सीधै सामग्रीमा जाने

भाइ डिमित्रि डोल्झिकोभ ख्रिष्टियन गतिविधिमा भाग लिएकोले रुसी कानुनअन्तर्गत जेलमा परेका १०० औँ साक्षी हुन्‌।

अक्टोबर २८, २०२२
विश्‍व समाचार

हाल रुस र क्राइमियाको झ्यालखानामा परेका साक्षीहरूको सङ्‌ख्या १०० नाघ्यो

हाल रुस र क्राइमियाको झ्यालखानामा परेका साक्षीहरूको सङ्‌ख्या १०० नाघ्यो

अक्टोबर २६, २०२२ सम्ममा रुस र क्राइमियाका १०६ जना भाइ र ४ जना बहिनीलाई तिनीहरूको विश्‍वासको कारण झ्यालखानामा वा अनुसन्धानको लागि हिरासतमा राखिएको छ। हालै ४४ वर्षीय भाइ डिमित्रि डोल्झिकोभ कैदमा परे। तिनी यसरी कैदमा परेका १०० औँ यहोवाको साक्षी हुन्‌। तिनलाई सेप्टेम्बर ८, २०२२ मा पक्राउ गरियो। ख्रिष्टियन सभामा उपस्थित भएकोले र आफ्नो विश्‍वासबारे अरूलाई बताएकोले तिनीमाथि अतिवादी सङ्‌गठनको गतिविधिमा भाग लिएको अभियोग लगाइयो। सन्‌ २०१७ मा प्रतिबन्ध लगाइएदेखि लगभग ३५० जना साक्षीहरू झ्यालखानामा परेका छन्‌।

प्रहरीहरूले चेल्याबिन्स्क क्षेत्रमा भएको भाइ डिमित्रिको अपार्टमेन्टमा छापा मारे र तिनलाई पक्राउ गरे। त्यसको दुई दिनपछि, तिनलाई १,५०० किलोमिटर टाढा नोभोसिबिर्स्क क्षेत्रमा अनुसन्धानको लागि हिरासतमा लगियो।

भाइ डिमित्रि अहिले अरू १२ जना सँगै थुनामा छन्‌। तिनकी पत्नी मारिनालाई तिनीसित भेट्‌ने अनुमति दिइएको छैन तर तिनीहरू एकअर्कालाई पत्र भने पठाउन सक्छन्‌।

बहिनी मारिना भन्छिन्‌: “उहाँ पक्राउमा पर्नुभएपछि म राम्ररी सुत्नै सकिनँ। मण्डलीका साथीहरूले मलाई तिनीहरूसितै बस्न बोलाए, जसले गर्दा मैले धेरै मदत पाएँ।”

बहिनी मारिनाले बताएअनुसार भाइ डिमित्रि सकारात्मक मनोभाव राख्दै छन्‌। तिनी यसो पनि भन्छिन्‌: “यहोवाले उहाँको ख्याल राखिरहनुभएको छ।”

मारिना र डिमित्रि डोल्झिकोभ

हाम्रा भाइबहिनीहरूमाथि रुसको फौजदारी कानुनअन्तर्गत अतिवादी गतिविधिमा भाग लिएको अभियोग लगाइयो। यसै अभियोगमा हाम्री ५७ वर्षीया बहिनी आना सफ्रोनोभा पनि ६ वर्षको जेल सजाय भोग्दै छिन्‌। यो नै अहिले सम्मको साक्षी बहिनीले भोग्नु परेको सबैभन्दा लामो जेल सजाय हो।

भाइ डिमित्रिलाई पक्राउ गरिनु पनि रुसले यहोवाका साक्षीहरू विरुद्ध चालेको लज्जास्पद अभियानको एउटा भाग हो। थुप्रै पटक अन्तरराष्ट्रिय निकायहरूले त्यस्तो प्रतिबन्धको निन्दा गरेको भए तापनि ५ वर्षभन्दा लामो समयदेखि रुसले यसो गर्न छोडेको छैन। रुसको सर्वोच्च अदालतले २०१७ मा यहोवाका साक्षीहरू विरुद्ध फैसला गर्दा रुसी अधिकारीहरूले साक्षीहरूको कानुनी संस्थाहरू खारेज गरे पनि आध्यात्मिक गतिविधिहरूमा चाहिँ हस्तक्षेप नगर्ने कुरा दाबी गरेका थिए। तर तिनीहरूले त्यसअनुसार गरेनन्‌। आजसम्म, ७०० जना यहोवाका साक्षी विरुद्ध ३०८ वटा आपराधिक मुद्दाहरू जाहेर गरिएका छन्‌। साथै साक्षीहरूको १,८५१ घरहरूमा छापा मारिएको छ।

भाइ डिमित्रि लगायत आफ्नो विश्‍वासको खातिर सतावट भोगिरहेका सबै भाइबहिनीको लागि हामी प्रार्थना गर्छौँ। यहोवाले ती भाइबहिनीलाई सहने बल दिइरहनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौँ।—मत्ति २४:१३.