सीधै सामग्रीमा जाने

(बायाँ) एउटा परिवार आफ्नो मण्डलीका भाइबहिनीको लागि प्रोत्साहनदायी शब्दहरू र शास्त्रपदहरू लेखिएको कार्ड देखाउँदै। (माथि) एक अग्रगामी बहिनी भिडियो कन्फ्रेन्समार्फत बाइबल अध्ययन सञ्चालन गर्दै। (तल) एउटा परिवार भिडियो कन्फ्रेन्समार्फत सभामा उपस्थित हुँदै

अप्रिल ९, २०२०
इटाली

महामारीको बाबजुद इटालीका हाम्रा भाइबहिनी आध्यात्मिक रूपमा बलियो रहिरहन्छन्‌

महामारीको बाबजुद इटालीका हाम्रा भाइबहिनी आध्यात्मिक रूपमा बलियो रहिरहन्छन्‌

कोभिड-१९ महामारीले सबैभन्दा बढी प्रभावित एउटा देश इटाली हो। परिचालक निकायको निर्देशनमा इटाली शाखा कार्यालयले हाम्रा भाइबहिनीलाई व्यावहारिक र आध्यात्मिक मदत दिइरहेको छ।

इटालीमा तीन वटा प्रकोप राहत समितिले (डि आर सि) उत्तरी, मध्य र दक्षिणी इलाकाका भाइबहिनीको हेरचाह गरिरहेको छ। मण्डलीका भाइबहिनीलाई के-कस्ता कुराहरूको आवश्‍यकता छ भनी स्थानीय एल्डरहरूले क्षेत्रीय निरीक्षकहरूलाई बताउँछन्‌ अनि क्षेत्रीय निरीक्षकहरूले प्रकोप राहत समितिका भाइहरूलाई त्यसबारे तुरुन्तै जानकारी दिन्छन्‌।

स्थानीय एल्डरहरूले प्रकाशकहरूलाई व्यावहारिक मदत दिनुको अलावा आध्यात्मिक तालिका कायम राख्न पनि मदत गरिरहेका छन्‌। महामारीले गर्दा सबैभन्दा सुरुमा प्रभावित सहरहरूमध्ये एउटा सहर मिलान हो। त्यस सहरनजिकै सेवा गर्ने क्षेत्रीय निरीक्षक भिलियम बोसेली यसो भन्छन्‌: “भाइबहिनी घरमै बस्नुपरे तापनि उहाँहरूले एकअर्कासित नियमित रूपमा सम्पर्क गरिरहनुभएको छ। साथै भिडियो कन्फ्रेन्समार्फत सभाहरूमा भाग लिएर उहाँहरूले एकअर्कालाई प्रोत्साहन दिन र टिप्पणी दिन सक्नुभएको छ। वृद्ध भाइबहिनीले समेत भिडियो कन्फ्रेन्समार्फत सभाहरूबाट लाभ उठाइरहनुभएको छ। मेरो विचारमा मण्डलीका भाइबहिनी पहिलाभन्दा झन्‌ धेरै एकताबद्ध हुनुभएको छ!”

साथै बेग्लै धर्म मान्‍ने थुप्रै आफन्त पनि साक्षी परिवारसित हाम्रा सभाहरूमा बस्न थालेका छन्‌। एउटी बहिनी भन्छिन्‌: “मेरो श्रीमान्‌ कहिल्यै सभा जान मान्‍नुहुन्‍न थियो। तर अहिले त उहाँ घरैबाट सभामा उपस्थित हुन सक्नुहुन्छ ... अनि उहाँलाई हाम्रा सभाहरू खुबै रमाइलो लागिरहेको छ!”

हाम्रा भाइबहिनीले साक्षी दिने हरेक मौकाको सदुपयोग गरिरहेका छन्‌। जस्तै: एउटी बहिनी एक जना वृद्ध दिदीलाई ह्वीलचेयर पुऱ्‍याउन तिनको घरतर्फ गइरहेको बेला तीन जना प्रहरीले उनको गाडीलाई रोके। ती बहिनीले आफू एक जना वृद्ध दिदीलाई मदत गर्न जान लागेको कुरा बताइन्‌ र यात्राको अनुमति पत्र देखाइन्‌। त्यसपछि उनले तिनीहरू तीनै जनालाई हाम्रो भविष्य कस्तो होला?कहिल्यै दुःखकष्टको अन्त होला? भन्‍ने पर्चाहरू देखाइन्‌। अनि प्रहरीहरूले ती पर्चाहरू खुसीसित लिए। उनी ह्वीलचेयर छोडेर फर्कँदा प्रहरीहरूले उनलाई फेरि पनि रोके। यसपालि भने प्रहरीहरूले उनलाई धन्यवाद दिए अनि बाइबलले दिने आशाबारे थप जानकारी मागे। तिनीहरूले अरू दुई जना प्रहरीलाई पनि उनको कुरा सुन्‍न बोलाए। हाम्री बहिनीले तिनीहरूलाई jw.org वेबसाइट देखाइन्‌। एक जना प्रहरीले उनलाई यसो भने: “धन्यवाद म्याडम, आजको दिन साँच्चै विशेष भयो!”

भाइ बोसेली यसो भन्छन्‌, “मेरो एउटा जिम्मेवारी भाइबहिनीलाई प्रोत्साहन र सान्त्वना दिनु हो तर उहाँहरू आध्यात्मिक रूपमा बलियो रहिरहनुभएको र यहोवाको सेवामा लागिरहनुभएको देख्दा मैले उल्टै उहाँहरूबाट प्रोत्साहन पाइरहेको छु। उहाँहरूले यहोवालाई मनैदेखि निष्कपट प्रेम गरेको देख्दा म आँसु थाम्नै सक्दिनँ। उहाँहरू साँच्चै यहोवाले हामीलाई दिनुभएको विशेष उपहार हुनुहुन्छ!”

गाह्रो परिस्थितिको बाबजुद हाम्रा भाइबहिनी आध्यात्मिक रूपमा बलियो रहिरहेका छन्‌ र उनीहरू ‘यी सङ्‌कष्टहरूले गर्दा ढलपल’ भएका छैनन्‌ भन्‍ने कुरा प्रस्ट छ।—१ थिस्सलोनिकी ३:२, ३.