सीधै सामग्रीमा जाने

(बायाँ) सङ्‌क्रमणबाट जोगिन हामीले चाल्न सक्ने केही व्यावहारिक कदम यी हुन्‌: घरमा र सभाभवनमा हामीले छोइरहने सरसामान वा ठाउँलाई सफा गरिरहनुपर्छ; (बीचमा) केही प्रभावित क्षेत्रहरूमा प्रकाशकहरूले वैकल्पिक प्रचारकार्यमा भाग लिने निर्णय गर्न सक्छन्‌; जस्तै: टेलिफोन साक्षीकार्य; (दायाँ) रोग फैलिरहेका ठाउँहरूमा एल्डरहरूले स्थानीय परिस्थितिलाई ध्यानमा राखेर घरमै बसेर सभाहरूको रेकर्डिङ हेर्न सकिने प्रबन्ध मिलाउन सक्छन्‌

मार्च ३, २०२०
विश्‍व समाचार

कोरोनाभाइरस सम्बन्धी अपडेट र सचेतना

कोरोनाभाइरस सम्बन्धी अपडेट र सचेतना

यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयले नोबेल कोरोनाभाइरस भनिने रोग (कोभिड-१९) महामारीको रूपमा फैलँदै गइरहेको कुरालाई राम्ररी नियालिरहेको छ। हामीले बाइबल भविष्यवाणीबाट अन्तको दिनको एउटा स्पष्ट चिन्ह भनेको महामारी हो भनेर बुझेका छौँ। (लुका २१:११) कुनै रोग फैलँदै गइरहेको छ भने हामीले आफैलाई र अरूलाई त्यसको सङ्‌क्रमणबाट जोगाउन व्यावहारिक कदमहरू चाल्नुपर्छ।—हितोपदेश २२:३.

प्रभावित ठाउँका हाम्रा दाजुभाइ दिदीबहिनीको अवस्था कस्तो होला भनेर कोही-कोहीले सोचिरहेका होलान्‌। कोरोनाभाइरसले गर्दा इटाली, जापान, दक्षिण कोरिया र अन्य देशका शाखा कार्यालय र मण्डलीको गतिविधिमा केही छाँटकाँट गर्नुपरेको छ। केही देशका शाखा कार्यालयमा बेथेल टुर स्थगित गरिएको छ र बाहिरबाट कसैलाई पनि शाखा कार्यालयमा आउन दिइएको छैन। केही देशमा भने सरकारले नै भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरूमा रोक लगाएकोले शाखा कार्यालयले हाम्रा सम्मेलनहरू पनि रद्द गर्नुपरेको छ। केही इलाकामा भने मण्डलीहरूले प्रचारकार्य र सभाहरूको प्रबन्धमा पनि छाँटकाँट गर्नुपरेको छ। तर यस्ता समस्याहरूको बाबजुद हाम्रा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई आध्यात्मिक रूपमा बलियो बनाउन र प्रोत्साहन आदानप्रदान गर्न छोडेका छैनन्‌।—यहुदा २०, २१.

यस्ता परिस्थितिहरूमा हाम्रा दाजुभाइ दिदीबहिनीले तल छलफल गरिएका सिद्धान्तहरू मदतकारी पाएका छन्‌। यदि तपाईँ पनि यो रोग फैलिएको इलाकामा बसोबास गर्दै हुनुहुन्छ भने तपाईँ र तपाईँको परिवारलाई तल दिइएका सुझावहरू मदतकारी हुन सक्छन्‌।

  • नआत्तिनुहोस्‌। हुनत यस्ता रोगव्याधिबारे सजग रहनु र व्यावहारिक सतर्कता अपनाउनु राम्रो हो। तर यस्तो अवस्थामा आत्तिनुको सट्टा सही जानकारीहरूको आधारमा कदम चाल्नु बुद्धिमानी हो।—हितोपदेश १४:१५; यसैया ३०:१५.

  • सरकारले दिएको सुझाव र निर्देशनअनुसार चल्नुहोस्‌। स्थानीय अधिकारीहरूले जनहितको लागि सावधान हुनुपर्ने विषयमा सजग गराउन सक्छ वा केही प्रतिबन्ध लगाउन सक्छ। यस्ता कुराहरूबारे थाह पाइराख्नु र सरकारले दिएको निर्देशनअनुसार चल्नु राम्रो हो।—रोमी १३:१.

  • सरसफाइमा ध्यान दिनुहोस्‌। बारम्बार साबुनपानीले हात धुनु वा अल्कोहल भएको ह्‍यान्ड स्यानिटाइजर प्रयोग गर्नु आवश्‍यक छ। घरमा र सभाभवनमा हामीले छोइरहने सरसामान वा ठाउँलाई सफा गरिरहनुपर्छ। साथै डाक्टरहरूले यस्तो महामारी फैलिरहेको बेलामा एकअर्कासित हात नमिलाउन पनि सुझाव दिएका छन्‌। किनकि यसो गर्दा रोग झनै फैलिन सक्छ। विश्‍व स्वास्थ्य सङ्‌गठनले कोरोनाभाइरसको सन्दर्भमा जनसाधारणलाई थप सुझाव दिएको छ।

  • अरूलाई प्रेम गरेको देखाउनुहोस्‌। हामी सबैलाई ख्रिष्टियन सभाहरूमा उपस्थित हुनुको वा प्रचारकार्यमा भाग लिनुको महत्त्व राम्ररी थाह छ। तर तपाईँ बिरामी हुनुभयो भने अरू पनि सङ्‌क्रमित नहोस्‌ भनेर घरमै बस्नु राम्रो हो। यसो गर्दा हामीले भ्रातृप्रेम देखाइरहेका हुन्छौँ अनि मण्डलीका दाजुभाइ दिदीबहिनी र छरछिमेकीको सुरक्षामा ध्यान दिइरहेका हुन्छौँ।—मत्ति २२:३९.

  • मण्डलीका प्रबन्धहरूमा गरिएको अस्थायी छाँटकाँटलाई समर्थन गर्नुहोस्‌। रोग फैलिरहेको इलाकाहरूमा शाखा कार्यालयले केही समयको लागि मण्डलीका सभाहरू, सम्मेलनहरू र अन्य आध्यात्मिक गतिविधि रद्द गर्नुपर्ने हुन्छ। कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेका देशहरू, जस्तै: इटाली, जापान र दक्षिण कोरियाका केही इलाकामा यस्तै छाँटकाँट गरिएको छ। एल्डरहरूले स्थानीय परिस्थितिलाई ध्यानमा राख्दै प्रकाशकहरूले घरमै बसेर सभाहरूको रेकर्डिङ हेर्न सक्ने प्रबन्ध मिलाउन सक्छन्‌। प्रकाशकहरूले टेलिफोन, मेसेज, इमेल वा पत्रमार्फत साक्षीकार्यमा भाग लिन सक्छन्‌।