सीधै सामग्रीमा जाने

बहिनी ओलेना आफ्नो घरअगाडि। क्षेप्यास्त्रले उनको घरमा ठूलो क्षति पुऱ्‍याएको थियो। त्यतिबेला भाइबहिनीहरू उनलाई मदत दिन तुरुन्तै आए

जुलाई ४, २०२२
युक्रेन

अपडेट #१० | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

“साहसी, मायालु र भरोसायोग्य” दाजुभाइ दिदीबहिनी

अपडेट #१० | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

युक्रेनका दाजुभाइ दिदीबहिनीले आफ्ना सङ्‌गी उपासकहरूलाई साथ दिन छोडेका छैनन्‌। तिनीहरूले निरन्तर एकअर्कालाई आत्मत्यागी प्रेम देखाइरहेका छन्‌।

बहिनी ओलेना ८१ वर्ष पुगिन्‌। जून ६ मा उनको घरभन्दा केही मिटर पर एउटा क्षेप्यास्त्र प्रहार भयो। त्यस क्षेप्यास्त्रले उनको छिमेकीको घर तहसनहस पाऱ्‍यो र जमिनमा सात मिटर गहिरो खाडल बनायो। उक्‍त विस्फोटमा बहिनी ओलेनाको घरमा पनि ठूलो क्षति पुग्यो।

उनी भन्छिन्‌: “म सुतिरहेको बेला घरको भित्ता मेरो टाउकोनजिकै ढल्यो। धुवाँको बाक्लो बादलले गर्दा चारैतिर अन्धकार छायो। सिसा र ढुङ्‌गाका टुक्राहरू जताततै छरिएका थिए। यहोवाको कृपाले धन्‍न मेरो जीवनचाहिँ जोगियो।” विष्फोटको केही मिनेटमा नै स्थानीय मण्डलीका दाजुभाइ दिदीबहिनी उनको घरमा आए। तिनीहरूमध्ये विष्फोटले गर्दा आफ्नै घरमा ठूलो क्षति पुगेको एक भाइ पनि थिए। बहिनी ओलेना भन्छिन्‌: “जब भाइबहिनी यहाँ आइपुग्नुभयो, उहाँहरू यत्ति आश्‍चर्यचकित हुनुभयो कि केही बोल्नै सक्नुभएन। उहाँहरू आइदिनुभएकोले मैले निकै प्रोत्साहन पाएँ। उहाँहरू सँगै हुनुभएकोले धेरै सजिलो भयो।”

सर्ही नामका एक एल्डर बेलाबेलामा मण्डलीका जवान भाइबहिनीसित ओलेना बहिनीलाई भेट्‌न गइरहन्छन्‌। तिनी भन्छन्‌: “ओलेना दिदीको घरनजिकै विष्फोट भयो भन्‍ने खबर पाउँदा मलाई असाध्यै डर र चिन्ता लाग्यो। उहाँलाई त्यति गम्भीर चोटपटक नलागेको देखेपछि मात्र अलि ढुक्क महसुस गरेँ। रोचक कुरा, आफ्नो भत्केको घरबाट उहाँले भाइहरूलाई निकाल्न आग्रह गर्नुभएको पहिलो कुरा भनेको आफूले केही दिनअघि मात्र पाएको बाइबलआधारित प्रकाशन थियो।”

खुसीको कुरा, बहिनी ओलेनाका आफन्तहरूले उनको लागि नयाँ घर खोजिदिए। मण्डलीका भाइबहिनीले अहिले पनि उनलाई व्यावहारिक मदत दिइरहेका छन्‌ र एल्डरहरू पनि दैनिक रूपमा उनीसित कुराकानी गर्छन्‌। भाइबहिनीले उनको लागि श्रवण यन्त्रको पनि प्रबन्ध मिलाए, जसले गर्दा ओलेना बहिनीलाई सभाहरूबाट लाभ उठाउन निकै मदत पुगेको छ। उनी भन्छिन्‌: “कहिलेकाहीँ म निस्सहाय महसुस गर्छु तर सभाहरूबाट निकै बल पाउँछु। मेरा दाजुभाइ दिदीबहिनी मलाई नियमित रूपमा फोन गर्नुहुन्छ। म उहाँहरूप्रति धेरै कृतज्ञ छु।”

