सीधै सामग्रीमा जाने

बायाँ: भाइबहिनीहरू पोल्याण्डबाट आएको राहत सामग्री ठाउँठाउँमा पुऱ्‍याउन गाडीमा राख्दै छन्‌। दायाँ: होस्टोमेलमा बम विस्फोटले गर्दा ध्वस्त भएको एक भाइको घर।

अप्रिल १३, २०२२
युक्रेन

अपडेट #६ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

अपडेट #६ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

दुःखको कुरा, युक्रेनमा भइरहेको युद्धको कारण हाम्रा थुप्रै भाइबहिनीले ज्यान गुमाएका छन्‌। अहिलेसम्म २८ जना भाइबहिनीको मृत्यु भइसकेको छ।

समाचारहरूले बताएअनुसार किभ नजिकैका सहरहरूमा युद्ध सुरु भएका हप्ताहरूमा निकै द्वन्द्व मच्चिएको थियो। यी क्षेत्रहरूमा लगभग ४,९०० प्रकाशक बस्थे। अहिले ३,५०० भन्दा धेरै प्रकाशक त्यहाँबाट सुरक्षित स्थानहरूमा भागिसकेका छन्‌।

अवस्था निकै गाह्रो भए तापनि भाइबहिनीहरूको यहोवामाथिको विश्‍वास कमजोर भएको छैन। यो कुरा तल उल्लेख गरिएको अनुभवले देखाउँछ।

माकारिभमा बस्ने ओलेकजेन्डर नाम गरेका एल्डर पनि मध्य युक्रेनको एउटा सुरक्षित क्षेत्रमा गएका थिए। तर आफ्नो क्षेत्र सेवा समूहको चार जना प्रकाशकसित सम्पर्क हुन नसकेकोले उनीहरूलाई खोज्न तिनी उनीहरू बस्ने इलाकामा गए, जहाँ युद्ध चलिरहेकै थियो। तिनी यसो भन्छन्‌: “आफ्ना जनहरू यहोवाको लागि अमूल्य छन्‌ भनेर मलाई थाह छ। . . . एक जना प्रकाशकको घर क्षतिग्रस्त भएको थियो। घरको जमिनमुनिको कोठामा जाने ढोका बन्द थियो त्यसैले भित्र कोही छ कि भनेर मैले बोलाएँ तर कुनै जवाफ आएन। मलाई निकै डर लाग्न थाल्यो।” ओलेकजेन्डर ढोका फोरेर भित्र गए। कोठाभित्र भएकाहरूले तिनलाई हेरिरहे, उनीहरू हाम्रा भाइबहिनीहरू थिए। उनीहरू सँगसँगै उनीहरूका छिमेकीहरू पनि त्यहाँ थिए।

यारोस्लाभ र तिनकी पत्नी (बिचमा) अनि ओलेकजेन्डर र तिनकी पत्नी सुरक्षित इलाकामा सँगै खाना खाँदै छन्‌।

त्यस ठाउँमा लुकेर बसेका एक भाइ, यारोस्लाभले बताएअनुसार तिनीहरू त्यहाँ आठ दिनदेखि लुकेर बसेका थिए। तिनी यसो भन्छन्‌: “हामी सँग केही बिस्कुट अनि दिनमा एक जनाको लागि एक गिलास पुग्ने जति मात्र पानी थियो। तर हामी बाइबल र अरू प्रकाशनहरू पढ्‌थ्यौँ, प्रार्थना गर्थ्यौँ अनि एकअर्कालाई प्रोत्साहन दिन्थ्यौँ। ओलेकजेन्डरले मेरो नाम बोलाउँदा सैनिकहरू मलाई पक्रन आएजस्तो लाग्यो। अब त म बाँच्दिनँ जस्तो मलाई लाग्यो। . . . [तर,] तिनले हामी सबैलाई बचाए। यस्तो मायालु आध्यात्मिक परिवारको लागि हामी यहोवाप्रति आभारी छौँ। उनीहरू हाम्रो लागि प्रार्थना गर्छन्‌ अनि आफ्नो ज्यान समेत खतरामा राख्न तयार हुन्छन्‌।”

