सीधै सामग्रीमा जाने

SEPTEMBER 29, 2020
अजरबैजान

मानवअधिकारसम्बन्धी युरोपेली अदालतले अजरबैजानमा यहोवाका साक्षीहरूको पक्षमा दुई वटा फैसला सुनायो

मानवअधिकारसम्बन्धी युरोपेली अदालतले अजरबैजानमा यहोवाका साक्षीहरूको पक्षमा दुई वटा फैसला सुनायो

सेप्टेम्बर २४, २०२० मा मानवअधिकारसम्बन्धी युरोपेली अदालतले (ECHR) अजरबैजानमा यहोवाका साक्षीहरूको पक्षमा दुई वटा महत्त्वपूर्ण फैसला सुनायो। पहिलो फैसला भालिएभ र अरूविरुद्ध अजरबैजान मुद्दासित सम्बन्धित थियो र दोस्रो फैसला यहोवाका साक्षीहरूको धार्मिक समाजविरुद्ध अजरबैजान मुद्दासित सम्बन्धित थियो। यी फैसलाहरूले कुनै रोकटोकविना आफ्नो धार्मिक आस्थाको अभ्यास गर्न पाउने हाम्रा दाजुभाइ दिदीबहिनीको कानुनी अधिकारलाई सुनिश्‍चित गरेको छ।

दुवै फैसलामा अजरबैजान सरकारले हाम्रा दाजुभाइ दिदीबहिनीको कानुनी अधिकारको हनन गरेको कुरा स्विकाऱ्‍यो। अजरबैजान सरकार हाम्रा भाइहरूलाई क्षतिपूर्तिस्वरूप २२,१४६ अमेरिकी डलर (करिब २६,००,००० नेपाली रुपियाँ) दिन राजी भयो। मानवअधिकारसम्बन्धी युरोपेली अदालतले गरेका यी फैसलाहरूमा अजरबैजान सरकारले आफ्नो गल्ती स्वीकार गरेको कुरा स्पष्ट झल्कियो।

भाइ भालिएभ निजी घरमा सभा सञ्चालन गर्दै

भालिएभ र अरूविरुद्ध अजरबैजान मुद्दा मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा २०११ मा दायर गरिएको थियो। यो मुद्दा गान्जा सहरका हाम्रा दाजुभाइहरूसित सम्बन्धित थियो। वर्षौँदेखि गान्जा सहरका अख्तियारवालाहरूले हाम्रो सङ्‌गठनलाई कानुनी रूपमा दर्ता गर्न इन्कार गर्दै आएको थियो। त्यसैले पुलिस अफिसरहरूले हाम्रो धार्मिक सभाहरूमा बारम्बार भाँजो हाल्थे, उपस्थित भएकाहरूलाई गिरफ्तार गर्थे र कसै-कसैलाई त भारी जरिबाना तिर्न समेत लगाउँथे। हाम्रो एक जना भाइलाई थुप्रै चोटि दोषी ठहर गरेर जरिबाना तिर्न लगाइयो। उहाँले पटक-पटक गरेर जम्माजम्मी ११,३७५ अमेरिकी डलर (करिब १३,३५,००० नेपाली रुपियाँ) तिर्नुपरेको थियो। भारी रकम जरिबाना तिर्न नसकेकोले केही दाजुभाइ दिदीबहिनीलाई त गिरफ्तारसमेत गरियो।

सन्‌ २०१३ मा हाम्रा भाइहरूले मानवअधिकारसम्बन्धी युरोपेली अदालतमा यहोवाका साक्षीहरूको धार्मिक समाजविरुद्ध अजरबैजान भन्‍ने दोस्रो मुद्दा दायर गरे। किनकि अजरबैजान सरकारले हाम्रा साहित्यहरू सीमित सङ्‌ख्यामा मात्र आयात गर्न दिन्थ्यो।

हुनत सरकारले अझै पनि गान्जा सहरमा यहोवाका साक्षीहरूको समाजलाई कानुनी रूपमा दर्ता गर्ने अनुमति दिइसकेको छैन। तर त्यहाँको अवस्था पहिलाभन्दा धेरै राम्रो छ। हालैका वर्षहरूमा हाम्रा भाइहरूले कुनै बाधा-अवरोधविना आफ्नो घरमा स-साना समूहहरूमा सभा गर्दै आएका छन्‌। हुनत अहिले पनि सरकारले जाँच गरेपछि मात्र हाम्रा साहित्यहरू आयात गर्न पाइन्छ। तर सरकारले हाम्रा भाइहरूलाई पर्याप्त मात्रामा साहित्य आयात गर्ने अनुमति दिएको छ।

अजरबैजानको यहोवाका साक्षीहरूको जन सूचना एकाइमा मदत गर्नुहुने भाइ किरिल स्तेपानोभ यसो भन्‍नुहुन्छ: “मानवअधिकारसम्बन्धी युरोपेली अदालतले गरेको यस महत्त्वपूर्ण फैसलाले अजरबैजानको गान्जा र अरू सहरहरूमा यहोवाका साक्षीहरूको समाजलाई कानुनी रूपमा दर्ता गर्ने प्रक्रियालाई टेवा पुऱ्‍याउनेछ भनेर हामीले आशा गरेका छौँ। साथै सरकारी जाँचपछि मात्र हाम्रा साहित्यहरू आयात गर्न पाउने नियमलाई यस फैसलाले खारेज गर्नेछ भनेर पनि हामीले आशा गरेका छौँ।”

यहोवाले साथ दिनुभएकोमा हामी उहाँप्रति आभारी छौँ। हाम्रो पक्षमा सुनाइएका यी फैसलाहरू ‘परमेश्‍वरका जनहरूविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ’ भन्‍ने कुराको थप प्रमाण हो।​—⁠यसैया ५४:⁠१७.