सीधै सामग्रीमा जाने

यस भवनमा स्विडेनको सर्वोच्च प्रशासकीय अदालतले हाम्रो मुद्दाको बहस गरेको थियो

डिसेम्बर १८, २०१९
स्विडेन

स्विडेनमा यहोवाका साक्षीहरू समाजमा राम्रो योगदान पुऱ्‍याउने धार्मिक समूह हो भनेर फैसला सुनाइन्छ

स्विडेनमा यहोवाका साक्षीहरू समाजमा राम्रो योगदान पुऱ्‍याउने धार्मिक समूह हो भनेर फैसला सुनाइन्छ

जनवरी १, २००० देखि स्विडेन सरकारले ‘धार्मिक समुदायहरूलाई सहयोग ऐन’-अन्तर्गत धार्मिक सङ्‌गठनहरूलाई आर्थिक सहयोग दिँदै आएको छ। यस्तो आर्थिक सहयोग त्यस्ता धार्मिक सङ्‌गठनहरूलाई मात्र दिइन्छ, जसले “समाजको आधारभूत मूल्यमान्यतालाई कायम राख्न र अझै सुदृढ बनाउन योगदान पुऱ्‍याउँछ” अनि जुन “स्थिर हुनुका साथै समाजमा सक्रिय भूमिका निर्वाह गर्छ।”

तर राजनैतिक मामिलामा तटस्थ रहने हाम्रो धार्मिक विश्‍वासको आलोचना गर्दै सरकारले धार्मिक सङ्‌गठनहरूलाई प्रदान गर्ने यस्तो आर्थिक सहयोग २००७ देखि यहोवाका साक्षीहरूलाई दिन बारम्बार इन्कार गरिरहेको छ।

अरू कुनै विकल्प नभएपछि हाम्रा भाइहरूले तीन पटकसम्म स्विडेन सरकारविरुद्ध मुद्दा दायर गरे। प्रत्येक चोटि सर्वोच्च प्रशासकीय अदालतले हाम्रो सङ्‌गठनलाई आर्थिक सहयोग दिन इन्कार गर्ने सरकारको निर्णय कानुनविपरीत हो र यसलाई पुनर्विचार गर्नुपर्छ भन्‍ने फैसला सुनायो।

आखिर अक्टोबर २४, २०१९ मा स्विडेन सरकारले आफ्नो निर्णय खारेज गऱ्‍यो र सरकारले दिने सहयोग पाउन यहोवाका साक्षीहरूले “सबै कानुनी आवश्‍यकता पूरा गरेको छ” भन्‍ने निष्कर्षमा पुग्यो।

हालै नर्वेमा पनि यस्तै विवाद उठेको थियो। त्यहाँको सरकारले यहोवाका साक्षीहरूलगायत अन्य धार्मिक सङ्‌गठनहरूलाई आर्थिक सहयोग दिँदै आएको थियो। तर हालैका महिनाहरूमा राजनैतिक मामिलामा तटस्थ रहने हाम्रो अडानतर्फ ध्यान खिच्दै यहोवाका साक्षीहरूलाई आर्थिक सहयोग दिनु उचित हो या होइन भनेर फेरि विचार गर्न सरकारलाई भनियो। यसपछि हाम्रा भाइहरूले नर्वेका अधिकारीहरूसामु राजनैतिक मामिलामा तटस्थ रहनेबारे हाम्रो दृष्टिकोणको सन्दर्भमा सही जानकारीहरू पेस गरे। तिनीहरूले सरकारलाई स्विडेनको सर्वोच्च प्रशासकीय अदालतले हाम्रो पक्षमा सुनाएको फैसला अनि जर्मनी र इटालीका अदालत र सरकारले यस्तै खालको मुद्दामा हाम्रो पक्षमा सुनाएको फैसलाका प्रतिहरू पनि बुझाए।

नोभेम्बर १८, २०१९ मा नर्वेका अधिकारीहरूले यहोवाका साक्षीहरूले सरकारबाट आर्थिक सहयोग पाउनुपर्छ भनेर निर्णय सुनाउँदा हामी धेरै खुसी भयौँ। उक्‍त निर्णयको अन्तमा यसो भनिएको थियो: ‘भोट खसाल्नु नर्वेली नागरिकको आधारभूत अधिकार भए पनि दायित्व भने होइन। यो अधिकार प्रयोग गर्न इन्कार गर्नु यहोवाका साक्षीहरूको विश्‍वासको भाग हो जस्तो देखिन्छ। तर यसैलाई कारण बनाएर उनीहरूले पाउनुपर्ने आर्थिक सहयोगमा रोक लगाउने कानुनी आधार छैन भन्‍ने कुरामा सरकारले स्वीकृति जनाएको छ।’

यी निर्णयहरूको सन्दर्भमा स्कान्डिनेभिया शाखाका भाइ डाग-एरिक क्रिस्टोफेरसानले यसो भन्‍नुभयो: “हामी समाजमा सकारात्मक प्रभाव पार्ने व्यक्‍तिहरूको रूपमा चिनिनु हाम्रो लागि खुसीको कुरा हो। यस्तै खालका प्रबन्धहरू भएका अन्य देशहरूले पनि यस निर्णयमा गौर गरून्‌ भन्‍ने हामी चाहन्छौँ।” सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी सर्वोच्च कानुनदाता यहोवा परमेश्‍वरलाई धन्यवाद दिन्छौँ।—यसैया ३३:२२.