पाइलिप

पाइलिप र अर्का एक भाइले ब्रोडियाङ्‌का सहरमा भएकाहरूको लागि खानेकुरा ल्याउने निर्णय गरे। मार्च १७ मा त्यो सहरतिर जाँदै गर्दा सैनिकहरूले पाइलिपको गाडी जफत गरे अनि खानेकुराहरू पनि लिए। त्यसपछि सैनिकहरूले उनीहरूको हातमा हतकडी लगाइदिए र आँखामा पट्टी बाँधिदिए अनि उनीहरूलाई अरू सात जना मानिससँगै जमिनमुनिको एउटा सानो कोठामा ल्याए। दुई दिन पछि तिनीहरूलाई एउटा कोठरीमा हालियो। त्यहाँ गार्डहरूले तिनीहरूलाई राती नराम्ररी कुटे। पाइलिप भन्छन्‌: “मलाई आफू बाँच्दिनँ जस्तो लाग्यो। वफादार रहन सकूँ भनेर मैले प्रार्थना गरेँ।”

एकचोटि पिटाइ खाइरहेकै बेला पाइलिपले खानेकुरा नपाएका वृद्ध दिदीहरूको लागि अनि आफ्नो परिवारको सुरक्षाको लागि ठूलो स्वरमा प्रार्थना गर्न थाले। साथै वर्षौँसम्म आनन्दित भई सेवामा लाग्ने मौका दिनुभएको यहोवालाई धन्यवाद पनि चढाए। त्यसपछि गार्डले तिनलाई कोठरीमै लगे, त्यहाँ पनि तिनले हाम्रा भाइहरू खतरनाक व्यक्‍तिहरू होइनन्‌ भनी सैनिकहरूले बुझ्न सकून्‌ भनेर प्रार्थना गरे। हाम्रा दुवै भाइहरूले गार्डहरूलाई साक्षी दिन थाले। दुई दिनसम्म तिनीहरूले आफूहरूको निगरानी गरिरहेका सबै गार्डलाई साक्षी दिए। साथै एक जना कैदीले पनि बाइबलको सन्देशमा चासो देखाए। तिनी भाइहरूप्रति आभारी भए। मार्च २७ मा ती व्यक्‍ति र हाम्रा भाइहरूलाई रिहा गरियो।

बुचाकी एक अविवाहित बहिनी स्भिटलाना दुई हप्तासम्म युद्धग्रस्त इलाकाबाट भाग्न सकिनन्‌। तिनी भन्छिन्‌: “यहोवाले दिनुहुने शान्ति कत्ति महत्त्वपूर्ण छ भनेर मैले पहिलाभन्दा राम्ररी बुझ्न सकेकी छु। परमेश्‍वरको शान्ति पाउनु भनेको सबै समस्याको समाधान थाह हुनु होइन बरु समाधान नभेटिँदा पनि यहोवामा पूरा भरोसा गर्न सक्नु हो।

युक्रेनको सुरक्षित स्थानतिर जाँदै गर्दा स्भिटलानाले एक महिला र तिनको आफन्तलाई साक्षी दिइन्‌। उनीहरू सुरक्षित ठाउँमा पुग्न सके अनि त्यहाँ एउटा साक्षी परिवारले उनीहरूलाई स्वागत गऱ्‍यो। बहिनी स्भिटलानाको साथै ती महिला र तिनको आफन्त एक रात त्यहीँ बसे। अर्को दिन, ती महिलाले मण्डलीको सभामा उपस्थित हुने इच्छा व्यक्‍त गरिन्‌ र बाइबल अनि अरू प्रकाशनहरू पनि लिइन्‌। बहिनी स्भिटलाना तिनीसित सम्पर्कमा रहिरहेकी छिन्‌।

अप्रिल १२, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट। तल दिइएका तथ्याङ्‌कहरू स्थानीय भाइहरूले तयार पारेका रिपोर्टहरू हुन्‌। तर युक्रेनका सबै क्षेत्रमा सम्पर्क गर्न गाह्रो भइरहेको छ त्यसैले ती सङ्‌ख्या अझ धेरै हुन सक्छ।

हाम्रा भाइबहिनीहरूको अवस्था

  • २८ जना प्रकाशकको मृत्यु भयो

  • ४८ जना प्रकाशक घाइते भए

  • ४०,७७८ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे

  • २७८ वटा घर ध्वस्त भयो

  • २६८ वटा घरमा ठूलो क्षति भयो

  • ७४६ वटा घरमा हल्का क्षति भयो

  • एउटा सभाभवन ध्वस्त भयो

  • ९ वटा सभाभवनमा ठूलो क्षति भयो

  • २६ वटा सभाभवनमा हल्का क्षति भयो

राहत कार्य

  • युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ

  • प्रकोप राहत समितिहरूले ४१,९७४ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलायो

  • १८,०९७ जना भाइबहिनी अरू देशमा भागेका छन्‌ र त्यहाँका भाइबहिनीहरूले तिनीहरूलाई मदत गर्दै छन्‌