सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो अभिलेखालयबाट

विश्‍वभरका मानिसहरूलाई लेखपढ गर्न सिकाउँदै

विश्‍वभरका मानिसहरूलाई लेखपढ गर्न सिकाउँदै

ब्राजिलमा बस्ने अगोस्टिनो यसो भन्छन्‌: “म एउटा विकट गाउँमा हुर्केँ। हामी धेरै गरिब थियौँ। परिवारको आवश्‍यकता पूरा गर्न काम गर्नुपर्ने भएकोले मैले स्कुल छोडेँ।” अगोस्टिनोले ३३ वर्षको उमेरमा मात्रै लेखपढ गर्न सिके। तिनी भन्छन्‌: “लेखपढ गर्न सिकेपछि मलाई आफ्नो आत्मसम्मान बढेको महसुस भयो।”

विगत ७० वर्षको दौडान यहोवाका साक्षीहरूले लेखपढ गर्न सिकाएका २ लाख ५० हजारभन्दा धेरै मानिसहरूमध्ये अगोस्टिनो पनि एक हुन्‌। यहोवाका साक्षीहरू किन साक्षरता कक्षा सञ्चालन गर्छन्‌? यस कक्षाबाट मानिसहरूले कस्तो लाभ उठाएका छन्‌?

लेखपढ गर्न नजान्दा नयाँ कुरा सिक्न गाह्रो हुन्छ

सन्‌ १९३५ सम्म आइपुग्दा यहोवाका साक्षीहरूले ११५ वटा देशमा साक्षीकार्य सुरु गरिसकेका थिए। विभिन्‍न भाषा बोल्ने मानिसहरूलाई सुसमाचार सुनाउन मिसनरीहरूले उनीहरूको भाषामा अनुवाद भएका बाइबलआधारित भाषणहरूको रेकर्डिङ सुनाउँथे र कुनै-कुनै अवस्थामा त स्थानीय भाषामा साहित्यहरू पनि दिने गर्थे। थुप्रै मानिसले बाइबलको सन्देशमा चासो देखाए तर लेखपढ गर्न नसक्ने भएकोले उनीहरूमध्ये धेरैलाई बाइबलको कुरा सिक्न गाह्रो भयो।

आफैले बाइबल पढ्‌न नसक्ने भएकोले मानिसहरूलाई बाइबलका सिद्धान्तहरू कसरी लागू गर्ने भनेर सिक्न गाह्रो भयो। (यहोसु १:८; भजन १:​२, ३) साथै तिनीहरूलाई आफ्ना ख्रिष्टियन जिम्मेवारीहरू पूरा गर्न पनि चुनौतीपूर्ण भयो। उदाहरणका लागि, आमाबुबालाई लेखपढ गर्न नआउने भएकोले छोराछोरीलाई यहोवाबारे सिकाउन तिनीहरूलाई निकै गाह्रो भयो। (व्यवस्था ६:​६, ७) साथै लेखपढ गर्न नआउने नयाँ साक्षीहरूले अरूलाई बाइबलका कुराहरू सिकाउने आफ्नो क्षमतामा त्यत्ति उन्‍नति गर्न सकेनन्‌।

साक्षरता अभियानको सुरुवात

सन्‌ १९४० र १९५० को दशकमा यहोवाका साक्षीहरूमाझ नेतृत्व लिइरहनुभएका भाइहरूमध्ये दुई जना नेथन एच. नोर र मिल्टन जि. हेन्सेल साक्षीकार्यलाई अझ व्यवस्थित बनाउन विभिन्‍न देशहरूको भ्रमणमा निस्कनुभयो। साक्षरता दर कम भएको मुलुकहरूमा उहाँहरूले स्थानीय शाखा कार्यालयलाई मण्डलीहरूमा साक्षरता कक्षा सञ्चालन गर्न प्रोत्साहन दिनुभयो।

जाम्बियाको चिङ्‌गोलामा १९५४ मा आयोजना गरिएको सम्मेलनमा सिनयान्जा भाषाको प्रकाशन विमोचन गरियो

