नोभेम्बर ८, २०२४
विश्व समाचार
मुख्यालय रामापो निर्माण परियोजना
रामापोमा बृहत निर्माणकार्य सुरु गर्न अनुमति पाइयो
नोभेम्बर ६, २०२४ मा रामापो नगर परिषद्ले रामापो निर्माण परियोजनाको लागि थप अनुमति दिएको छ। यस अनुमतिसँगै अब रामापो साइटमा बृहत निर्माणकार्य सुरु गर्न सकिनेछ।
जून २०२३ मा नगर परिषद्ले रामापो निर्माण परियोजनाको कुनै-कुनै कामको लागि अनुमति दिएको थियो। त्यतिबेला पाएको अनुमतिले गर्दा हामीले भवनहरूको निर्माणअघि गर्नुपर्ने तयारीका कामहरू गर्न सक्यौँ, जस्तै; निर्माण साइटका रूखहरू ढाल्ने। तर यस पटक पाइएको अनुमतिसँगै हामी अब बृहत निर्माणकार्य नै अगाडि बढाउन सक्छौँ। जस्तै, मुख्य प्रवेशद्वार बनाउने र भवनहरूको जग खन्न ढुङ्गा फुटाउने। त्यसैगरि जमिन खन्ने तथा पानीको पाइपलाइन बिछ्याउने जस्ता काम पनि अघि बढाउन सकिनेछ।
निर्माण परियोजना समितिमा सेवा गर्नुहुने भाइ केभिन पेजले यसो भन्नुभयो: “यो अनुमति पाएर हामी असाध्यै खुसी छौँ! हामीले यस प्रक्रियाको हरेक चरणमा यहोवाले हाम्रो धीरज र कडा मेहनतमा आशिष् बर्साउनुभएको अनुभव गरेका छौँ। यस उल्लेखनीय उपलब्धिको लागि हामी उहाँलाई धन्यवाद दिन्छौँ र आगामी चरणहरूमा पनि उहाँको निरन्तर साथ रहोस् भनेर प्रार्थना गर्छौँ।”
यस्तो ताजा जानकारी पाएर हामी उत्साहित भएका छौँ। यस परियोजनामाथि र निर्माणकार्यमा साथ दिनुहुने सबैमाथि यहोवाको प्रशस्तै आशिष् रहोस् भनेर हामी कामना गर्छौँ।—हाग्गै १:१४.