सीधै सामग्रीमा जाने

लभिभको एउटा सभाभवनमा स्मरणार्थ उत्सव मनाइँदै; त्यहाँ झन्डै ६० जना भाइबहिनीले शरण लिएका छन्‌

अप्रिल २९, २०२२
युक्रेन

अपडेट #७ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

स्मरणार्थमा २ लाख १० हजारभन्दा धेरै उपस्थित भए

अपडेट #७ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

यहोवाको आशिष्‌ले गर्दा युक्रेनका भाइबहिनी ख्रिष्टको मृत्युको स्मरणार्थमा उपस्थित हुन सके। आफ्नो घर छोडेर भाग्न बाध्य भएका केही भाइबहिनीले पश्‍चिमी युक्रेनका सभाभवनहरूमा शरण लिइरहेका छन्‌। तिनीहरू आफू बसिरहेको सभाभवनमै स्मरणार्थमा उपस्थित भए। भाइहरूले प्रायजसो ठाउँमा सानो-सानो समूहमा स्मरणार्थ आयोजना गरे। आफ्नो घरबाट निस्कन नसक्नेहरूचाहिँ भिडियो कन्फरेन्समार्फत स्मरणार्थ कार्यक्रममा जोडिए।

खार्खिभमा जमिनमुनिको कोठामा भाइबहिनीहरू स्मरणार्थ मनाउँदै

देशका धेरैजसो भागमा स्मरणार्थको दिनभरि नै साइरनहरू बजिरहेका थिए। तर साँझ परेपछि साइरनहरू बज्न बन्द भए। डोनेट्‌स्क क्षेत्रको ड्रुजकिभ्काकी सेरीले यसो भनिन्‌: “गोलाबारीले गर्दा स्मरणार्थमा बाधा नपुगोस्‌ भनेर हामीले प्रार्थना गरिरहेका थियौँ। स्मरणार्थ सुरु हुनुभन्दा केहीबेरअघि गोलाबारी बन्द भयो र साइरनहरू बज्न पनि बन्द भए।”

किभनजिकैको नेमिसाइभका केही वृद्ध अनि अशक्‍त प्रकाशक एक महिनादेखि सभामा उपस्थित हुन सकिरहेका थिएनन्‌। तिनीहरू स्मरणार्थमा उपस्थित हुन सकौँ भनेर प्रार्थना गर्दै थिए। एक एल्डर भाइ भिटालिले ती प्रकाशकहरूलाई स्मरणार्थमा उपस्थित हुन मदत गरे। तिनले भने: “बत्ती नभएकोले हामीले टर्चलाइट बालेर स्मरणार्थ मनायौँ। निकै जाडो थियो। गीत पनि बजाउन नसकेकोले मेरी छोरीले भायोलिन बजाइन्‌ अनि हामीले त्यसको धुनसँगै गायौँ।”

युद्धग्रस्त क्षेत्रमा बस्ने एक एल्डर भाइ ओलेकसान्डरले यसो भने: “स्मरणार्थको निम्तो अभियानको बेला हामीले इलाकाका मानिसहरूलाई पत्रमार्फत निम्तो दिन सकेनौँ किनभने त्यहाँका घरहरू बमले ध्वस्त भएका थिए र मानिसहरू अन्तै सरिसकेका थिए। त्यसैले हामीले चिनेजानेकाहरूलाई, हामीसँगै उद्धार गरिएकाहरूलाई र जमिनमुनिका कोठाहरूमा बसिरहेकाहरूलाई निम्तो दियौँ। हामीले भेटेका धेरैजसो मानिसले पहिला साक्षीहरूबारे कहिल्यै सुनेका थिएनन्‌। तिनीहरूमध्ये धेरैजसो स्मरणार्थमा उपस्थित भए।”

युक्रेनका एक दम्पतीले विद्युत्‌ आपूर्ति बन्द भएकोले मैनबत्ती बालेर स्मरणार्थ मनाए; तिनीहरू मोबाइल चार्ज गर्न नजिकैको गाउँमा गए

हुनत हामीले युक्रेनका सबै मण्डलीबाट रिपोर्ट पाइसकेका छैनौँ। तर हालसम्मको रिपोर्टअनुसार स्मरणार्थमा २ लाख १० हजारभन्दा धेरै जना उपस्थित भए।

यस वर्षको स्मरणार्थबारे आफ्नो भावना पोखाउँदै युक्रेनका एक भाइले यसो भने: “जसरी नाविकले लाइटहाउस देखेपछि समुद्र किनार नजिकै छ भनेर थाह पाउँछन्‌, त्यसरी नै स्मरणार्थ उत्सवले मलाई यहोवाको दिन नजिकै छ भन्‍ने कुरामा ढुक्क बनाउँछ। यस वर्षको स्मरणार्थले यस कुरामा मेरो विश्‍वासलाई अझ बलियो बनाएको छ।”

अप्रिल २१, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट। तल दिइएका तथ्याङ्‌कहरू स्थानीय भाइहरूले तयार पारेका रिपोर्टहरू हुन्‌। तर युक्रेनका सबै क्षेत्रमा सम्पर्क गर्न गाह्रो भइरहेको छ, त्यसैले यी सङ्‌ख्या अझ धेरै हुन सक्छ:

हाम्रा भाइबहिनीहरूको अवस्था

  • ३५ जना प्रकाशकको मृत्यु भयो

  • ६० जना प्रकाशक घाइते भए

  • ४३,७९२ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे

  • ३७४ वटा घर ध्वस्त भए

  • ३४७ वटा घरमा ठूलो क्षति भयो

  • ८७४ वटा घरमा हल्का क्षति भयो

  • एउटा सभाभवन ध्वस्त भयो

  • १० वटा सभाभवनमा ठूलो क्षति भयो

  • २७ वटा सभाभवनमा हल्का क्षति भयो

राहत कार्य

  • युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ

  • प्रकोप राहत समितिहरूले ४४,९७१ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलाए

  • १९,९६१ जना भाइबहिनी अरू देशमा भागेका छन्‌ र त्यहाँका भाइबहिनीले तिनीहरूलाई मदत गर्दै छन्‌