यो कक्षा कसरी सञ्चालन गर्ने भन्‍ने सन्दर्भमा शाखा कार्यालयहरूले मण्डलीहरूलाई निर्देशन दियो। कुनै-कुनै देशमा साक्षीहरूले स्थानीय सरकारले उपलब्ध गराएको शिक्षणपद्धति र पाठ्यपुस्तक नै प्रयोग गरे। उदाहरणको लागि, ब्राजिल शाखा कार्यालयले सरकारबाट आवश्‍यक सरसामग्री र पाठ्यपुस्तक प्राप्त गऱ्‍यो र ती साधनहरू मण्डलीहरूमा पठाइयो। अरू केही देशमा भने साक्षीहरू आफैले साक्षरता कक्षाको शिक्षणपद्धति तयार पारे।

साक्षरता कक्षामा पुरुष, स्त्री, केटाकेटी, वृद्धवृद्धा सबैले भाग लिन सक्थे। यस कक्षाको उद्देश्‍य भनेको विद्यार्थीहरूलाई आफ्नै मातृभाषामा लेखपढ गर्न सिकाउनु थियो। त्यसैले एउटा मण्डलीमा त थुप्रै भाषाको साक्षरता कक्षा सञ्चालन गर्नुपर्ने भयो।

मानिसहरूलाई मदत गर्ने कार्यक्रम

यस साक्षरता कार्यक्रमबाट मानिसहरूले कस्तो लाभ उठाएका छन्‌? मेक्सिकोका एक साक्षी यसो भन्छिन्‌: “अहिले मैले बाइबलमा पढेका कुराहरूको अर्थ बुझ्न सकेकी छु र ती कुराहरूले मेरो मन छुन्छ। लेखपढ गर्न सिकेकोले म अहिले आफ्ना छिमेकीहरूसित धक नमानी कुरा गर्न सक्छु र धेरैभन्दा धेरै मानिसलाई बाइबलको सन्देश सुनाउन सकेकी छु।”

यस साक्षरता कार्यक्रमले मानिसहरूलाई बाइबलको कुरा बुझ्न मदत गर्नुका साथै अन्य तरिकामा पनि मदत गरेको छ। बुरूण्डीका आइज्याग यसो भन्छन्‌: “लेखपढ गर्न सिकेकोले मलाई निर्माणकार्यका सीपहरू सिक्न पनि सजिलो भएको छ। निर्माणकार्य मेरो करिअर नै बनेको छ र म अहिले ठूलठूला निर्माण परियोजनाको सुपरिवेक्षण गर्छु।”

सन्‌ २०१४ मा मलावीको लिलोङ्‌वेको एउटा सभाभवनमा चिचेवा भाषा सिकाइँदै

पेरूकी हेसुसा साक्षरता कक्षामा पढ्‌न थाल्दा ४९ वर्ष पुगिसकेकी थिइन्‌। उनी भन्छिन्‌: “म गृहिणी भएकीले बजारमा किनमेल गर्न जाँदा सामानको नाम र भाउ हेर्नुपर्ने हुन्छ। पहिला-पहिला मलाई यो काम गर्न साह्रै गाह्रो थियो। तर साक्षरता कक्षाले गर्दा मलाई अहिले परिवारको लागि किनमेल गर्न कुनै समस्या छैन।”

वर्षौँको दौडान विभिन्‍न देशका अख्तियारवालाहरूले मानिसहरूलाई साक्षर बनाउन यहोवाका साक्षीहरूले गरिरहेको प्रयासको प्रशंसा गर्दै आएको छ। अहिले पनि यहोवाका साक्षीहरूले नयाँ-नयाँ तरिका र सरसामग्री चलाएर साक्षरता कक्षाहरू सञ्चालन गरिरहेका छन्‌। तिनीहरूले मानिसहरूलाई लेखपढ गर्न सिकाउन वा धेरै लेखपढ नगरेकाहरूलाई मदत गर्न विभिन्‍न पुस्तिकाहरू डिजाइन गरेका छन्‌ अनि त्यस्ता पुस्तिकाहरू ७२० भाषामा झन्डै २२ करोड ४० लाख प्रति छापिसकेका छन्‌। *

^ अनु. 16 उदाहरणको लागि, पढ्‌न र लेख्न सिक्नुहोस्‌ पुस्तिका १२३ भाषामा र सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिका ६१० भाषामा उपलब्ध छन्‌।