अध्याय दस

स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?

स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?

१. हामीले स्वर्गदूतहरूबारे किन थाह पाउनुपर्छ?

यहोवा परमेश्‍वर हामीले उहाँको परिवारमा को-को छन्‌ भनेर थाह पाएको चाहनुहुन्छ। स्वर्गदूतहरू पनि उहाँको परिवारका सदस्यहरू हुन्‌। बाइबलमा तिनीहरूलाई “परमेश्‍वरका छोराहरू” भनिएको छ। (अय्युब ३८:७) स्वर्गदूतहरूको काम के हो? तिनीहरूले विगतमा मानिसहरूलाई कसरी मदत गरेका थिए? के तिनीहरू अहिले पनि हामीलाई मदत गर्न सक्छन्‌?—नोट ९ हेर्नुहोस्‌।

२. स्वर्गदूतहरूलाई कसले सृष्टि गर्नुभयो? तिनीहरूको सङ्‌ख्या कति छ?

सुरुमा हामीले स्वर्गदूतहरूलाई कसले सृष्टि गर्नुभयो भनी थाह पाउनुपर्छ। कलस्सी १:१६ मा यहोवा परमेश्‍वरले येसु सृष्टि गर्नुभएपछि “स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि” गर्नुभयो भनी बताइएको छ। यसमा स्वर्गदूतहरू पनि पर्छन्‌। परमेश्‍वरले कति जना स्वर्गदूत सृष्टि गर्नुभयो? बाइबलअनुसार स्वर्गदूतहरूको सङ्‌ख्या लाखौँलाख छ।—भजन १०३:२०; प्रकाश ५:११.

३. अय्युब ३८:४-७ ले स्वर्गदूतहरूबारे के बताउँछ?

यहोवा परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुअघि स्वर्गदूतहरू सृष्टि गरिसक्नुभएको थियो भनेर बाइबल बताउँछ। पृथ्वी देखेपछि ती स्वर्गदूतहरूलाई कस्तो लाग्यो? तिनीहरू असाध्यै रमाए भनेर अय्युबको किताबमा वर्णन गरिएको छ। तिनीहरू एकसाथ मिलेर परमेश्‍वरको सेवा गर्थे।—अय्युब ३८:४-७.

स्वर्गदूतहरू परमेश्‍वरका सेवकहरूलाई मदत गर्छन्‌

४. स्वर्गदूतहरू मानिसहरूमा चासो राख्छन्‌ भनेर हामी किन भन्‍न सक्छौँ?

स्वर्गदूतहरूले सुरुदेखि मानिसहरूमा चासो राख्दै आएका छन्‌। यहोवा परमेश्‍वरले जुन उद्देश्‍य लिएर पृथ्वी र मानिसजाति सृष्टि गर्नुभयो, त्यो उद्देश्‍य कसरी पूरा हुनेछ भन्‍ने कुरामा पनि तिनीहरू चासो राख्छन्‌। (हितोपदेश ८:३०, ३१; १ पत्रुस १:११, १२) त्यसैले आदम र हव्वाले परमेश्‍वरको विद्रोह गर्दा ती स्वर्गदूतहरूलाई पक्कै पनि दुःख लाग्यो। अनि अहिले धेरैजसो मानिस यहोवा परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌न नचाहेको देख्दा तिनीहरूलाई झनै दुःख लागेको हुनुपर्छ। अर्कोतिर कुनै मानिसले पश्‍चात्ताप गरेर यहोवा परमेश्‍वरकहाँ फर्क्यो भने तिनीहरू रमाउँछन्‌। (लुका १५:१०) तिनीहरू परमेश्‍वरको सेवा गर्ने मानिसहरूमा पनि विशेष चासो राख्छन्‌। यहोवा परमेश्‍वर पृथ्वीमा भएका आफ्ना मानिसहरूलाई मदत गर्न र तिनीहरूको रक्षा गर्न स्वर्गदूतहरू चलाउनुहुन्छ। (हिब्रू १:७, १४) आउनुहोस्‌, हामी केही उदाहरण विचार गरौँ।

“मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूतलाई पठाएर सिंहहरूको मुख थुनिदिनुभयो।”—दानिएल ६:२२

