सीधै सामग्रीमा जाने

उच्च अदालत अनि इङ्‌गल्यान्ड र वेल्सको पुनरावेदन अदालत भएको भवन

मे १२, २०२०
संयुक्‍त अधिराज्य

इङ्‌गल्यान्डले धार्मिक आबद्धतासम्बन्धी अधिकारको रक्षा गऱ्‍यो

इङ्‌गल्यान्डले धार्मिक आबद्धतासम्बन्धी अधिकारको रक्षा गऱ्‍यो

मार्च १७, २०२० मा इङ्‌गल्यान्ड र वेल्सको पुनरावेदन अदालतले उच्च अदालतको निर्णय बदर गर्न दिइएको आवेदन स्विकारेन। यसरी पुनरावेदन अदालतले बाइबलको निर्देशनअनुसारै आफ्नो सदस्यलाई बहिष्कार गर्न पाउने हाम्रो अधिकारलाई समर्थन गऱ्‍यो।

यो मुद्दाको सुनुवाइमा उच्च अदालतले मण्डलीले आफ्नो कुनै सदस्य अबदेखि यहोवाको साक्षी होइनन्‌ भनेर घोषणा गर्नु कानुनविपरीत होइन वा यसो गरेर मण्डलीले उक्‍त व्यक्‍तिको बदनाम गर्न खोजेको पनि होइन भन्‍ने फैसला सुनाएको थियो। उच्च अदालतका न्यायाधीश रिचर्ड स्पेयरम्यानले यस्तो फैसला सुनाएका थिए: “धर्मशास्त्रीय सिद्धान्तहरू पालन गर्ने धार्मिक समूहले पाप गर्ने व्यक्‍तिलाई निष्कासन गर्नु जायज हो। यसो गर्नु उचित मात्र होइन, अत्यावश्‍यक पनि छ किनकि जो धर्मशास्त्रीय सिद्धान्तहरूअनुसार चल्न सक्दैन वा चल्न मान्दैन, ऊ त्यस समूहको सदस्य भइरहन योग्य हुँदैन। त्यस्तो व्यक्‍तिलाई निष्कासन नगर्ने हो भने उसले गर्दा अरू सदस्यहरूमा पनि नराम्रो प्रभाव पर्न सक्छ।”

उच्च अदालतले सुनाएको यस फैसलालाई बदर गर्ने माग गर्दै वादीले पुनरावेदन अदालतमा आवेदन बुझायो। तर पुनरावेदन अदालतले यस आवेदनलाई “निराधार” ठहर गऱ्‍यो र आवेदन स्विकारेन। साथै उच्च अदालतको फैसला “शतप्रतिशत सही छ” अनि “आफ्नो सदस्यलाई निष्कासन गर्न पाउनु धार्मिक सङ्‌गठनको अधिकार हो” भनेर मानिलियो।

यहोवाका साक्षीहरूको वकिल शेन ब्रेडीले यस फैसलाबारे यसो भने: “यो फैसला इङ्‌गल्यान्डका अरू अदालतहरू, मानवअधिकारसम्बन्धी युरोपेली अदालत अनि क्यानाडा, युरोप र अमेरिकाका पुनरावेदन अदालतहरूले सुनाएको अरू थुप्रै फैसलासित मेल खान्छ। ती सबै फैसलाले धार्मिक आबद्धतासम्बन्धी मामिलाहरूबारे यहोवाका साक्षीहरू आफैले निर्णय गर्न पाउने अधिकारको रक्षा गऱ्‍यो।”

अदालतले मण्डलीको आध्यात्मिक र नैतिक हितको लागि धर्मशास्त्रीय सिद्धान्तहरू पालन गर्ने हाम्रो अधिकारलाई सुनिश्‍चित गरेकोमा हामी धेरै खुसी छौँ।—१ कोरिन्थी ५:११; २ युहन्‍ना ९-११.