सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सफा पानीको विश्‍वव्यापी अभावबारे बाइबल के भन्छ?

सफा पानीको विश्‍वव्यापी अभावबारे बाइबल के भन्छ?

 हामी सबैलाई बाँच्नको लागि सफा पानी चाहिन्छ। तर “सबैतिर पानीको माग बढिरहेकोले सफा पानीको चरम अभाव छ” भनेर संयुक्‍त राष्ट्र सङ्‌घका महासचिव एन्टोनियो गुटेरेसले भने। संसारभरि करोडौँ मानिसले पिउनको लागि सफा पानी पाइरहेका छैनन्‌।

Strdel/AFP via Getty Images

 के हामी सबैसित प्रशस्त सफा पानी हुनेछ? अथवा के हामीले सधैँ सफा पानीको अभाव खेप्नुपर्नेछ? बाइबल के भन्छ?

बाइबलले सफा पानीको आपूर्तिबारे कस्तो प्रतिज्ञा गर्छ?

 भविष्यमा पानीको अभाव हुनेछैन भनेर बाइबलमा बताइएको छ। त्यसैले पृथ्वीमा प्रशस्त मात्रामा सफा र स्वच्छ पानी हुनेछ।

 “उजाड भूमिमा पानीका मूल फुट्‌नेछन्‌ र मरुभूमिमा खोलाहरू बग्नेछन्‌। चर्को घामले चिरा-चिरा परेको जमिन नर्कटै-नर्कट उम्रिएको दह बन्‍नेछ। ओबानो भूमिमा पानीको मूल फुट्‌नेछ।”—यसैया ३५:६, ७.

 हामी बाइबलको यस प्रतिज्ञामा किन भरोसा गर्न सक्छौँ? पृथ्वीको एउटा विशेष चक्रबारे बाइबल के भन्छ, विचार गरौँ।

पृथ्वी र जलचक्रबारे बाइबल के भन्छ?

 “[परमेश्‍वरले] व्यर्थैमा [पृथ्वी] बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।”—यसैया ४५:१८.

 सबै जीवजीवात र वनस्पतिको लागि पानी अत्यावश्‍यक तत्त्व हो। त्यसैले परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुहुँदा प्रशस्त मात्रामा सफा पानीको प्रबन्ध मिलाउन विभिन्‍न प्राकृतिक प्रणाली बनाउनुभयो।

 “[परमेश्‍वरले] समुद्रबाट पानीको बाफ उठाउनुहुन्छ र त्यसलाई बादल बनाएर लैजानुहुन्छ। अनि बादलले त्यो पानी बर्साउँछ र त्यो सबै मानिसमाथि बर्सिन्छ।”—अय्युब ३६:२७, २८.

 यस पदअनुसार परमेश्‍वरले भरपर्दो र प्राकृतिक जलचक्र अनि पानीको आपूर्ति गर्न एउटा प्रणाली बनाउनुभयो। जमिन र समुद्रको पानी बाफ बन्छ अनि त्यो बाफ चिसिएर आकाशबाट बर्सिन्छ। यसरी मानिस र जीवजन्तुले सधैँ प्रशस्तगरि सफा र स्वच्छ पानी पाउँछन्‌।—उपदेशक १:७; आमोस ५:८.

 “म ठीक-ठीक समयमा वर्षा गराउनेछु र जमिनले उब्जनी दिनेछ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ।”—लेवी २६:४.

 खेतीकिसानी गरिने प्राचीन इस्राएल राष्ट्रमा प्रशस्त उब्जनी होस्‌ भनेर परमेश्‍वरले इस्राएलीहरूको लागि नियमित रूपमा पानी बर्साउनुभयो। उहाँलाई प्रशस्त उब्जनीको लागि ठीक समयमा वर्षा हुनुपर्छ भनेर थाह छ।

 परमेश्‍वरले प्राचीन इस्राएलमा जे गर्नुभयो, भविष्यमा पूरै पृथ्वीमा त्यसै गर्नुहुनेछ। (यसैया ३०:२३) तर अहिले थुप्रै ठाउँमा पानीको अभाव बढिरहेको छ र त्यसको एउटा कारण प्रशस्त पानी नपरेकोले हो। पानीको समस्याको समाधानबारे बाइबलमा अरू के बताइएको छ?

पानीको अभाव कसरी अन्त्य हुनेछ?

