सीधै सामग्रीमा जाने

जुलाई २३, २०२२ मा युक्रेनमा दुई जनाले बप्तिस्मा गरे

अगस्त १२, २०२२
युक्रेन

अपडेट #१२ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

“चेला बनाउने कामलाई युद्धले समेत रोक्न सक्दैन”

अपडेट #१२ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

जुलाई २३ देखि ३१ सम्ममा युक्रेनमै भएका र युद्धले गर्दा अरू देशहरूमा शरण लिइरहेका प्रकाशकहरूले २०२२ को “शान्ति कायम गरिरहौँ!” अधिवेशनमा बप्तिस्मा गरे। अगस्त २ सम्मको रिपोर्टअनुसार युक्रेनका १,११३ प्रकाशकले बप्तिस्मा गरे। युक्रेनमै बसिरहेका एक भाइ यसो भन्छन्‌: “चेला बनाउने कामलाई युद्धले समेत रोक्न सक्दैन किनभने येसुले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: ‘म सधैँभरि तिमीहरूसितै छु।’”—मत्ति २८:२०.

यी अनुभवहरू सुनाउन पाउँदा हामी धेरै खुसी छौँ।

नतालिया बहिनी ६३ वर्षकी भइन्‌ र तिनी लुहान्स्क क्षेत्रको क्रेमिनामा बस्छिन्‌। तिनी र तिनकी दुई छोरीले १९९० तिर यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाले। तिनका दुई छोरीले आध्यात्मिक प्रगति गर्दै गए र बप्तिस्मा पनि गरे तर तिनले भने गरिनन्‌। युद्ध सुरु हुँदा एक साक्षी परिवारले नतालियालाई आफूसँगै सुरक्षित इलाकामा लगे। तिनलाई इभानो-फ्रानकिभ्स्कमा भएको सभाभवनमा शरण दिइयो।

नतालिया भन्छिन्‌: “छिनछिनमै बम विस्फोट भएको सुन्दा-सुन्दा मैले मुस्कुराउनै बिर्सिसकेकी थिएँ। तर मैले भाइबहिनीहरूबाट न्यानो माया पाएँ। मैले त्यस्तो माया र चासो पाउँछु भनेर सोचेकी पनि थिइनँ। त्यसपछि यहोवाप्रतिको मेरो प्रेम फेरि जाग्यो। मैले बाइबल निकै पढ्‌न थालेँ अनि एक बहिनीले मलाई सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबबाट बाइबल अध्ययन सुरु गर्ने प्रस्ताव राखिन्‌। उनी मेरो लागि यहोवाकै उपहार साबित भइन्‌।” तिनी अझै यसो भन्छिन्‌: “बप्तिस्मा गरेर यहोवाको साक्षी हुन पाएकोमा म असाध्यै खुसी छु। म ‘परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू’ भन्‍ने सबैभन्दा ठूलो आज्ञाअनुसार जीवन बिताउन चाहन्छु।”—मत्ति २२:३७.

ओलिया, पोल्याण्ड; तिनले “शान्ति कायम गरिरहौँ!” अधिवेशनको शीर्षक हातैले लेखिएको कागज समाइरहेकी छिन्‌

चरकासीमा बस्ने ओलिया युद्ध सुरु हुँदा बप्तिस्मा अप्राप्त प्रकाशक थिइन्‌। मार्च ६ मा उनी आफ्नी छोरी अनि नातिनीसँग पोल्याण्डमा भाग्नुपरेको थियो। उनी भन्छिन्‌: “हामी त्यहाँ पुग्दा हामीसँग झटपट झोलाबाहेक केही थिएन तर भाइबहिनीले हामी तीनै जनाको ख्याल राख्नुभयो। यी कुराहरू देख्दा यहोवाको सङ्‌गठन एकताबद्ध छ र उहाँले नै आफ्नो पवित्र शक्‍तिद्वारा सङ्‌गठनलाई डोऱ्‍याउँदै हुनुहुन्छ भनेर म विश्‍वस्त हुन सकेँ। यहोवालाई जीवन समर्पण गर्ने मेरो इच्छा अझ बलियो भयो। उहाँले मलाई निकै गाह्रो अवस्थामा मदत गर्नुभयो। अब म पनि उहाँको सेवा गर्न र कृतज्ञता व्यक्‍त गर्न चाहन्छु।”

डोनेट्‌स्क क्षेत्रमा बस्ने युलिया १८ वर्षकी भइन्‌। उनी साक्षी परिवारमा हुर्किएकी थिइन्‌ तर बप्तिस्मा भने गरेकी थिइनन्‌। युद्ध सुरु भएको केही समयपछि आफूले अनुभव गरेको घटनाबारे उनी यसो भन्छिन्‌: “म जमिनमा लडिरहेकी थिएँ अनि जुनसुकै बेला पनि मेरो ज्यान जान सक्थ्यो। हामी बस्ने टोल पूरै ध्वस्त भइसकेको थियो तर हामी भने जोगियौँ। यस्तो अप्रिय घटनापछि मैले यहोवालाई अझ धेरै प्रार्थना गरेँ अनि उहाँका गुणहरूमा मनन गरेँ, जसले गर्दा उहाँसित अझ नजिक हुन सकेँ। साथै मनबाट आफ्नो जीवन समर्पण गर्ने कि नगर्ने भन्‍ने शङ्‌का पनि हट्यो। यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभएर उहाँ मसित कत्ति नजिक हुनुहुन्छ भनेर देखाउनुभयो। पहिला मसित यहोवाको ज्ञान मात्र थियो तर अहिले म उहाँलाई प्रेम गर्छु।” युलियाले जुलाई २३ मा बप्तिस्मा गरिन्‌।

