जीवनको सुरुवात कसरी भयो?
तपाईँ कस्तो जवाफ दिनुहुन्छ?
जीवन कसरी सुरु भयो?
क्रमविकास
सृष्टि
कोही-कोहीले भन्लान्, वैज्ञानिक दृष्टिकोण राख्ने व्यक्तिको जवाफ “क्रमविकास” हुनेछ अनि धार्मिक दृष्टिकोण राख्ने व्यक्तिको जवाफ “सृष्टि” हुनेछ।
तर सधैँ त्यस्तै जवाफ आउला भन्ने छैन।
थुप्रै शिक्षित व्यक्ति, जसमध्ये वैज्ञानिकहरू पनि पर्छन्, तिनीहरूले क्रमविकासको सिद्धान्तमाथि प्रश्न उठाएका छन्।
जेरार्डको अनुभव विचार गर्नुहोस्। तिनी जीवविज्ञानका प्राध्यापक हुन् र तिनले कलेजमा क्रमविकासबारे पढेका थिए। तिनी भन्छन्, “म कलेजका जाँचहरूमा प्राध्यापकहरूले खोजेको जवाफ त दिन्थेँ तर आफूले सिकिरहेको कुरामा मलाई विश्वास लाग्दैनथ्यो।”
वैज्ञानिक दृष्टिकोण राख्ने कसै-कसैलाई जीवनको सुरुवात क्रमविकासबाट भयो भनेर विश्वास गर्न किन गाह्रो लाग्छ? यो प्रश्नको जवाफ पाउनुअघि थुप्रै अनुसन्धानकर्ताहरूलाई अलमलमा पारेको यी दुइटा प्रश्न विचार गरौँ: (१) जीवनको सुरुवात कसरी भयो? (२) जीवजीवातहरू कसरी विकास हुँदै आए?
जीवनको सुरुवात कसरी भयो?
कोही-कोही के भन्छन्? निर्जीव वस्तुबाट जीवन आफै उत्पन्न भयो।
कोही-कोहीलाई यो जवाफ किन चित्त बुझ्दैन? वैज्ञानिकहरूले जीवनको रासायनिक तथा अणु संरचनाबारे पहिलाभन्दा धेरै कुरा पत्ता लगाइसकेका छन्। तैपनि तिनीहरूले जीवनको सुरुवात वास्तवमा कसरी भयो भनेर यकिनका साथ भन्न सकेका छैनन्। तिनीहरूले निर्जीव वस्तु र अत्यन्तै सरल कोषबीच पनि ठूलो भिन्नता हुनुको कारण बुझ्न सकेका छैनन्।
अरबौँ वर्षअघि पृथ्वी कस्तो अवस्थामा थियो होला भनेर वैज्ञानिकहरू अनुमान मात्र गर्न सक्छन्। जीवनको सुरुवात कहाँबाट भयो भन्नेबारे तिनीहरू एकमत हुन सकेका छैनन्। जस्तै, ज्वालामुखी भित्रबाट कि समुद्रको पिँधमुनिबाट। अरू कोही-कोहीचाहिँ के पनि भन्छन् भने, जीवनका आधारभूत तत्त्वहरू ब्रह्माण्डको अरू कुनै ठाउँमा बन्यो अनि आकाशपिण्डसँगसँगै पृथ्वीसम्म आइपुग्यो। तर त्यसले पनि जीवनको सुरुवात कसरी भयो भन्ने प्रश्नको जवाफ दिँदैन। यसले त पृथ्वीको कुरालाई अन्तरिक्षमा धकेल्ने काम मात्र गर्छ।
वैज्ञानिकहरूले अनुमान लगाएअनुसार आनुवंशिक तत्त्व बन्नुअघि नै अणुहरू अस्तित्वमा थिए। यस्ता अणुहरू सम्भवतः अमिनो एसिडहरूबाट आफसेआफ उत्पन्न हुन्छन् र तिनीहरूले आफूजस्तै अणुहरू उत्पादन गर्न सक्छन्। तर वैज्ञानिकहरूले त्यस्ता अणुहरू पहिल्यैदेखि अस्तित्वमा थिए भन्ने कुराको कुनै प्रमाण पत्ता लगाउन सकेका छैनन्। अनि तिनीहरूले प्रयोगशालामा त्यस्तै प्रकारका अणुहरू बनाउन पनि सकेका छैनन्।
