नेछैनन्‌” भनी भविष्यवाणी गरिएको थियो। (यसैया २:२, ४) येसुले पनि आफ्ना चेलाहरूलाई त्यही कुरा सिकाउनुभएको थियो।

 चाँडै “शान्तिका परमेश्‍वर” यहोवाले a आफ्नो राज्यमार्फत मानिसहरूलाई “अत्याचार र हिंसाबाट” छुटकारा दिनुहुनेछ।—फिलिप्पी ४:९; भजन ७२:१४.

a यहोवा परमेश्‍वरको नाम हो।—भजन ८३:१८.