सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Pawel Gluza/500Px Plus/Getty Images

जागा रहो!

गत ५० वर्षमा वन्यजन्तुको सङ्‌ख्यामा ७३ प्रतिशतको गिरावट—⁠यसबारे बाइबल के भन्छ?

गत ५० वर्षमा वन्यजन्तुको सङ्‌ख्यामा ७३ प्रतिशतको गिरावट—⁠यसबारे बाइबल के भन्छ?

 विश्‍व वन्यजन्तु कोषले अक्टोबर ९, २०२४ मा मानिसजातिको कारण वन्यजन्तुमा परेको नराम्रो असरबारे एउटा रिपोर्ट प्रस्तुत गऱ्‍यो। त्यस रिपोर्टमा यसो भनिएको थियो, “गत ५० वर्षमा (१९७०-२०२०) वन्यजन्तुको सङ्‌ख्यामा ७३ प्रतिशतले गिरावट भयो। त्यसैले आगामी पाँच वर्षमा जे-जति कुरा हुन्छन्‌, त्यसले धेरै हदसम्म हाम्रो भविष्य निर्धारण गर्छ।”

 यी रिपोर्टहरूले गर्दा थुप्रै मानिस चकित हुन स्वाभाविकै हो। हाम्रो सुन्दर घर पृथ्वीलाई हामी धेरै माया गर्छौँ। तर अहिले पृथ्वीमा भएका वन्यजन्तुहरूमा नराम्रो असर पुगिरहेको छ। यो देख्दा हामीलाई असाध्यै दुःख लाग्छ किनभने परमेश्‍वरले हामीलाई जनावरहरूको हेरविचार गर्ने आज्ञा दिनुभएको थियो।—उत्पत्ति १:२७, २८; हितोपदेश १२:१०.

 तर तपाईँलाई लाग्ला, ‘के हामीले पृथ्वीमा भएका वन्यजन्तुहरूलाई जोगाउन सक्छौँ? यसबारे बाइबलमा के भनिएको छ?’

भविष्यको आशा

 हामीले वन्यजन्तुहरूलाई जोगाउन जति नै प्रयास गरे तापनि ईश्‍वरले मात्र तिनीहरूलाई साँचो सुरक्षा दिन सक्नुहुन्छ। बाइबलको प्रकाश ११:१८ मा परमेश्‍वरले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ भनेर भविष्यवाणी गरिएको छ। यसबाट हामी दुई वटा कुरा सिक्न सक्छौँ। ती हुन्‌:

  1.  १. परमेश्‍वरले मानिसजातिलाई पृथ्वीको पूर्णतया विनाश गर्न दिनुहुनेछैन।

  2.  २. परमेश्‍वरले चाँडै कदम चाल्नुहुनेछ। किनभने अहिले मानिसहरूले जनावरहरूलाई पहिलाभन्दा झन्‌ धेरै हानि पुऱ्‍याइरहेका छन्‌।

 ईश्‍वरले यो समस्याको समाधान कसरी गर्नुहुनेछ? उहाँले आफ्नो राज्य अर्थात्‌ स्वर्गीय सरकारमार्फत पूरै पृथ्वीमा शासन गर्नुहुनेछ। (मत्ति ६:१०) अनि यस सरकारले आज्ञाकारी मानिसहरूलाई वन्यजन्तुको हेरविचार र सुरक्षा गर्न चाहिने शिक्षा र तालिम दिनेछ।—यसैया ११:९.