मार्च १६, २०२२
युक्रेन
अपडेट #३ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै
दुःखको कुरा, मारिउपोल सहरमा विस्फोटको कारण हाम्रा दुई जना बहिनीको मृत्यु भयो। यस सहरमा युद्ध भइरहेकोले २,००० भन्दा धेरै भाइबहिनी अझै पनि त्यहाँबाट भाग्न सकेका छैनन्। विगत केही दिनमा लगभग १५० जना भाइबहिनी त्यहाँबाट भाग्न सके। प्रकोप राहत समितिका भाइहरूले मारिउपोलमा राहत सामग्री लैजान प्रयास गरे तर तिनीहरूलाई अनि राहत कार्यको लागि त्यहाँ आएका अरू गाडीहरूलाई आक्रमण गरियो। सभाभवन अनि सम्मेलन भवन भएको एउटा ठाउँमा बम पड्कियो। त्यतिबेला लगभग २०० जना भाइबहिनीहरू त्यस सभाभवनको जमिन मुनिको कोठामा बसिरहेका थिए। तिनीहरूलाई केही भएन तर तिनीहरूका सवारी साधनहरू भने ध्वस्त भए, जसले गर्दा तिनीहरूलाई सहर छोड्न गाह्रो भएको छ।
आफ्नो परिवारसँगै मारिउपोलबाट भाग्न सकेका एक जना एल्डर (तल तस्बिरमा देखाइएको) यसो भन्छन्: “हामीले आफ्नो अपार्टमेन्ट अनि काम गुमायौँ। साथीभाइहरूसित पनि सम्पर्क गर्न सकेनौँ। एक दिनमै पुग्न सकिने ठाउँमा भागेर जान छ दिन लाग्यो। यात्रा गर्दै गर्दा हामीले सडकमा नपड्किएका बमहरूबाट धुवाँ आइरहेको देख्यौँ। यात्राको दौडान भाइबहिनीहरूले हामीलाई बस्ने ठाउँ अनि खानेकुरा प्रबन्ध गरिदिनुभयो। बुबाको रूपमा यहोवाले हाम्रो धेरै ख्याल राख्नुभएको हामीले महसुस गऱ्यौँ। . . . यसबाट यहोवामा पूरा भरोसा राख्न सकिन्छ भनेर हामी ढुक्क भयौँ।”
सुरक्षाको लागि थुप्रै भाइबहिनीहरू शरणार्थीको रूपमा विभिन्न युरोपेली मुलुकमा गएका छन्। उदाहरणको लागि, एक जना सहायक सेवक, तिनकी पत्नी अनि तिनका ७, ११ र १६ वर्षका तीन जना छोरा पोर्चुगलमा आफ्नो आफन्तहरूकहाँ गए, जो यहोवाका साक्षी नै हुन्। नाकामा ११ घण्टा कुरेपछि यो परिवार ४,००० कि.मि. भन्दा बढी यात्रा गरेर आफन्तको घरमा पुग्यो। त्यहाँ पुग्न तिनीहरूलाई चार दिन लाग्यो। तिनीहरू सभा सुरु हुनुभन्दा ठीकअघि आइपुगेका थिए। हुनत तिनीहरूलाई पोर्चुगिज भाषा बोल्न आउँदैन तैपनि तिनीहरूले आफ्नो आध्यात्मिक तालिका कायम राखिरहेका छन् र सभामा उपस्थित भइरहेका छन्। गाह्रो अवस्थाको सामना गर्नुपरे पनि यो परिवार आनन्दित रहेको देख्दा त्यस मण्डलीका भाइबहिनीहरूको मन छोएको छ।
आफ्नो परिवारसँगै भागेर जर्मनी गएकी एक बहिनी यसो भन्छिन्: “बाइबल पढ्दा, असल कुराहरूमा मनन गर्दा अनि हामी सबैले पाउने सुन्दर आशाबारे सोच्दा हामीले निकै बल अनि प्रोत्साहन पाएका छौँ। . . . यहोवाले हामीलाई भाइबहिनीहरू चलाएर डोऱ्याउनुभएको अनि मदत गर्नुभएको महसुस गरेका छौँ। युक्रेन, हङ्गेरी अनि अहिले यहाँ जर्मनीका भाइबहिनीहरूले हामीलाई न्यानो स्वागत गर्नुभयो र मदत दिनुभयो।”
यहोवा परमेश्वरले युक्रेनका हाम्रा सबै भाइबहिनीलाई साथ दिइरहनुभएको छ भन्ने कुरा स्पष्टै देख्न सकिन्छ।—भजन १४५:१४.
मार्च १६, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट। तल दिइएका तथ्याङ्कहरू स्थानीय भाइहरूले तयार पारेका रिपोर्टहरू हुन्। तर युक्रेनका सबै क्षेत्रमा सम्पर्क गर्न गाह्रो भइरहेको छ त्यसैले ती सङ्ख्या अझ धेरै हुन सक्छ:
हाम्रा भाइबहिनीहरूको अवस्था
४ जना प्रकाशकको मृत्यु भयो
१९ जना प्रकाशक घाइते भए
२९,७८९ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे
४५ वटा घर ध्वस्त भयो
८४ वटा घरमा ठूलो क्षति भयो
३६६ वटा घरमा हल्का क्षति भयो
१६ वटा सभाभवन क्षतिग्रस्त भयो
राहत कार्य
युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ
प्रकोप राहत समितिहरूले २०,९८१ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलायो
११,९७३ जना भाइबहिनी अरू देशमा भागेका छन् र त्यहाँका भाइबहिनीहरूले तिनीहरूलाई मदत गर्दै छन्