हाम्रो अभिलेखालयबाट
आर्थिक कठिनाइहरूको बाबजुद यहोवाको सेवा गर्नुहोस्
थुप्रै देशमा महङ्गीले गर्दा मानिसहरूलाई खान, बस्न र लगाउन धौधौ परिरहेको छ। यसले यहोवाका साक्षीहरूको जीवनमा पनि असर गरिरहेको छ। तर तिनीहरू चिन्तित भएर आत्तिएका छैनन्। बरु यहोवाले आफ्ना सेवकहरूलाई ‘कहिल्यै त्याग्नुहुनेछैन’ भन्ने कुरामा तिनीहरू ढुक्क छन्। (हिब्रू १३:५) यहोवाले सधैँ आफ्ना उपासकहरूलाई मदत गर्दै आउनुभएको छ। सन् १९७० र १९८० तिर गरिबीले गर्दा फिलिपिन्समा बस्नेहरूको अवस्था एकदमै नाजुक भएको थियो। त्यतिबेला पनि यहोवाले आफ्ना सेवकहरूलाई मदत गर्नुभयो।
विकि a नाम गरेकी एक बहिनी यसो भन्छिन्, “कहिलेकाहीँ हामीसित खानको लागि चामल, नुन र पानीबाहेक केही हुन्थेन। खानको लागि केही नभएकोले म रुन्थेँ।” भाइ फ्लोरेन्सियोले जागिर पाउन सकेका थिएनन्। तिनी यसो भन्छन्, “मसित लुगाको नाममा तीन वटा सर्ट र तीन वटा पाइन्ट मात्र थियो। अनि म सभा र सम्मेलनहरूमा त्यही लुगाहरू मात्र लगाउँथेँ।” यहोवाका साक्षीहरूले यस्ता गाह्रा अवस्थाहरूको कसरी सामना गरे? तिनीहरूलाई आध्यात्मिक तवरमा बलियो रहिरहन केले मदत गऱ्यो? अनि गाह्रो अवस्थाको सामना गर्न अहिले हामी कसरी तिनीहरूको उदाहरणबाट मदत पाउन सक्छौँ?
तिनीहरूले यहोवामाथि भरोसा गरे
यहोवाले गाह्रो अवस्था सहन मदत गर्नुहुनेछ भन्ने कुरामा फिलिपिन्सका भाइबहिनीहरू ढुक्क थिए। (हिब्रू १३:६) अनि यहोवाले सोच्दै नसोचेको तरिकाहरूमा तिनीहरूलाई मदत गर्नुभयो। त्यस्तै अनुभव गरेकी एक बहिनी सेसिल यसो भन्छिन्, “हामी परिवारमा चार जना छौँ। एक दिनको कुरा हो, हामीले बिहानको खानाको लागि चामल बसाल्यौँ तर त्यो नै हाम्रो लागि अन्तिम छाक थियो। हामीसित एक गेडा अन्न पनि बाकीँ थिएन। त्यसैले आजको दिनको लागि चाहिने कुरा जुटाइदिनुहोस् भनेर प्रार्थना गऱ्यौँ। नभन्दै हामीले खाना खाँदै गर्दा एक जना भाइ पाँच किलो चामल लिएर आइपुग्नुभयो। हामीले आँसु थाम्नै सकेनौँ। यहोवाले हाम्रो ख्याल राख्नुभएकोमा हामी उहाँप्रति निकै कृतज्ञ छौँ। हामीले यस्तै खालको अनुभव थुप्रै चोटि गरेका छौँ।”
