सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

राजनीतिले गर्दा विभाजित समाज—यसबारे बाइबल के भन्छ?

राजनीतिले गर्दा विभाजित समाज—यसबारे बाइबल के भन्छ?

 संसारभरि थुप्रै देशमा राजनीतिले गर्दा मानिसहरूबीच फुट छ। प्यु रिसर्च सेन्टर २०२२ ले “१९ वटा देशमा गरेको सर्वेक्षणमा ६५% वयस्कले तिनीहरूको देशमा फरक-फरक राजनैतिक पार्टीहरूलाई समर्थन गर्ने मानिसहरूबीच एकदमै धेरै फुट छ भनेर मानिलिए।”

 तपाईँ बसेको ठाउँमा राजनीतिले गर्दा मानिसहरूबीच झन्‌झनै फुट बढेको के तपाईँले याद गर्नुभएको छ? यसको कारण के हो? यसलाई कसरी समाधान गर्न सकिन्छ? यसबारे बाइबल के भन्छ, आउनुहोस्‌ हेरौँ।

फुट गराउने दुर्गुणहरू

 बाइबलमा हाम्रो समयलाई “अन्तको दिन” भनिएको छ। हामी बाँचिरहेको समयमा मानिसहरूले एकतामा बस्न गाह्रो बनाउने दुर्गुणहरू देखाउनेछन्‌ भनेर बाइबलमा बताइएको छ।

  •   “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, ... कुनै पनि कुरामा सहमत नहुने” हुनेछन्‌।—२ तिमोथि ३:१-३.

 असल मनसाय भएका मानिसहरूले जत्ति नै कोसिस गरे पनि सरकारहरूले राम्ररी काम गर्न सकेका छैनन्‌। फरक-फरक राजनैतिक विचारधारा भएका मानिसहरूलाई सँगै मिलेर काम गर्न गाह्रो लाग्छ वा असम्भव लाग्छ। यस्तो समस्याबारे बाइबलमा धेरैअघि बताइएको थियो।

  •   “एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको” थियो।—उपदेशक ८:९.

 तर बाइबलमा यसको समाधानबारे बताइएको छ—एउटा सरकारको राजाले आज मानिसहरूलाई सताइरहेको सबै समस्या हटाउनेछ।

सबैको ख्याल राख्ने योग्य नेता

 बाइबलमा असाधारण क्षमता भएका एक जना नेताबारे बताइएको छ। उहाँ येसु ख्रिष्ट हुनुहुन्छ। उहाँसित पूरै पृथ्वीभरि शान्ति र एकता ल्याउने शक्‍ति, अख्तियार र इच्छा छ।

  •   “तिनको शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ, ... शान्ति छाउनेछ।”—भजन ७२:७.

  •   “सबै राष्ट्रले तिनको सेवा गर्नेछन्‌।”—भजन ७२:११.

 येसु सर्वोत्कृष्ट नेता हुनुहुन्छ किनकि उहाँ मानिसहरूको ख्याल राख्नुहुन्छ र विशेषगरि अन्यायमा परेका मानिसहरूलाई मदत गर्न चाहनुहुन्छ।

  •   “मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्‌, दीनदुःखी र असहायहरूको पनि तिनले उद्धार गर्नेछन्‌। तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्‌ अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्‌। तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌।”—भजन ७२:१२-१४.

 परमेश्‍वरको राज्य र यसका राजा येसुबारे अझ धेरै जान्‍नुहोस्‌। यस राज्यबाट लाभ उठाउन र यसको समर्थन गर्न तपाईँ के गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।