५. स्वर्गदूतहरूले परमेश्‍वरका सेवकहरूलाई कसरी मदत गरे, बताउनुहोस्‌।

यहोवा परमेश्‍वरले सदोम र गमोरा नाम गरेका सहरहरूलाई नाश गर्ने निर्णय गर्नुहुँदा लुत र उनको परिवारको जीवन बचाउन उहाँले दुई जना स्वर्गदूत पठाउनुभयो। (उत्पत्ति १९:१५, १६) त्यसको सयौँ वर्षपछि अर्को घटनामा दानिएल नाम गरेका भविष्यवक्‍तालाई शत्रुहरूले सिंहको खोरमा फ्याँकिदिए। तर तिनलाई सिंहहरूले कुनै हानि गरेनन्‌। किनभने “परमेश्‍वरले आफ्नो स्वर्गदूतलाई पठाएर सिंहहरूको मुख थुनिदिनुभयो।” (दानिएल ६:२२) पछि येसुका चेला पत्रुस झ्यालखानामा छँदा तिनलाई मुक्‍त गर्न यहोवा परमेश्‍वरले स्वर्गदूत पठाउनुभयो। (प्रेषित १२:६-११) येसु पृथ्वीमा हुनुहुँदा स्वर्गदूतहरूले उहाँलाई पनि मदत गरेका थिए। उदाहरणको लागि, उहाँको बप्तिस्मापछि “स्वर्गदूतहरूले उहाँको सेवासुसार” गरे। (मर्कुस १:१३) येसुको मृत्यु हुनुभन्दा केही समयअघि एक जना स्वर्गदूतले “उहाँलाई हौसला दिए।”—लुका २२:४३.

६. (क) स्वर्गदूतहरूले अहिले पनि परमेश्‍वरका सेवकहरूलाई कसरी मदत गर्छन्‌? (ख) हामी कुन प्रश्‍नहरूको जवाफ विचार गर्नेछौँ?

अहिले स्वर्गदूतहरू पहिले-पहिले जस्तो मानिसहरूकहाँ सीधै देखा पर्दैनन्‌। तर परमेश्‍वर आफ्ना सेवकहरूलाई मदत गर्न अहिले पनि स्वर्गदूतहरू चलाउनुहुन्छ। बाइबल भन्छ: “यहोवासित डराउनेहरूको चारैतिर उहाँका स्वर्गदूतले छाउनी हाल्नेछन्‌ अनि उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।” (भजन ३४:७) हाम्रा शत्रुहरू धेरै बलिया छन्‌ अनि तिनीहरू हामीलाई हानि पुऱ्‍याउन चाहन्छन्‌। त्यसैले हामीलाई स्वर्गदूतको मदत चाहिन्छ। तर हामीलाई हानि पुऱ्‍याउन खोज्ने ती शत्रुहरू को हुन्‌? तिनीहरू कहाँबाट आए? अनि तिनीहरू कसरी हामीलाई हानि पुऱ्‍याउन खोज्छन्‌? यी प्रश्‍नहरूको जवाफ थाह पाउन आदम र हव्वा सृष्टि भएको केही समयपछि के भयो, विचार गरौँ।

हाम्रा अदृश्‍य शत्रुहरू

७. सैतानको बहकाउमा परेर मानिसहरूले के गरेका छन्‌?

हामीले अध्याय ३ मा एक जना स्वर्गदूतले परमेश्‍वरको विद्रोह गऱ्‍यो अनि त्यसले अरूमाथि राज गर्ने चाह गऱ्‍यो भनेर सिक्यौँ। बाइबलले त्यस स्वर्गदूतलाई सैतान अर्थात्‌ दियाबल भनेको छ। (प्रकाश १२:९) सैतान अरूले पनि परमेश्‍वरको विद्रोह गरेको चाहन्थ्यो। त्यो हव्वालाई बहकाउन सफल भयो। त्यस समयदेखि यता त्यसले थुप्रै मानिसलाई बहकाएको छ। तर हाबिल, हनोक र नुहजस्ता मानिसले भने यहोवा परमेश्‍वरलाई कहिल्यै त्यागेनन्‌।—हिब्रू ११:४, ५, ७.