जीवित प्राणीहरूसित जानकारी सञ्चय गर्ने र त्यसलाई प्रशोधन गर्ने अद्भुत क्षमता हुन्छ। कोषहरूले आनुवंशिक कोडमा भएको जानकारी प्रसारण गर्छन् अनि त्यसको अर्थ बुझेर त्यसलाई कार्यान्वयन गर्छन्। केही वैज्ञानिकहरूले आनुवंशिक कोडलाई कम्प्युटरको सफ्टवेयरसित अनि कोषको रासायनिक संरचनालाई कम्प्युटरको हार्डवेयरसित तुलना गर्छन्। तर आनुवंशिक कोडमा जानकारी कहाँबाट आउँछ भनेर चाहिँ क्रमविकासको सिद्धान्तले बताउन सकेको छैन।
कोष जीवित रहन प्रोटिन अणुहरू अत्यावश्यक हुन्छन्। साधारण किसिमको प्रोटिन अणुमा सयौँ अमिनो एसिड हुन्छन् र ती विशेष किसिमले बाटिएका हुन्छन्। साथै प्रोटिन अणु क्रियाशील हुनको लागि यो खास किसिमको थ्री-डी (3D) आकारमा ढालिएको हुनुपर्छ। आफसेआफ एउटा प्रोटिन अणु बन्ने सम्भावना एकदमै न्युन छ भनी केही वैज्ञानिकहरू बताउँछन्। भौतिकशास्त्री पल डेभिस भन्छन्, “एउटा क्रियाशील कोष बन्न हजारौँ प्रकारका प्रोटिनहरू चाहिन्छ। त्यसैले संयोगले ती बनिए भन्नु पत्यारिलो कुरा होइन।”
निष्कर्ष। विज्ञानका विभिन्न क्षेत्रहरूमा दशकौँ लगाएर अनुसन्धान गरिसकेपछि एउटा कुरा भने पक्का छ, पहिल्यै अस्तित्वमा भएको जीवनबाट मात्र अर्को जीवन आउन सक्छ।
जीवजीवातहरू कसरी विकास हुँदै आए?
कोही-कोही के भन्छन्? पहिलो जीवित कोषबाट विभिन्न किसिमका जीवहरू विकास भए, जसमा मानिस पनि पर्छ। तिनीहरूको विकास उत्परिवर्तन र प्राकृतिक छनौटद्वारा भयो।
कोही-कोहीलाई यो जवाफ किन चित्त बुझ्दैन? कुनै-कुनै कोष जटिल किसिमका हुन्छन्। एउटा पुस्तकअनुसार सरल कोष विकास हुँदै गएर जटिल कोष बन्नु भनेको “क्रमविकाससित सम्बन्धित दोस्रो ठूलो रहस्य हो, पहिलोचाहिँ जीवनको सुरुवातबारे हो।”
प्रत्येक कोषभित्र अणुहरूको जटिल संरचना हुन्छ र तिनीहरू मिलेर जटिल भूमिका निर्वाह गर्छन् भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्। तिनीहरूको भूमिका पोषक तत्त्वलाई विभिन्न कोषसम्म पुऱ्याउने, पोषणलाई शक्तिमा परिणत गर्ने, बिग्रिएको कोषलाई बनाउने अनि कोषभित्र सन्देश प्रवाह गर्ने हो। के अव्यवस्थित तरिकाले हुने उत्परिवर्तन र प्राकृतिक छनौटको परिणामस्वरूप यस्ता जटिल संरचनाहरू बन्न सक्छन् होला र? धेरैलाई यस्तो धारणा स्विकार्न गाह्रो लाग्छ।
जनावर र मानिसको जीवनको सुरुवात एउटा निषेचित अण्डाबाट हुन्छ। एउटा भ्रूणभित्र कोषहरूको वृद्धि हुन्छ अनि कोषहरूको समूहले खास-खास आकार लिन्छन् र शरीरका विभिन्न अङ्ग बन्छन्। आफू के बन्ने अनि कुन काम गर्ने भनेर प्रत्येक कोषलाई कसरी “थाह” हुन्छ भन्ने प्रश्नको जवाफ क्रमविकासको सिद्धान्तले दिन सकेको छैन।
अहिले वैज्ञानिकहरूले कुन कुरा बुझेका छन् भने, एक प्रकारको जनावर विकास भएर अर्को प्रकारको जनावर बन्ने हो भने त्यस्तो परिवर्तन कोषभित्रै अर्थात् अणुहरूमै हुनुपर्छ। एउटा अत्यन्तै सरल कोष त क्रमविकासद्वारा बन्न कसरी सम्भव भयो भनेर वैज्ञानिकहरूले देखाउन सकेका छैनन् भने हाम्रो ग्रहमा भएका विभिन्न किसिमका जनावरहरू अव्यवस्थित तरिकाले हुने उत्परिवर्तन र प्राकृतिक छनौटद्वारा विकास भए भनेर पत्याउन सकिन्छ होला र? हुनत खोज अनुसन्धान गर्दा “जीवहरूमा आसै नगरिएका जटिल संरचनाहरू पाइएका छन्, तर ती जटिल जीवहरू आफसेआफ हुने प्रक्रियाबाट कसरी विकास हुँदै जान्छन् भन्ने कुराचाहिँ बुझ्न सकिएको छैन” भनेर जीवविज्ञानका प्राध्यापक माइकल बेहे बताउँछन्।