एघार वर्षका डेभिड जर्मनीमा आफ्नो बप्तिस्माअघि

युद्ध सुरु भएपछि ११ वर्षीय डेभिड आफ्नो परिवारसँगै जर्मनीमा भाग्नुपरेको थियो। तिनी नौ वर्षको छँदा नै बप्तिस्मा अप्राप्त प्रकाशक भइसकेका थिए। अहिले तिनी आफ्नो आध्यात्मिक लक्ष्यतर्फ अघि बढ्‌दै छन्‌। तिनी यसो भन्छन्‌: “म यहोवालाई प्रेम गर्छु अनि उहाँको साथी बन्‍न चाहन्छु। त्यसैले बप्तिस्मा गर्ने निर्णय गरेँ। बप्तिस्माको बेला यहोवाको ठूलो परिवारको सदस्य हुन पाएकोमा मैले खुसीको आँसु थाम्नै सकिनँ। मलाई यहोवाबारे अनि मानिसजातिको लागि उहाँले राख्नुभएको उद्देश्‍यबारे अरूलाई बताउन मन पर्छ। त्यसैले मेरो अबको लक्ष्य भनेको अग्रगामी सेवा गर्नु हो। मलाई मण्डलीका भाइबहिनीहरूको सेवा गर्न पनि मनपर्छ। त्यसकारण म पछि सहायक सेवक बन्‍न चाहन्छु। मेरो बेथेल सेवा गर्ने लक्ष्य पनि छ। सन्‌ २०१८ मा लभिभमा भएको शाखा कार्यालयको भ्रमण गरेदेखि नै ममा बेथेल जाने इच्छा जागेको थियो।”

पहिले किभमा बस्ने ओलेना २०११ मा बप्तिस्मा अप्राप्त प्रकाशक भइसकेकी थिइन्‌ तर उनी दस वर्षसम्म निष्क्रिय भइन्‌। सन्‌ २०२० मा मण्डलीका एल्डरहरूले उनलाई सम्पर्क गरेर यहोवाकहाँ फर्कनुहोस्‌ भन्‍ने पुस्तिका दिए। उनी भन्छिन्‌: “मैले फेरि बाइबल अध्ययन गर्न र सभाहरू जान सुरु गरेँ। तर त्यसको केही समयपछि नै मैले अध्ययन गर्न र सभा जान छोडिदिएँ। युद्धको दौडान यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो। त्यसपछि यहोवाले मलाई सुरक्षा, माया अनि मनोशान्ति दिनुभएको महसुस गरेँ। म रोमानियामा भागेँ अनि त्यहाँ साक्षीहरूलाई भेटेँ। भाइबहिनीहरूको माया र हेरचाह पाउँदा यहोवाले मलाई न्यानो सिरक ओढाइदिनुभएको जस्तै लाग्यो।” ओलेनाले जुलाई २४ मा बप्तिस्मा गरिन्‌। उनी यसो पनि भन्छिन्‌: “यहोवाले मप्रति देखाउनुभएको धीरजको लागि निकै धन्यवादी छु। अब मलाई थाह भयो कि ‘जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।’”—फिलिप्पी ४:१३.

अगस्त २, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट। तल दिइएका तथ्याङ्‌कहरू स्थानीय भाइहरूले तयार पारेका रिपोर्टहरू हुन्‌। तर युक्रेनका सबै क्षेत्रमा सम्पर्क गर्न गाह्रो भइरहेको छ, त्यसैले यी सङ्‌ख्या अझ धेरै हुन सक्छ:

हाम्रा भाइबहिनीहरूको अवस्था

  • ४३ जना प्रकाशकको मृत्यु भयो

  • ९७ जना प्रकाशक घाइते भए

  • २२,५६८ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे

  • ५८६ वटा घर ध्वस्त भए

  • ६१३ वटा घरमा ठूलो क्षति भयो

  • १,६३२ वटा घरमा हल्का क्षति भयो

  • ५ वटा सभाभवन ध्वस्त भए

  • १० वटा सभाभवनमा ठूलो क्षति भयो

  • ३७ वटा सभाभवनमा हल्का क्षति भयो

राहतकार्य

  • युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ

  • प्रकोप राहत समितिहरूले ५३,८३६ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलाए

  • २४,८६७ जना भाइबहिनी अरू देशमा भागेका छन्‌ र त्यहाँका भाइबहिनीले तिनीहरूलाई मदत गर्दै छन्‌