८. (क) केही स्वर्गदूतले कसरी परमेश्‍वरको विद्रोह गरे? (ख) जलप्रलयबाट बच्न प्रेतहरूले के गरे?

पछि नुहको समयमा केही स्वर्गदूतले सैतानको कुरा सुनेर परमेश्‍वरको विद्रोह गरे। तिनीहरू पृथ्वीमा आएर मानिसको रूप धारण गरे। किनकि तिनीहरू पृथ्वीका स्त्रीहरूलाई आफ्नो पत्नी बनाउन चाहन्थे। (उत्पत्ति ६:२ पढ्‌नुहोस्‌) तर स्वर्गदूतहरूले त्यसो गर्नु गलत थियो। (यहुदा ६) ती दुष्ट स्वर्गदूतहरूजस्तै त्यतिबेलाका थुप्रै मानिस पनि भ्रष्ट र हिंस्रक भए। त्यसैले यहोवा परमेश्‍वरले पूरै पृथ्वी जलमग्न हुनेगरि पानी पारेर दुष्ट मानिसहरूलाई नाश गर्ने निर्णय गर्नुभयो। तर उहाँले आफ्ना वफादार मानिसहरूलाई भने जलप्रलयबाट बचाउनुभयो। (उत्पत्ति ७:१७, २३) त्यस जलप्रलयबाट बच्न ती दुष्ट स्वर्गदूतहरू स्वर्ग फर्के। बाइबलले ती दुष्ट स्वर्गदूतहरूलाई प्रेतहरू भनेको छ। परमेश्‍वरको विद्रोह गरेर तिनीहरूले सैतानको पक्ष लिए र सैतान तिनीहरूको शासक बन्यो।—मत्ति ९:३४.

९. (क) प्रेतहरू स्वर्ग फर्केपछि तिनीहरूलाई के भयो? (ख) अब हामी के विचार गर्नेछौँ?

ती प्रेतहरूले विद्रोह गरेको हुनाले यहोवा परमेश्‍वरले तिनीहरूलाई फेरि आफ्नो परिवारको सदस्य हुन दिनुभएन। (२ पत्रुस २:४) हुनत ती प्रेतहरूले अहिले मानव शरीर धारण गर्न सक्दैनन्‌ तर तिनीहरूले अझै पनि ‘सारा संसारलाई ठगिरहेका छन्‌।’ (प्रकाश १२:९; १ युहन्‍ना ५:१९) तिनीहरूले कसरी धेरै मानिसलाई बहकाएर परमेश्‍वरदेखि टाढा लगेका छन्‌, आउनुहोस्‌ विचार गरौँ।२ कोरिन्थी २:११ पढ्‌नुहोस्‌।

प्रेतहरू मानिसहरूलाई कसरी बहकाउँछन्‌?

१०. प्रेतहरूले मानिसहरूलाई कसरी आफ्नो सिकार बनाउँछन्‌?

१० मानिसहरूलाई आफ्नो सिकार बनाउन प्रेतहरूले थुप्रै तरिका चलाउँछन्‌। मानिसहरूले आफैले अथवा धामी-झाँक्रीमार्फत प्रेतहरूसित सम्पर्क राख्छन्‌। तन्त्रमन्त्र वा यस्तै कुनै माध्यम वा विधिद्वारा प्रेतहरूसित सम्पर्क राख्नुलाई प्रेतविद्या भनिन्छ। बाइबलले प्रेतहरूसित कुनै किसिमको सम्बन्ध नराख्न आज्ञा दिएको छ। (गलाती ५:१९-२१) सिकारीले जनावरहरू पक्रन पासो थापेजस्तै प्रेतहरूले पनि मानिसहरूलाई आफ्नो वशमा पार्न विभिन्‍न पासो थाप्छन्‌।—नोट २६ हेर्नुहोस्‌।

११. ज्योतिषविद्या भनेको के हो? हामी किन त्यसबाट टाढै बस्नुपर्छ?