साथै यहोवाका साक्षीहरूले बाइबलमा पाइने व्यावहारिक सल्लाह लागू गर्छन्। (हितोपदेश २:६, ७) उदाहरणको लागि, भर्खरै बप्तिस्मा गरेकी एक बहिनी आर्सेलिटालाई एकपटक आफ्नो जीविकोपार्जन गर्न हम्मेहम्मे भएको थियो। त्यतिबेला तिनले यहोवालाई आफ्नो मनको बह पोखाइन्। अनि तिनले हितोपदेश १०:४ मा मनन गरिन्, जहाँ यस्तो लेखिएको छ: “अल्छी हातले मानिसलाई दरिद्र बनाउँछ तर मेहनती हातले मानिसलाई धनी बनाउँछ।” तिनले यी शब्दहरू लागू गर्दै आफ्नै करेसाबारी लगाउने निर्णय गरिन्। तिनी यसो भन्छिन्, “यहोवाले मेरो प्रयासमा साँच्चै आशिष् दिनुभयो। अहिले बारीको उब्जनीबाट मैले आफ्नो लागि पुग्दो खानेकुरा पाउन सकेकी छु। त्यति मात्र नभई मैले ती अन्नहरू बेचेर आफ्नो लागि यातायातको खर्च समेत जुटाउन सकेकी छु।”
तिनीहरू एकसाथ भेला हुन छोडेनन्
हाम्रा भाइहरूसित सभाभवनको लागि जग्गा खरिद गर्न र निर्माण गर्न पनि पर्याप्त रकम थिएन। तैपनि तिनीहरूले एकसाथ भेला हुने र एकअर्कालाई प्रोत्साहन दिने आज्ञा पालन गर्न छोडेनन्। (हिब्रू १०:२४, २५) बरु तिनीहरूले आवश्यक छाँटकाँट गरे। त्यतिबेला गरिएको छाँटकाँट सम्झँदै दबोरा बहिनी यसो भन्छिन्, “म र मेरी अग्रगामी साथी मिलेर एउटा सानो झुपडी बनाएका थियौँ। हामी छ जनाजति सभाको लागि त्यहीँ उपस्थित हुन्थ्यौँ। हामीले झुपडी बनाउँदा छतको लागि खजुरका पातहरू, भित्ताको लागि नरिवलका पातहरू अनि बस्नको लागि खजुरका मुढाहरू प्रयोग गऱ्यौँ।”
प्रायजसो अवस्थामा भाइबहिनीहरूको घरमै सभाहरू गरिन्थ्यो। भर्जिनिया नाम गरेकी बहिनी यसो भन्छिन्, “हाम्रो घर पराल र बाँसले बनेको थियो। घर सानो भएकोले सप्ताहन्तको सभाको लागि हामीले हरेक पटक एक दिनअघि नै घरका सरसमानहरू हटाउनुपर्थ्यो।” सभा गरिने त्यस्तै अर्को एउटा घरमा भने छतबाट पानी चुहिन्थ्यो। यसबारे भाइ नोएल यसो भन्छन्, “पानी पर्दा छतबाट पानी तपतप चुहिने भएकोले हामीले बाल्टिनमा पानी थाप्नुपर्थ्यो। तर हामीले यी असुविधाहरूमा त्यति ध्यान दिएनौँ किनभने उपासनाको लागि भाइबहिनीसितै एकसाथ भेला हुन पाउनु हाम्रो लागि ठूलो कुरा थियो।”
तिनीहरूले प्रचारकार्यप्रतिको जोस कायम राखे
यहोवाका साक्षीहरू भौतिक रूपमा सम्पन्न नभए पनि तिनीहरूले प्रचारकार्यप्रतिको आफ्नो जोस कायमै राखे। नेग्रोस टापुमा बस्ने लिन्डिना यसो भन्छिन्, “मेरो परिवार ठूलो छ अनि बुबाले मात्रै कमाउनुहुन्छ। त्यसैले हामीसित यातायातको लागि सधैँ खर्च हुँदैनथ्यो। हामी अक्सर हिँडेरै इलाकामा जाने गर्थ्यौँ। तर धेरै जना भएकोले यसरी हिँड्न पनि रमाइलै हुन्थ्यो। हामीले गर्ने हरप्रयासमा यहोवा खुसी हुनुहुन्छ भन्ने कुरामा हामी ढुक्क थियौँ।”
