नोभेम्बर १५, २०१९
नेपाल
झूटा अभियोगमा पक्राउ परेका नेपालका दुई यहोवाका साक्षी तारिखमा रिहा
नोभेम्बर ४, २०१९ मा दुई जना बहिनीहरू, तीर्थ माया घले र पुष्पा घिमिरेलाई तारिखमा रिहा गरियो। आफ्नो आस्थाको अभ्यास गरेको कारण अदालतले सुनाएको तीन महिनाको जेल सजायअन्तर्गत यी बहिनीहरूले एक महिना काटिसकेका छन्। आफ्नो आस्थाको अभ्यास गर्न पाउने अधिकारलाई नेपालको र अन्तरराष्ट्रिय कानुनले सुनिश्चित गरेको छ।
यसको ठ्याक्कै एक वर्षअघि नोभेम्बर २०१८ मा यी दुई बहिनीलाई सडकमा बाइबलप्रति चासो देखाएका व्यक्तिहरूसँग कुराकानी गरेको आरोपमा पक्राउ गरिएको थियो। प्रहरी हिरासतमा १३ दिन बिताएपछि यी बहिनीहरू जनही १ लाख रुपैयाँ बराबरको चर्को धरौटी तिरेर रिहा भए। तर स्थानीय अख्तियारवालाहरूले यी बहिनीहरूविरुद्ध अनुसन्धान जारी राखे।
डिसेम्बर १०, २०१८ मा यी बहिनीहरूविरुद्ध फौजदारी मुद्दा सुरु भयो र करिब दस महिनासम्म चल्यो। सेप्टेम्बर २५, २०१९ मा रुपन्देही जिल्ला अदालतले यी दुवै बहिनीलाई दोषी ठहर गर्दै जनही तीन महिनाको जेल सजाय र जनही २,५०० रुपैयाँ जरिबानाको फैसला सुनायो।
धार्मिक पत्रपत्रिका बोकेको र अरूलाई वितरण गरेको कुरालाई धर्म परिवर्तन गराएको भनी अदालतले यी बहिनीहरूलाई दोषी ठहर गऱ्यो। नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र हो र नेपालले नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रमा हस्ताक्षर पनि गरेको छ। त्यसैले नागरिकहरूलाई आफ्नो धर्म परिवर्तन गर्न अनि सार्वजनिक र व्यक्तिगत रूपमा आफ्नो धार्मिक आस्थाको अभ्यास गर्न दिनु सरकारको दायित्व हो। बहिनी घले र बहिनी घिमिरेको कुरा गर्नुपर्दा उहाँहरूले कसैलाई पनि आफ्नो धर्म परिवर्तन गर्न जबरजस्ती गर्नुभएको थिएन बरु बाइबलको कुरा सुन्न चाहने व्यक्तिहरूलाई धार्मिक पत्रपत्रिका मात्र दिनुभएको थियो। त्यसैले हाम्रा बहिनीहरूको पक्षमा मुद्दा लडिरहेका वकिलहरूले यसलाई आधार मानेर अक्टोबर ३१, २०१९ मा उच्च अदालतमा पुनरावेदन दायर गरे। उच्च अदालतले पुनरावेदनको प्रक्रिया चलिरहेको बेला बहिनीहरू जेलमा बस्नु आवश्यक छैन भन्ने निर्णय सुनायो। यसरी उहाँहरू उच्च अदालतबाट अन्तिम फैसला नभएसम्मका लागि जेलबाट रिहा हुनुभयो।
पुनरावेदन अदालतको फैसला कुरिरहेका बहिनी घले र बहिनी घिमिरेलाई यहोवाले आफ्नो पवित्र शक्ति दिइरहून् र त्यो शक्तिले गर्दा उहाँहरू बल, आनन्द र शान्तिले भरिऊन् भनेर हामी प्रार्थना गर्छौँ।—रोमी १५:१३.