११ प्रेतहरूले थाप्ने एउटा पासो ज्योतिषविद्या हो। मानिसहरू ज्योतिषविद्याको सहारा लिएर आफ्नो भविष्य जान्‍न अथवा आफूलाई थाह नभएको कुरा पत्ता लगाउन खोज्छन्‌। चिना हेर्ने, हात हेर्ने, राशिफल हेर्ने, सपनाको अर्थ खुलाउने, तास हेरेर भविष्य बताउने, जोखना हेर्ने जस्ता कुराहरू यसमा पर्छन्‌। धेरै मानिसलाई यस्ता क्रियाकलापमा भाग लिनु कुनै खतरा होइन जस्तो लाग्छ। तर वास्तवमा यो असाध्यै खतरनाक कुरा हो। उदाहरणको लागि, जोखना हेर्ने मानिसहरूले प्रेतहरूसित मिलेर काम गरिरहेका हुन्छन्‌ भनेर बाइबल बताउँछ। बाइबलको प्रेषित १६:१६-१८ मा हेऱ्‍यौँ भने त्यहाँ “भविष्य बताउने प्रेत”-ले एउटी केटीलाई ‘जोखना हेर्न’ मदत गरेको विवरण पाइन्छ। प्रेषित पावलले त्यो केटीमा बास गरेको प्रेतलाई धपाएपछि उसले भविष्य बताउन सकिन।

१२. (क) मरिसकेका मानिसहरूसित सम्पर्क गर्न खोज्नु किन खतरनाक छ? (ख) परमेश्‍वरका सेवकहरू प्रेतविद्या र ज्योतिषविद्या मुछिएको रीतिथितिमा किन कहिल्यै भाग लिँदैनन्‌?

१२ प्रेतहरूले मानिसहरूलाई थाप्ने अर्को पासो पितृहरूसित कुरा गर्न सकिन्छ भन्‍ने अन्धविश्‍वास हो। पितृहरू कुनै अर्को लोकमा जीवितै छन्‌ र हामी तिनीहरूसित सम्पर्क राख्न सक्छौँ अथवा तिनीहरूलाई खुसी बनाएनौँ भने तिनीहरूले हामीलाई हानि पुऱ्‍याउन सक्छन्‌ भनी मानिसहरूले विश्‍वास गरेको प्रेतहरू चाहन्छन्‌। जस्तै: आफन्त वा साथीभाइको मृत्यु हुँदा मानिसहरू झाँक्रीहरूकहाँ जान्छन्‌। झाँक्रीहरूले मरिसकेको उक्‍त व्यक्‍तिको विषयमा कुनै अचम्मलाग्दो कुरा बताउन सक्छन्‌ अथवा मरेको व्यक्‍तिको जस्तै स्वरमा बोल्न सक्छन्‌। (१ समुएल २८:३-१९) त्यस्तैगरि अन्त्येष्टिको बेला गरिने थुप्रै रीतिथिति पनि मरिसकेको व्यक्‍ति कतै जीवित छ भन्‍ने विश्‍वासमा आधारित हुन्छ। विधवाले पालन गर्नुपर्ने विभिन्‍न रीतिथिति अनि मृतकको निम्ति मनाइने वार्षिकी पनि मरिसकेको व्यक्‍ति कतै जीवितै छ र उसलाई खुसी राख्नुपर्छ भन्‍ने विश्‍वासमा आधारित हुन्छ। साँचो ख्रिष्टियनहरूले यस्ता रीतिथितिमा भाग नलिँदा परिवार अनि समाजले आलोचना गर्न सक्छ, गालीगलौज अनि बेइज्जत गर्न सक्छ वा नाता सम्बन्ध तोड्‌न सक्छ। तर साँचो ख्रिष्टियनहरूलाई मरेका मानिसहरू अन्त कतै जीवित छैन भनेर थाह छ। मरिसकेको मानिससित सम्पर्क राख्न असम्भव छ अनि तिनीहरूले हामीलाई हानि पुऱ्‍याउन पनि सक्दैनन्‌। (भजन ११५:१७) त्यसैले होसियार हुनुहोस्‌। मरिसकेका मानिसहरूसित वा प्रेतहरूसित कुनै पनि तरिकामा सम्पर्क राख्ने कोसिस नगर्नुहोस्‌। प्रेतविद्या र ज्योतिषविद्या मुछिएको कुनै पनि रीतिथितिमा कहिल्यै भाग नलिनुहोस्‌।व्यवस्था १८:१०, ११ पढ्‌नुहोस्‌; यसैया ८:१९.

