सीधै सामग्रीमा जाने

चिलीको सान्तियागोमा रहेको सर्वोच्च अदालतको भवन

डिसेम्बर ३१, २०१९
चिली

चिलीको सर्वोच्च अदालतले बिरामीको अधिकारको पक्षमा फैसला सुनाउँछ

चिलीको सर्वोच्च अदालतले बिरामीको अधिकारको पक्षमा फैसला सुनाउँछ

डिसेम्बर १३, २०१९ मा चिलीको सर्वोच्च अदालतले एक जना यहोवाको साक्षीले आफ्नो धार्मिक विश्‍वासको आधारमा रगत लिन इन्कार गर्नु उनको अधिकारको कुरा हो भनेर फैसला सुनायो। सर्वोच्च अदालतको यस फैसलाले तल्लो अदालतको निर्णयलाई खारेज गरिदियो।

डिसेम्बर १३, २०१९ मा अदालतले उनको पक्षमा सुनाएको फैसलाको प्रति देखाउँदै बहिनी रियोस

यो मुद्दा हाम्री एक जना बहिनी पोलोनिया रियोसको हो। रगत लिन इन्कार गरेकीले उनको उपचार भइरहेको अस्पतालले बारम्बार उनको शल्यक्रिया गर्न अस्वीकार गरेको थियो। त्यसैले उनी उक्‍त अस्पतालविरुद्ध मुद्दा दायर गर्न बाध्य भइन्‌। अगस्त ६, २०१९ मा सान मिगेल पुनरावेदन अदालतले उक्‍त अस्पतालको पक्षमा फैसला सुनायो।

त्यसपछि बहिनी रियोसले चिलीको सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिन्‌ र त्यस अदालतले तिनको पक्षमा फैसला सुनायो। आफ्नो निर्णय आफै गर्न सक्ने अवस्थामा भएका बिरामीहरूले आफ्नो विश्‍वासको कारण कुनै खास उपचार अस्वीकार गर्न पाउने अधिकारको पक्षमा सर्वोच्च अदालतले फैसला सुनाएको यो पहिलो पटक हो। विगत २५ वर्षदेखि अदालतले बिरामीको ज्यान जोखिममा छ भने उक्‍त बिरामी डाक्टरको सुझावअनुसार जुनसुकै उपचारविधि अपनाउन तयार हुनुपर्छ भन्‍ने फैसला सुनाउँदै आएको थियो।

सर्वोच्च अदालतले सुनाएको फैसलाको केही अंश यसप्रकार छ: ‘वादी पोलोनिया रियोस शल्यक्रियापछि स्वस्थ र आनन्दित जीवन बिताउन चाहिन्छन्‌। तर विगत तीन वर्षदेखि उनी शल्यक्रियाको पर्खाइमा छिन्‌। उनले सोचविचारै नगरी रगत नलिने निर्णय गरेकी होइनन्‌ न त चिकित्सकहरूलाई उपयुक्‍त उपचार गर्नदेखि बाधा पुऱ्‍याउनु नै उनको मनसाय हो। बरु उनले आफ्नो धार्मिक विश्‍वासको कारण रगत लिन इन्कार गरेकी हुन्‌। अनि हामीले यस निर्णयको सम्मान गर्नुपर्छ किनकि आफ्नो अन्तस्करणअनुसार निर्णय गर्न पाउनु र मर्यादित ढङ्‌गमा उपचार पाउनु उनको अधिकारको कुरा हो। साथै स्वास्थ्य परीक्षणका रिपोर्टहरूले रगतविना नै उनको शल्यक्रिया गर्न सकिन्छ भनेर देखाएको छ। यस कुरालाई विचार गर्दा उनको निर्णयलाई सम्मान गर्नुपर्ने थप कारण पाउँछौँ।’ 

यस कानुनी जितमा हामी चिलीका हाम्रा दाजुभाइ दिदीबहिनीहरूसँगै रमाउँछौँ।—१ कोरिन्थी १२:२६.