अप्रिल १, २०२२
युक्रेन
अपडेट #५ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै
दुःखको कुरा, मार्च २९, २०२२ सम्ममा मारिउपोल सहरमा थप सात जना भाइबहिनीको मृत्यु भएको छ। युक्रेनमा अहिलेसम्म हाम्रा १७ जना भाइबहिनीको मृत्यु भइसकेको छ।
भाइबहिनीलाई राहत सामग्री उपलब्ध गराउन युक्रेनका प्रकोप राहत समितिहरू दिन-रात खटिरहेका छन्। समितिका भाइहरूले आफ्नो ज्यान समेत जोखिममा राखेर युद्धले क्षति पुऱ्याएका ठाउँहरूमा भाइबहिनीहरूको खोजी गरिरहेका छन्।
उदाहरणको लागि, प्रकोप राहत समितिहरूमा सेवा गर्ने भाइहरूले युद्धले असर गरेका सहरहरू जस्तै खार्किभ, क्रामटोरस्क र मारिउपोलमा खानेकुरा, औषधी र अरू आवश्यक सामानहरू पुऱ्याएका छन्। प्रकोप राहत समितिका एक सदस्य विभिन्न ठाउँमा बस्ने २,७०० प्रकाशकको लागि खाना र औषधी लैजान थुप्रै सैनिक चेकपोष्ट हुँदै हरेक दिन ५०० कि.मि. भन्दा बढी यात्रा गर्छन्।
साथै प्रकोप राहत समितिहरूले युद्धग्रस्त क्षेत्रबाट भाइबहिनीलाई उद्धार गर्न यातायातको प्रबन्ध मिलाएको छ। चर्निहिभको प्रकोप राहत समितिका एक भाइले यसो भने: “सैनिकहरूले घरहरूमा बम विस्फोट गर्न थालेपछि त्यहाँ बसिरहनु निकै खतरनाक भयो। बम विस्फोटले गर्दा बिजुली र इन्टरनेट सेवा अवरुद्ध भएको थियो। त्यसैले सहर छोड्न यातायातको प्रबन्ध गरिएको छ भनी बताउन एल्डरहरू सहरभरिका हाम्रा भाइबहिनीकहाँ जानुभयो।”
एक यातायात व्यवसायी आफ्नो भ्यान अनि बस प्रयोग गरेर मदत गर्न राजी भए। चर्निहिभ सहरबाट उनले २५४ भाइबहिनीलाई उद्धार गर्न नौ चोटि यात्रा गरे। एकचोटि त उनले बस सजिलै जान सकोस् भनेर ठूलो मेसिन आफै चलाएर बाटो पनि मर्मत गरे। यस्तो मदत पाएकोमा भाइबहिनीहरू निकै कृतज्ञ छन्।
अहिले भइरहेको युद्धमा आफ्नो प्रियजन गुमाएकाहरूप्रति हामी समवेदना व्यक्त गर्छौँ। हामी सबै जना ‘मृत्यु र शोक कहिल्यै हुनेछैन’ भनी यहोवाको वचन बाइबलमा दिइएको आशा वास्तविकतामा परिणत हुने दिनको प्रतीक्षामा छौँ।—प्रकाश २१:३, ४.
मार्च २९, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट। तल दिइएका तथ्याङ्कहरू स्थानीय भाइहरूले तयार पारेका रिपोर्टहरू हुन्। तर युक्रेनका सबै क्षेत्रमा सम्पर्क गर्न गाह्रो भइरहेको छ त्यसैले ती सङ्ख्या अझ धेरै हुन सक्छ:
हाम्रा भाइबहिनीहरूको अवस्था
१७ जना प्रकाशकको मृत्यु भयो
३५ जना प्रकाशक घाइते भए
३६,३१३ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे
११४ वटा घर ध्वस्त भयो
१४४ वटा घरमा ठूलो क्षति भयो
६१२ वटा घरमा हल्का क्षति भयो
एउटा सभाभवन ध्वस्त भयो
७ वटा सभाभवनमा ठूलो क्षति भयो
२३ वटा सभाभवनमा हल्का क्षति भयो
राहत कार्य
युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ
प्रकोप राहत समितिहरूले ३४,७३९ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलायो
१६,१७५ जना भाइबहिनी अरू देशमा भागेका छन् र त्यहाँका भाइबहिनीहरूले तिनीहरूलाई मदत गर्दै छन्