१३. पहिला प्रेतहरूसित डराउँदै जीवन बिताएका धेरै मानिसले अहिले के गर्न सकेका छन्‌?

१३ प्रेतहरू डर-त्रास देखाएर पनि मानिसहरूलाई आफ्नो पासोमा पार्छन्‌। सैतान र त्यसका प्रेतहरूलाई आफ्नो “समय थोरै मात्र” बाँकी छ भनेर थाह छ। परमेश्‍वरले चाँडै तिनीहरूलाई पृथ्वीबाट पनि हटाउनुहुनेछ। त्यसैले तिनीहरू पहिलाभन्दा झनै हिंस्रक र क्रुद्ध भएका छन्‌। (प्रकाश १२:१२, १७) तैपनि पहिला प्रेतहरूसित डराउँदै जीवन बिताएका हजारौँ मानिस अहिले भने डराउँदैनन्‌। तिनीहरू कसरी प्रेतहरूको मुठीबाट फुत्कन सके?

प्रेतहरूको विरोध गर्नुहोस्‌ र तिनीहरूको पासोबाट मुक्‍त हुनुहोस्‌

१४. प्रेतहरूको पासोबाट मुक्‍त हुन हामीले के गर्नुपर्छ?

१४ प्रेतहरूको विरोध कसरी गर्ने अनि तिनीहरूको पासोबाट कसरी मुक्‍त हुने, बाइबलले सिकाउँछ। उदाहरणको लागि, लगभग २ हजार वर्षअघि एफिसस भन्‍ने सहरका कोही-कोही प्रेतविद्यामा भाग लिन्थे। तर बाइबलबाट सत्य कुरा सिकेपछि प्रेतविद्याबाट मुक्‍त हुन तिनीहरूले कस्तो कदम चाले? बाइबल भन्छ: “पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए।” (प्रेषित १९:१९) तिनीहरू ख्रिष्टियन बन्‍न चाहन्थे, त्यसैले तिनीहरूले जादुगरीसित सम्बन्धित सबै किताब नष्ट गरे। अहिले हामीले पनि त्यसै गर्नुपर्छ। हामी यहोवा परमेश्‍वरको उपासना गर्न चाहन्छौँ भने प्रेतहरूसित सम्बन्धित सबै चिजबिज हटाउनुपर्छ। अनि जादुगरी, टुनामुनाजस्ता कुराहरूलाई प्रोत्साहन दिने अथवा त्यसलाई आकर्षक अनि रोमाञ्चकारी बनाउने किताब, पत्रिका, राशिफल, चलचित्र, सङ्‌गीत, गेम र पोस्टरहरू पनि हामीले हेर्नु वा राख्नु हुँदैन। मानिसहरूले आफ्नो सुरक्षाको लागि लगाउने जन्तर वा बुटीहरू पनि हामीले लगाउनु वा राख्नु हुँदैन।—१ कोरिन्थी १०:२१.

१५. सैतान र त्यसका प्रेतहरूको आक्रमणबाट बच्न हामीले अरू के गर्नुपर्छ?

१५ एफिससका मानिसहरूले जादुगरीसित सम्बन्धित किताबहरू नष्ट गरेको केही वर्षपछि पावलले तिनीहरूले अझै “सङ्‌घर्ष” गर्नुपर्ने र “दुष्ट दूतहरूका दलहरूसित” लड्‌नुपर्ने आवश्‍यकताबारे लेखे। (एफिसी ६:१२) तिनीहरूले किताबहरू नष्ट गरिसकेको भए तापनि प्रेतहरूले अझै पनि तिनीहरूलाई हानि पुऱ्‍याउन खोजिरहेका थिए। त्यसोभए तिनीहरूले अरू के गर्नुपर्थ्यो? पावलले यसो भने: “विश्‍वासको ठूलो ढाल उठाओ, जसद्वारा तिमीहरूले त्यस दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।” (एफिसी ६:१६) ढालले सिपाहीको रक्षा गरेजस्तै हाम्रो विश्‍वासले हाम्रो रक्षा गर्न सक्छ। यहोवा परमेश्‍वरले हाम्रो रक्षा गर्नुहुन्छ भनेर ढुक्क छौँ भने हामीले सैतान र त्यसका प्रेतहरूको विरोध गर्न सक्छौँ।—मत्ति १७:२०.

