सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

शरणार्थी सङ्‌कट—लाखौँ मानिस युक्रेन छोड्‌दै छन्‌

शरणार्थी सङ्‌कट—लाखौँ मानिस युक्रेन छोड्‌दै छन्‌

 फेब्रुअरी २४, २०२२ मा रुसले युक्रेनमाथि सैन्य हमला सुरु गऱ्‍यो। यसले गर्दा लाखौँ मानिसको ज्यान खतरामा परेको छ र तिनीहरू सक्दो छिटो देश छोड्‌दै छन्‌। a

 “जताततै बम विस्फोट भइरहेको थियो। त्यो दृश्‍य कत्ति भयावह थियो भनेर हामी शब्दमा बयानै गर्न सक्दैनौँ। उद्धारको लागि ट्रेनहरूको व्यवस्था गरिएको छ भनेर थाह पाएपछि हामीले पनि सहर छोड्‌ने निर्णय गऱ्‍यौँ। हामीले एउटा सानो ब्यागमा जे-जति अट्‌छ, त्यति मात्र लान सक्थ्यौँ। त्यसैले हामीले महत्त्वपूर्ण कागजातहरू, औषधीहरू, पानी र हल्का खानेकुरा मात्र बोक्यौँ; बाँकी सबै छोड्यौँ। बम विस्फोट भइरहेकै बेला हामी बल्लतल्ल ट्रेन स्टेसनसम्म पुग्यौँ।”—नतालिया, युक्रेनको खार्किभबाट।

 “अन्तिम घडीसम्म पनि हामीलाई युद्ध होला भन्‍ने लागेकै थिएन। मैले सहरका केही भागमा बम विस्फोट भएको सुनेँ। त्यो यत्ति शक्‍तिशाली थियो कि मेरो घरको झ्यालै थर्कियो। त्यसैले मैले अत्यावश्‍यक सामानहरू मात्र लिएर घर छोड्‌ने निर्णय गरेँ। म बिहान ८ बजे घरबाट निस्किएँ अनि लभिभसम्म ट्रेनमा गएँ। त्यहाँबाट बसमा पोल्याण्ड गएँ।”—नादिया, युक्रेनको खार्किभबाट।

यस लेखमा

 यस शरणार्थी सङ्‌कटका वास्तविक कारणहरू के हुन्‌?

 रुसले युक्रेनमाथि सैन्य हमला गरेपछि युक्रेनमा शरणार्थी सङ्‌कट सुरु भयो। तर बाइबलले यस्तो सङ्‌कटका वास्तविक कारणहरूबारे बताउँछ:

  •   मानव सरकारहरू आफ्नो जनताका आवश्‍यकताहरू पूरा गर्न असफल भएका छन्‌। अख्तियारमा भएकाहरू मानिसहरूमाथि थिचोमिचो गरेर आफ्नो शक्‍तिको दुरुपयोग गर्छन्‌।—उपदेशक ४:१; ८:९.

  •   “यस संसारको शासक” सैतानले मानिसहरूमाथि आफ्नो प्रभाव जमाएको छ। बाइबल भन्छ: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।”—युहन्‍ना १४:३०; १ युहन्‍ना ५:१९.

  •   मानिसहरूले सयौँ वर्षदेखि थुप्रै समस्या भोग्दै आएका छन्‌। यसबाहेक हामी बाँचिरहेको समयबारे बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ।” (२ तिमोथि ३:१) साथै अन्तको दिनमा युद्ध, प्राकृतिक प्रकोप, अनिकाल र महामारी हुनेछ भनेर भविष्यवाणी गरिएको थियो। यस्ता कुराहरूले गर्दा पनि मानिसहरू आफ्नो घर छोड्‌न बाध्य छन्‌।—लुका २१:१०, ११.

 शरणार्थीहरूले कहाँ आशा पाउन सक्छन्‌?

 हाम्रो सृष्टिकर्ता यहोवा b शरणार्थीहरू र आफ्नो घर छोड्‌नुपरेकाहरूलाई माया गर्नुहुन्छ र तिनीहरूको अवस्था बुझ्नुहुन्छ भनेर बाइबल बताउँछ। (व्यवस्था १०:१८) उहाँले आफ्नो राज्य अर्थात्‌ स्वर्गीय सरकारलाई चलाएर मानव सरकारहरूलाई हटाउने र शरणार्थीहरूको सबै समस्या समाधान गर्ने प्रतिज्ञा गर्नुभएको छ। (दानिएल २:४४; मत्ति ६:१०) यहोवाले सैतानलाई नाश गर्न पनि आफ्नो राज्यलाई चलाउनुहुनेछ। (रोमी १६:२०) त्यस राज्यले शासन गर्दा पृथ्वीमा एउटै मात्र सरकार हुने भएकोले सिमानाको कारण कुनै विवाद हुनेछैन। संसारभरिका सबै मानिस एउटै परिवार हुनेछ। त्यसपछि कसैले पनि आफ्नो घर छोड्‌नुपर्नेछैन किनकि बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “तिनीहरू प्रत्येक आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन किनकि यी सबै कुरा सेनाहरूका यहोवाले नै भन्‍नुभएको हो।”—मिका ४:४.

