जागा रहो!
युवाहरूमा सामाजिक सञ्जालको नकारात्मक असरबारे उच्च स्वास्थ्य अधिकारीको चेतावनी—यसबारे बाइबल के भन्छ?
सन् २०२३, मे २३ मा अमेरिकाका एक उच्च स्वास्थ्य अधिकारीले सामाजिक सञ्जालले थुप्रै युवामा नकारात्मक असर पारिरहेको छ भनेर बताए।
“हुनत केही केटाकेटी र किशोरकिशोरीले सामाजिक सञ्जालबाट लाभ उठाइरहेका छन् तर प्रमाणहरूले देखाएअनुसार यसले तिनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा धेरै हानि पुऱ्याइरहेको छ।”—सामाजिक सञ्जाल र युवाहरूको मानसिक स्वास्थ्य: अमेरिकाको सर्जन जेनेरलद्वारा जारी सूचना, २०२३।
यो विषय गम्भीर हुनुका केही कारणबारे त्यस सूचनामा बताइएको छ।
“दिनमा ३ घण्टाभन्दा धेरै सामाजिक सञ्जाल चलाउने” १२ देखि १५ वर्षका केटाकेटीमा “मानसिक स्वास्थ्य समस्या हुने खतरा दुई गुणा धेरै देखिएको छ। यस्ता केटाकेटीमा डिप्रेसन र एङ्जाइटिका (आत्तिने वा डराउने रोग) लक्षणहरू पनि देखिएका छन्।”
“सामाजिक सञ्जाल धेरै चलाउने” १४ वर्षका केटाकेटीमा “निद्राको समस्या, अनलाइन दुर्व्यवहार, आफ्नो रूपरङ चित्त नबुझ्ने, अयोग्य महसुस गर्ने र डिप्रेसनका समस्याहरू धेरै देखिएको छ। यस्ता समस्याहरू केटाहरूमा भन्दा केटीहरूमा धेरै देखिएको छ।”
आमाबुबाले आफ्ना छोराछोरीलाई यस्ता खतराहरूबाट कसरी जोगाउन सक्छन्? बाइबलमा यससम्बन्धी व्यावहारिक सल्लाह-सुझाव पाइन्छ।
आमाबुबाले के गर्न सक्छन्?
चासो लिनुहोस्। आमाबुबा हो, सामाजिक सञ्जाल चलाउँदा कस्ता खतराहरू आइपर्न सक्छन् भनेर विचार गर्नुहोस् र छोराछोरीलाई त्यो चलाउन दिने कि नदिने भनेर निर्णय गर्नुहोस्।
बाइबलको सिद्धान्त: “बालकलाई सही बाटोमा लगाऊ।”—हितोपदेश २२:६.
अझ धेरै बुझ्न “के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?” भन्ने लेख पढ्नुहोस्।
छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिँदै हुनुहुन्छ भने यसका सम्भाव्य खतराहरूबारे बुझिराख्नुहोस् र तिनीहरूले इन्टरनेटमा के-कस्ता कुराहरू हेर्दै छन् भन्ने कुरामा चासो लिनुहोस्। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?
छोराछोरीलाई खतराहरूदेखि जोगाउनुहोस्। छोराछोरीलाई कस्ता कुराहरू हानिकारक हुन्छन् र त्यस्ता कुराहरू हेर्नदेखि जोगिन के-कस्ता कदमहरू चाल्न सकिन्छ भनेर सिकाउनुहोस्।
बाइबलको सिद्धान्त: “तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्; लाजमर्दो आचरण, मूर्खताले भरिएको कुराकानी, अश्लील ठट्टा पनि तिमीहरूमाझ नहोस्।”—एफिसी ५:३, ४.
व्यावहारिक सल्लाह-सुझावको लागि “सुरक्षित भई सामाजिक सञ्जाल चलाउन सिकाउनुहोस्” भन्ने लेख पढ्नुहोस्।
सीमा तोक्नुहोस्। जस्तै, छोराछोरीलाई कहिले र कति समय सामाजिक सञ्जाल चलाउन दिने भनेर सीमा तोक्नुहोस्।
बाइबलको सिद्धान्त: “कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, ... बुद्धिमान् मानिस जस्तोगरि हिँड, समयको पूर्ण सदुपयोग गर।”—एफिसी ५:१५, १६.
सीमा तोक्नु किन आवश्यक छ भनेर बुझाउन छोराछोरीलाई सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस् भन्ने ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्।