 बाइबलमा बताइएअनुसार परमेश्‍वरले आफ्नो राज्यमार्फत यस पृथ्वीलाई नराम्रो असर पुऱ्‍याइरहेका सबै समस्याको समाधान गर्नुहुनेछ, जसमा सफा पानीको अभाव पनि पर्छ। (मत्ति ६:९, १०) परमेश्‍वरको राज्य स्वर्गमा स्थापना भएको सरकार हो र यसले पृथ्वीभरि शासन गर्नेछ। (दानिएल २:४४; प्रकाश ११:१५) साथै यस राज्यले मात्र पानीसित सम्बन्धित समस्या हुनुका कारणहरू निर्मूल पार्नेछ।

 समस्या: जलवायु परिवर्तनले जलचक्रलाई ठूलो असर पुऱ्‍याएको छ। यसले गर्दा चरम खडेरी भएको छ अनि भारी वर्षा भएकोले वा समुद्री सतह बढेकोले विनाशकारी बाढी-पहिरो गएको छ।

 समाधान: परमेश्‍वरको राज्यले यस्तो वातावरणीय असन्तुलन हटाएर पृथ्वीको अवस्था फेरि राम्रो बनाउनेछ। त्यसबारे परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “हेर! म सबै थोक नयाँ बनाउँदै छु।” (प्रकाश २१:५) सुक्खा जमिनमा पानीको मूल फुट्‌नेछ, जसले गर्दा अहिले जीवन धान्‍न नसकिने ठाउँहरूमा समेत जीवजीवात र बोटबिरुवा फस्टाउनेछन्‌। (यसैया ४१:१७-२०) परमेश्‍वरको राज्यको राजा येसु ख्रिष्टले पृथ्वीका प्राकृतिक शक्‍तिहरूलाई समेत नियन्त्रण गर्नुहुनेछ।

 येसु पृथ्वीमा हुनुहुँदा उहाँले डरलाग्दो आँधीलाई शान्त पारेर परमेश्‍वरबाट पाउनुभएको शक्‍तिको सानो झलक देखाउनुभयो। (मर्कुस ४:३९, ४१) उहाँले शासन गर्नुहुँदा प्राकृतिक प्रकोप हुनेछैन। त्यसैले मानिसजातिले साँचो शान्ति र सुरक्षाको आनन्द उठाउन सक्नेछ।

 समस्या: आफ्नो कामको परिणामबारे नसोच्ने मानिसहरू र लोभी व्यापारीहरूले खोलानाला, ताल र जमिनमुनिको पानी दूषित बनाएका छन्‌। त्यसले गर्दा सफा पिउने पानीको अभाव भएको छ।

 समाधान: परमेश्‍वरले पृथ्वी सफा पार्नुहुनेछ अनि खोलानाला, ताल, समुद्र र जमिनमा पुगेको नराम्रो असरलाई सच्याउनुहुनेछ। यो पृथ्वी सुन्दर बगैँचामा परिणत हुनेछ। यसबारे बाइबलमा कवितात्मक शैलीमा यस्तो लेखिएको छ: “उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ। मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।”—यसैया ३५:१.

 वातावरण र अरू मानिसको वास्ता नगर्नेहरूलाई के हुनेछ? परमेश्‍वरले “पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्ने” प्रतिज्ञा गर्नुभएको छ।—प्रकाश ११:१८; हितोपदेश २:२१, २२.

 समस्या: मानिसहरूले पानीका स्रोतहरू गलत तरिकामा प्रयोग गरिरहेका छन्‌ अनि परिणामस्वरूप पृथ्वीले उत्पादन गर्न सक्नेभन्दा धेरै पानीको खपत भइरहेको छ।

 समाधान: परमेश्‍वरले शासन गर्नुहुँदा स्वार्थी मानिसहरूको नभई उहाँको इच्छा “पृथ्वीमा ... पूरा” हुनेछ। (मत्ति ६:९, १०) यस राज्यले मानिसजातिलाई सर्वोत्तम शिक्षा दिनेछ। यसबारे यसैया ११:९ यसो भन्छ: “पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।” a यस्तो सर्वोत्तम ज्ञानले गर्दा अनि परमेश्‍वर र उहाँको सृष्टिप्रतिको गहिरो प्रेमले गर्दा मानिसजातिले यस सुन्दर पृथ्वी र यसका प्राकृतिक स्रोतहरूको राम्ररी रेखदेख गर्नेछ।

  •    परमेश्‍वरको राज्यले गर्ने कामहरूबारे थाह पाउन “ईश्‍वरको राज्यले के गर्नेछ?” लेख हेर्नुहोस्‌।

  •    पृथ्वी कसरी सुन्दर बगैँचामा परिणत हुनेछ भनेर थाह पाउन यसैया अध्याय ३५ पढ्‌नुहोस्‌।

  •    पृथ्वी र मानिसजातिको लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍यबारे थाह पाउन परमेश्‍वरले किन पृथ्वी सृष्टि गर्नुभयो? भिडियो हेर्नुहोस्‌।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।