मानिसहरू सजग र सचेत छन्, तिनीहरू सोच्न र तर्क गर्न सक्छन्, तिनीहरूसित उदारता र आत्मत्यागजस्ता गुणहरू छन् अनि तिनीहरू सही र गलत छुट्ट्याउन सक्छन्। मानव दिमागको यस्तो अद्भुत क्षमता आफसेआफ भएको उत्परिवर्तन र प्राकृतिक छनौटको कारणले गर्दा विकास भएको हुन सक्दैन।
निष्कर्ष। जीवनको सुरुवातबारे क्रमविकासको सिद्धान्तलाई खण्डन गर्न सकिँदैन भनेर धेरैले दाबी गर्छन्। तर अरू थुप्रैलाई चाहिँ जीवनको सुरुवात र जीवनको विकासबारे क्रमविकासले दिने जवाफ चित्त बुझ्दैन।
चित्तबुझ्दो जवाफ
प्रमाणहरू केलाइसकेपछि थुप्रै मानिस कस्तो निष्कर्षमा पुगेका छन् भने, उत्कृष्ट बुद्धि भएको व्यक्तिले जीवन सृष्टि गरेको हुनुपर्छ। दर्शनशास्त्रका प्राध्यापक एन्टोनी फ्लुको उदाहरण विचार गर्नुहोस्, जो पहिले नास्तिकवादका प्रमुख प्रवर्धक थिए। जब तिनले जीवनको अत्यन्तै जटिल संरचना र ब्रह्माण्डका भौतिक नियमहरूबारे सिके, तब तिनले आफ्नो धारणा बदले। प्राचीनकालका दार्शनिकहरूको तर्कशैलीबारे तिनले यसो भने: “तर्कहरूले जुन निष्कर्षतर्फ डोऱ्याउँछ, हामी त्यसकै पछि लाग्नुपर्छ।” प्राध्यापक फ्लुले पाएका प्रमाणहरूले तिनलाई सृष्टिकर्ता हुनुपर्छ भन्ने निष्कर्षतर्फ डोऱ्यायो।
यस लेखको सुरुमा उल्लेख गरिएका जेरार्ड पनि त्यस्तै निष्कर्षमा पुगे। तिनले जीवविज्ञानबारे विस्तृत अध्ययन गरेका थिए र त्यसैमा लामो करिअर बिताएका थिए। तैपनि तिनले यसो भने: “निर्जीव कुराबाट आफसेआफ जीवनको सुरुवात भयो भन्ने कुराको मैले कुनै प्रमाण भेटिनँ। जीवजीवातहरूको व्यवस्थित संरचना र जटिलतालाई विचार गर्दा एक जना डिजाइनर र ती सबैलाई व्यवस्थित गर्ने व्यक्ति पक्कै हुनुपर्छ भन्ने निष्कर्षमा म पुगेँ।”
कुनै कलाकृतिलाई नियालेपछि त्यसको कलाकारबारे मानिसले केही कुरा थाह पाउन सक्छ। त्यसरी नै जेरार्डले पनि वरपर प्रकृतिमा देखिने कुराहरू नियालेर सृष्टिकर्ताका गुणहरू बुझ्न सके। जेरार्डले सृष्टिकर्ताको चिनारी दिने किताब अर्थात् बाइबललाई केलाउन पनि समय निकाले। (२ तिमोथि ३:१६) त्यसमा तिनले मानिसजातिको विगतबारे अनि अहिले मानिसहरूले भोगिरहेका समस्याहरूको व्यावहारिक समाधानबारे चित्तबुझ्दो जवाफ भेट्टाए। यसले गर्दा तिनी बाइबल पनि उत्कृष्ट दिमाग भएको व्यक्तिको उपज हो भनेर विश्वस्त भए।
जेरार्डले बाइबलबाट चित्तबुझ्दो जवाफहरू पाएझैँ हामी पनि पाउन सक्छौँ। तपाईँले पनि एक चोटि बाइबललाई केलाएर हेर्नुहोस् भनेर हामी प्रोत्साहन दिन चाहन्छौँ।