द्वन्द्व चर्किरहेको समयमा एक दम्पतीले अरू २०० प्रकाशकसँगै सभाभवनको भुईँतलामा शरण लिएका थिए। पत्नी यसो भन्छिन्‌: “मायालु एल्डरहरूले देखाउनुभएको चासो र हेरचाहले मेरो निकै मन छोयो। उहाँहरूलाई देख्दा मैले दाउदलाई सम्झेँ, जसले आफ्ना भेडालाई सिंह र भालुबाट जोगाउन आफ्नो ज्यान नै जोखिममा हालेका थिए। सभाभवनमा हामीसँगै भएका एल्डरहरूले पनि हाम्रो लागि खानेकुरा, पानी र बत्तीको लागि पेट्रोलको प्रबन्ध मिलाउन आफ्नो ज्यान नै जोखिममा हाल्नुभएको थियो। त्यसले गर्दा हामीले मण्डलीको सभा र क्षेत्र सेवाको सभा सञ्चालन गर्न सक्यौँ। निरन्तर बम विष्फोट भइरहेको समयमा पनि ती एल्डरहरू घरमै भएका भाइबहिनीलाई खानेकुरा र पानी पुऱ्‍याउन अनि प्रोत्साहन दिन नियमित रूपमा जाने गर्नुहुन्थ्यो। उहाँहरूको लागि मेरो मनमा गहिरो आदर छ। युद्धअघि मैले उहाँहरूलाई शिक्षक र प्रचारकको रूपमा मात्र हेरेकी थिएँ तर अहिले भने उहाँहरू मेरो लागि भरोसायोग्य गोठालो हुनुहुन्छ। यी साहसी, मायालु र भरोसायोग्य दाजुभाइप्रति म निकै आभारी छु।”

युक्रेनको एउटा मण्डलीका प्रकाशकहरूले राहतकार्यमा नेतृत्व लिइरहेका दाजुभाइप्रति कृतज्ञता व्यक्‍त गर्दै युक्रेन शाखामा पत्र पठाए। तिनीहरूले लेखेका थिए: “हाम्रो मन कृतज्ञताले ओतप्रोत भएको छ। यहोवा सङ्‌गी उपासकहरू चलाएर कसरी ख्याल राख्नुहुन्छ भनेर देख्दा हामी आश्‍चर्यचकित भएका छौँ। येसुले भन्‍नुभएको यो कुरा हामी आफैले अनुभव गरेका छौँ: ‘तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।’”—युहन्‍ना १३:३५.

जून २१, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट। तल दिइएका तथ्याङ्‌कहरू स्थानीय भाइहरूले तयार पारेका रिपोर्टहरू हुन्‌। तर युक्रेनका सबै क्षेत्रमा सम्पर्क गर्न गाह्रो भइरहेको छ, त्यसैले यी सङ्‌ख्या अझ धेरै हुन सक्छ:

हाम्रा भाइबहिनीहरूको अवस्था

  • ४२ जना प्रकाशकको मृत्यु भयो

  • ८३ जना प्रकाशक घाइते भए

  • ३१,१८५ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे

  • ४९५ वटा घर ध्वस्त भए

  • ५५७ वटा घरमा ठूलो क्षति भयो

  • १,४२९ वटा घरमा हल्का क्षति भयो

  • ५ वटा सभाभवन ध्वस्त भए

  • ८ वटा सभाभवनमा ठूलो क्षति भयो

  • ३४ वटा सभाभवनमा हल्का क्षति भयो

राहतकार्य

  • युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ

  • प्रकोप राहत समितिहरूले ५२,३४८ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलाए

  • २३,४३३ जना भाइबहिनी अरू देशमा भागेका छन्‌ र त्यहाँका भाइबहिनीले तिनीहरूलाई मदत गर्दै छन्‌