१६. यहोवा परमेश्‍वरमाथिको विश्‍वासलाई बलियो बनाउन हामीले के गर्नुपर्छ?

१६ यहोवा परमेश्‍वरमाथिको विश्‍वासलाई बलियो बनाउन हामीले हरेक दिन बाइबल पढ्‌नुपर्छ अनि उहाँसित मदत माग्नुपर्छ। यदि यहोवा परमेश्‍वरमाथिको हाम्रो विश्‍वास बलियो छ भने सैतान र त्यसका प्रेतहरूले हामीलाई केही हानि गर्न सक्ने छैनन्‌।—१ युहन्‍ना ५:५.

१७. प्रेतहरूको आक्रमणबाट जोगिन हामीले अरू के गर्नुपर्छ?

१७ एफिससका ख्रिष्टियनहरूले अर्को एउटा कुरा पनि गर्नुपर्थ्यो। तिनीहरू तन्त्रमन्त्र अनि प्रेतहरूको शिक्षा व्याप्त भएको सहरमा बस्थे। त्यसैले पावलले तिनीहरूलाई यसो भने: “हरबखत प्रार्थना गरिरहो।” (एफिसी ६:१८) तिनीहरूले यहोवा परमेश्‍वरलाई निरन्तर प्रार्थना गरेर उहाँको मदत माग्नुपर्थ्यो। हामीले पनि त्यसै गर्नुपर्छ। हामी पनि तन्त्रमन्त्र अनि प्रेतहरूको शिक्षा व्याप्त भएको संसारमा बस्छौँ। त्यसैले हामीले यहोवा परमेश्‍वरसित सुरक्षा माग्दै उहाँको नामै लिएर प्रार्थना गर्नुपर्छ। (हितोपदेश १८:१० पढ्‌नुहोस्‌) प्रेतहरूको आक्रमणबाट जोगाउनुहोस्‌ भनेर प्रार्थना गरिरह्‍यौँ भने यहोवा परमेश्‍वरले हाम्रो रक्षा गर्नुहुनेछ।—भजन १४५:१९; मत्ति ६:१३.

१८, १९. (क) हामी सैतान र त्यसका प्रेतहरूलाई कसरी जित्न सक्छौँ? (ख) अर्को अध्यायमा कुन प्रश्‍नको जवाफ पाउनेछौँ?

१८ हामीले तन्त्रमन्त्रसित सम्बन्धित सबै कुरा हटाउनुपर्छ अनि प्रेतहरूसित सम्बन्धित सबै कुराबाट अलग बस्नुपर्छ। अनि यहोवा परमेश्‍वरले हाम्रो रक्षा गर्नुहुनेछ भनेर बलियो भरोसा राख्नुपर्छ। त्यसो गऱ्‍यौँ भने हामी सैतान र त्यसका प्रेतहरूको विरोध गर्न सक्छौँ। हामी तिनीहरूसित डराउनु पर्दैन। (याकुब ४:७, ८ पढ्‌नुहोस्‌) किनभने यहोवा परमेश्‍वर प्रेतहरूभन्दा धेरै गुणा शक्‍तिशाली हुनुहुन्छ। उहाँले नुहको समयमा प्रेतहरूलाई सजाय दिनुभएको थियो र भविष्यमा उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ। (यहुदा ६) नबिर्सनुहोस्‌, हामी एक्लैले प्रेतहरूसित लड्‌नु पर्दैन। यहोवा परमेश्‍वरले आफ्ना स्वर्गदूतहरू चलाएर हाम्रो रक्षा गर्दै हुनुहुन्छ। (२ राजा ६:१५-१७) त्यसैले यहोवा परमेश्‍वरको मदत पाएर हामी सैतान र त्यसका प्रेतहरूलाई जित्न सक्छौँ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—१ पत्रुस ५:६, ७; २ पत्रुस २:९.

१९ यदि सैतान र त्यसका प्रेतहरूले गर्दा नै हामीलाई यति धेरै दुःख भइरहेको हो भने परमेश्‍वरले तिनीहरूलाई अहिलेसम्म किन नाश गर्नुभएको छैन त? यस प्रश्‍नको जवाफ अर्को अध्यायमा पाउनेछौँ।