 आज थुप्रै मानिसले भोगिरहेको शरणार्थी सङ्‌कटलाई परमेश्‍वरको राज्यले मात्र हटाउन सक्छ। मानिसहरूलाई शरणार्थी हुन बाध्य बनाउने कारणहरू पनि परमेश्‍वरले आफ्नो राज्यमार्फत हटाउनुहुनेछ। आउनुहोस्‌, तीमध्ये केही कारण विचार गरौँ:

  •   युद्ध। “पृथ्वीबाट [यहोवाले] युद्ध नामेट पार्नुहुन्छ।” (भजन ४६:९) परमेश्‍वरले कसरी यसो गर्नुहुनेछ भनेर बुझ्न “पृथ्वीमा शान्ति कसरी छाउनेछ?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

  •   अत्याचार र हिंसा। “तिनले [यहोवाले] अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌।” (भजन ७२:१४) मानिसहरूले तिनीहरूमा गहिरो जरा गाडेर बसेको नकारात्मक मनोवृत्तिलाई कसरी हटाउन सक्छन्‌ भनेर बुझ्न “घृणामाथि विजय” विषयको शृङ्‌खलाबद्ध लेखहरू पढ्‌नुहोस्‌।

  •   गरिबी। “मदतको लागि पुकार्ने गरिबहरूको तिनले [यहोवाले] उद्धार गर्नेछन्‌।” (भजन ७२:१२) परमेश्‍वरले गरिबीका मूल कारणहरूलाई कसरी हटाउनुहुनेछ भनेर बुझ्न “के आर्थिक समानता सम्भव छ?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

  •   अनिकाल। “पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ।” (भजन ७२:१६) सबैका लागि प्रशस्त खानेकुरा हुने समय परमेश्‍वरले कसरी ल्याउनुहुनेछ भनेर बुझ्न “खाद्य संकट सधैंको लागि अन्त!” भन्‍ने लेख पढ्‌नुहोस्‌।

 के शरणार्थीहरूले बाइबलबाट मदत पाउन सक्छन्‌?

 सक्छन्‌। बाइबलले शरणार्थीहरूलाई भविष्यको लागि उज्ज्वल आशा दिने मात्र होइन बरु तिनीहरूले भोगिरहेका चुनौतीहरूको सामना गर्न व्यावहारिक सल्लाहहरू पनि दिन्छ।

 बाइबलको सिद्धान्त: “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितोपदेश १४:१५.

 अर्थ: नयाँ ठाउँमा सरेपछि कस्ता खतराहरू आइपर्न सक्छन्‌ र त्यस्ता खतराहरूबाट कसरी बच्ने भनेर पहिल्यै विचार गर्नुहोस्‌। शरणार्थीहरूलाई नयाँ ठाउँबारे थाह नहुने भएकोले तिनीहरू असुरक्षित महसुस गर्छन्‌ र अपराधीहरूले त्यसकै नाजायज फाइदा उठाउन खोज्छन्‌; त्यसैले होसियार हुनुहोस्‌।

 बाइबलको सिद्धान्त: “खान र लाउन पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।”—१ तिमोथि ६:८.

 अर्थ: आफूसित नभएका कुराहरूमा बढ्‌तै ध्यान नदिनुहोस्‌। तपाईँ आधारभूत आवश्‍यकताहरूमै सन्तुष्ट हुनुभयो भने खुसी हुनुहुनेछ।

 बाइबलको सिद्धान्त: “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ति ७:१२.

 अर्थ: धीरजी र दयालु हुनुहोस्‌। तपाईँमा यस्ता गुणहरू छन्‌ भने नयाँ ठाउँका मानिसहरूलाई तपाईँलाई आदर गर्न र स्विकार्न सजिलो हुनेछ।

 बाइबलको सिद्धान्त: “कसैलाई पनि खराबीको बदला खराबी नगर।”—रोमी १२:१७.

 अर्थ: अरूले दुर्व्यवहार गर्दा बदला लिन नखोज्नुहोस्‌। बदला लिन खोज्नुभयो भने अवस्था झनै बिग्रन सक्छ।

 बाइबलको सिद्धान्त: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलिप्पी ४:१३.

 अर्थ: आफ्नो जीवनमा परमेश्‍वरलाई प्रथम स्थान दिनुहोस्‌ र उहाँलाई प्रार्थना गर्नुहोस्‌। उहाँले तपाईँलाई अहिलेको अवस्था सहन बल दिनुहुन्छ।

 बाइबलको सिद्धान्त: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। तब परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.

 अर्थ: तपाईँको अवस्था जतिसुकै गाह्रो भए पनि मनोशान्तिको लागि परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। “फिलिप्पी ४:६, ७—‘कुनै कुराको विषयमा चिन्तित नहोओ’” भन्‍ने अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

a हमलाको भोलिपल्ट शरणार्थीका लागि संयुक्‍त राष्ट्र सङ्‌घीय उच्चायुक्‍तले (UNHCR) यसलाई सबैभन्दा ठूलो शरणार्थी सङ्‌कटको वर्गमा राख्यो। बाह्र दिनभित्रै युक्रेनबाट २० लाख मानिस छिमेकी देशहरूमा भागे अनि १० लाख मानिसचाहिँ देशभित्रकै अन्य सुरक्षित ठाउँहरूमा सरे।

b परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।