टाढाको पहाडी इलाकाहरूमा जानुको एउटा चुनौती भनेको त्यहाँसम्म पुग्न सार्वजनिक यातायातको सुविधा नै हुँदैनथ्यो वा फाट्टफुट्ट मात्र गाडी पाउँथ्यो। लुजन टापुमा बस्ने एस्तर यसो भन्छिन्, “इलाकासम्म पुग्न कैयौँ किलोमिटर हिँड्नुपर्ने भएकोले हामी छ देखि बाह्र जनाको टोली सबेरै हिँड्ने गर्थ्यौँ। हामी दिनभरि प्रचार गर्थ्यौँ। हामीले खानेकुरा पकाएर लैजान्थ्यौँ अनि रूखमुनि बसेर खान्थ्यौँ। हाम्रा केही भाइबहिनीसित खानेकुरा हुँदैनथ्यो तैपनि उहाँहरू प्रचारमा आउनुहुन्थ्यो। हामी उहाँहरूलाई यसो भन्थ्यौँ, ‘चिन्ता नगर्नुस्। हामीसित टन्नै खानेकुरा छ।’”
यहोवाले आत्मत्यागी मनोभाव देखाएका भाइबहिनीहरूलाई प्रशस्त आशिष् दिनुभयो। उदाहरणको लागि, सन् १९७० मा फिलिपिन्समा ५४ हजार ७ सय ८९ प्रकाशकहरू थिए। अनि सन् १९८९ सम्ममा प्रकाशकहरूको सङ्ख्या दोब्बर बढेर १ लाख २ हजार ४ सय ८७ पुग्यो। सन् २०२३ मा फिलिपिन्समा राज्य प्रचारकहरूको सङ्ख्या २ लाख ५३ हजार ८ सय ७६ पुग्यो।
“आर्थिक कठिनाइको बाबजुद हामीले यहोवालाई प्रेम गरिरह्यौँ”
यहोवाका साक्षीहरूले आर्थिक कठिनाइहरूको बाबजुद आध्यात्मिक गतिविधिमा भाग लिइरहेकोले तिनीहरू आनन्दित हुन सके। एन्टोनियो नाम गरेका भाइ यसो भन्छन्, “आर्थिक कठिनाइको बाबजुद हामीले यहोवालाई प्रेम गरिरह्यौँ।” बहिनी फे अबाद यसो भन्छिन्, “म र मेरो श्रीमान्ले आर्थिक कठिनाइको सामना गर्नुपऱ्यो। तर त्यस्तो अवस्थामा समेत हामी यहोवासित नजिक भइरह्यौँ। हामीले सरल जीवन बिताउँदा पाइने आनन्द अनुभव गर्न सक्यौँ। खुसीको कुरा, हाम्रा छोराछोरीले पनि यहोवामा भरोसा गर्न सिके।”
समर टापुमा बस्ने बहिनी लुसिला यसो भन्छिन्, “गरिबीको चपेटामा परे तापनि हामी यहोवाको सेवा गर्न सक्छौँ। हामीले आफ्नो जीवनमा परमेश्वरलाई पहिलो स्थानमा राख्यौँ भने हामी सन्तुष्ट र सकारात्मक हुन सक्छौँ। साँच्चै, मेरा बाइबल विद्यार्थीहरूले यहोवालाई चिनेको र मसँगै अग्रगामी गरेको देख्न पाउनु मेरो लागि असाध्यै खुसीको कुरा हो।”
भविष्यमा अझै कठिन परिस्थितिको सामना गर्नुपर्नेछ भनेर हामीलाई थाह छ। रोडोल्फो नाम गरेको एक एल्डरले भनेको यो कुरा मनमा राख्नुहोस्, “सन् १९७० र १९८० तिरको समय असाध्यै कठिन थियो। त्यतिबेला मैले यहोवाको साथ र प्रेम महसुस गर्न सकेँ। हुनत त्यो समयमा मसित पैसा एकदम थोरै थियो तैपनि मलाई कुनै कुराको अभाव भएन। किनभने यहोवाले मेरो राम्ररी ख्याल राख्नुभएको थियो। अहिले म उत्तम जीवन बिताउँदै छु र भविष्यमा पाइने ‘साँच्चैको जीवनको’ पर्खाइमा छु।” —१ तिमोथि ६:१९.
a केही नामहरू परिवर्तन गरिएका छन्।