सीधै सामग्रीमा जाने

युक्रेनमा दुई प्रकाशक सार्वजनिक साक्षीकार्यमा भाग लिँदै

जुलाई १८, २०२२
युक्रेन

अपडेट #११ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

युद्धग्रस्त देशमा “असल काम” गर्दै

अपडेट #११ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

युक्रेनमा सार्वजनिक साक्षीकार्य पुनः सुचारु हुँदा भाइबहिनीहरू निकै खुसी छन्‌ र राम्रो नतिजा हासिल गरेका छन्‌। क्षेत्रीय निरीक्षकहरू र स्थानीय एल्डरहरूको रिपोर्टअनुसार धेरै मानिसले हाम्रो ट्रली फेरि देख्दा सकारात्मक प्रतिक्रिया देखाएका छन्‌ र आफ्नो इलाकामा केही समय यहोवाका साक्षीहरू नदेख्दा न्यास्रो लागेको समेत बताएका छन्‌।

ओडेसा क्षेत्रको सर्हिभ्का मण्डलीमा सेवा गर्ने टाट्याना बहिनी महामारीअघि साक्षी दिएका व्यक्‍तिहरूलाई पुनःभेट गर्न गइन्‌। तिनी भन्छिन्‌: “हाम्रो साक्षीकार्य फेरि सुरु गर्ने प्रयासमाथि यहोवाले आशिष्‌ दिँदै हुनुहुन्छ भनेर मैले महसुस गरेँ।” एकपटक तिनी महामारीअघि बाइबल अध्ययनको प्रस्ताव अस्वीकार गरेकी एक महिलालाई भेट्‌न गइन्‌। यसपटक भने उनी आध्यात्मिक विषयहरूमा छलफल गर्न र बाइबल अध्ययन गर्न तुरुन्तै राजी भइन्‌। टाट्याना भन्छिन्‌: “मैले पहिला पुनःभेट गरेको सबैलाई फेरि भेटेर बाइबल अध्ययनको प्रस्ताव राख्ने योजना बनाएकी छु।”

एभेनी र लिलिया बहिनी मारिउपोल सहरमा बस्थे। युद्धले गर्दा तिनीहरू त्यहाँबाट भाग्नुपरेको थियो र अहिले युक्रेनको सुरक्षित इलाकामा बस्दै छन्‌। तिनीहरूले साक्षीकार्यमा नियमित रूपमा भाग लिँदै छन्‌। यसरी साक्षीकार्यमा भाग लिँदा तिनीहरूले आफ्नो समस्यामा बढ्‌तै ध्यान नदिन मदत पाएको कुरा बताए। तिनीहरूले यसो भने: “हाम्रो जीवन फेरि पहिलाको जस्तो हुँदैन भन्‍ने कुरा हामीलाई थाह थियो। नयाँ तरिकामा जीवन सुरु गर्न धेरै गाह्रो हुन्छ तर मदत गर्न यहोवाको हात छोटो भएको छैन भन्‍ने कुरा सधैँ सम्झन्थ्यौँ। हामीले उहाँको पवित्र शक्‍तिको मदत अनुभव गर्न सक्यौँ। भाइबहिनीहरूले हामीलाई नयाँ ठाउँमा घुलमिल हुन र सामान्य दिनचर्यामा फर्कन मदत गर्नुभयो।”

देशको विभिन्‍न क्षेत्रमा हाम्रा भाइबहिनीले आफ्नो असल कामद्वारा राम्रो साक्षी दिँदै छन्‌। जस्तै, मिकोलाइभ सहरका केही भाइहरूले सर्वसाधारणले प्रयोग गर्ने सरसामान राख्न तयार पारिएको गोदाम मर्मत गर्न र व्यवस्थित बनाउन अन्तरराष्ट्रिय मानवीय राहत सङ्‌गठनलाई सहयोग गरे। भाइहरूले पानीको पाइप मर्मत गरे, तख्ताहरू तयार पारे र कैयौँ टन सामानहरू मिलाउन मदत गरे। मानवीय राहत सङ्‌गठनको प्रतिनिधि त्यहाँ निरीक्षण गर्न आउँदा भाइहरूको काम देखेर तिनको आँखाभरि आँसु आयो। तिनी भन्छिन्‌: “मैले काम यति राम्रो र व्यवस्थित होला भनेर सोचेकी पनि थिइनँ।”

युक्रेनका हाम्रा भाइबहिनीहरूले निकै कठिन परिस्थितिको सामना गरिरहेका छन्‌। तर साक्षीकार्यमा सक्रिय भई भाग लिँदा र “असल काम” गर्न अघि बढ्‌दा तिनीहरू आनन्दित हुन सकेका छन्‌।—गलाती ६:९.

जुलाई १३, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट। तल दिइएका तथ्याङ्‌कहरू स्थानीय भाइहरूले तयार पारेका रिपोर्टहरू हुन्‌। तर युक्रेनका सबै क्षेत्रमा सम्पर्क गर्न गाह्रो भइरहेको छ, त्यसैले यी सङ्‌ख्या अझ धेरै हुन सक्छ:

हाम्रा भाइबहिनीहरूको अवस्था

  • ४२ जना प्रकाशकको मृत्यु भयो

  • ९७ जना प्रकाशक घाइते भए

  • २८,६८३ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे

  • ५२४ वटा घर ध्वस्त भए

  • ५८८ वटा घरमा ठूलो क्षति भयो

  • १,५५४ वटा घरमा हल्का क्षति भयो

  • ५ वटा सभाभवन ध्वस्त भए

  • १० वटा सभाभवनमा ठूलो क्षति भयो

  • ३६ वटा सभाभवनमा हल्का क्षति भयो

राहतकार्य

  • युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ

  • प्रकोप राहत समितिहरूले ५२,९४७ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलाए

  • २३,८६३ जना भाइबहिनी अरू देशमा भागेका छन्‌ र त्यहाँका भाइबहिनीले तिनीहरूलाई मदत गर्दै छन्‌