अध्याय छ

मानिस मरेपछि कहाँ जान्छ?

मानिस मरेपछि कहाँ जान्छ?

१-३. कसैको मृत्यु हुँदा मानिसहरू कस्ता प्रश्‍नहरू सोध्छन्‌ र यी प्रश्‍नहरूको जवाफ विभिन्‍न धर्मले कसरी दिएको छ?

बाइबलमा ‘मृत्यु नहुने’ समय आउँदै छ भनेर प्रतिज्ञा गरिएको छ। (प्रकाश २१:४) फिरौतीको बलिदानले गर्दा कसरी मानिसहरूले सधैँभरि बाँच्ने जीवन पाउन सम्भव भयो, हामीले अध्याय ५ मा सिक्यौँ। हाम्रो अगाडि त्यस्तो आशा भए तापनि हरेक दिन मानिसहरू मर्छन्‌। (उपदेशक ९:५) त्यसैले हाम्रो मनमा यस्तो प्रश्‍न उठ्‌छ, मानिस मरेपछि कहाँ जान्छ?

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा हामीलाई यस प्रश्‍नले झनै पिरोल्छ। हामीलाई यस्तो लाग्न सक्छ: ‘ऊ अहिले कहाँ छ होला? उसले कतै दुःख पो पाइरहेको छ कि? उसले हामीलाई हेरिरहेको छ कि? के उसले हामीलाई मदत गर्न सक्छ? के उसलाई फेरि भेट्‌न पाइएला?’

यी प्रश्‍नहरूको जवाफ धर्मपिच्छे फरक-फरक छ। कुनै-कुनै धर्मले असल मानिस स्वर्ग जान्छ, खराब मानिस नरक जान्छ भनेर सिकाउँछ। कुनै धर्मले चाहिँ मरेको मानिसको आत्मा तिनीहरूको पुर्खासित मिल्न जान्छ भनेर सिकाउँछ। अनि कतिपय धर्मले मरेपछि आ-आफ्नो कर्मअनुसार मानिसको न्याय गरिन्छ अनि तिनीहरूको पुनर्जन्म हुन्छ अर्थात्‌ तिनीहरू अर्कै मानिस वा जनावर भएर फेरि जन्मिन्छन्‌ भनेर सिकाउँछ।

४. मृत्युबारे धेरैजसो धर्मले सिकाउने एउटा कुरा के हो?

विभिन्‍न धर्मले फरक-फरक कुरा सिकाए पनि धेरैजसो धर्मले सिकाउने एउटा कुरा भने ठ्याक्कै मिल्छ। त्यो हो, मानिस मरे पनि उसको कुनै न कुनै अंश जीवितै रहन्छ। तर के यो कुरा साँचो हो?

मानिस मरेपछि कहाँ जान्छ?

५, ६. मानिस मरेपछि के हुन्छ?

मानिस मरेपछि के हुन्छ भन्‍ने कुरा यहोवा परमेश्‍वरलाई थाह छ। मानिस मरेपछि उसको कुनै पनि अंश जीवित रहँदैन भनेर उहाँले बाइबलमा बताउनुभएको छ। मृत्यु जीवनको उल्टो हो। त्यसैले मृत्युपछि उसको भावना, सम्झने क्षमता कतै जीवित भएर बस्दैन। * मरेको मानिसले देख्न, सुन्‍न वा सोच्न सक्दैन।

“मरेकाहरूलाई . . . केही पनि थाह हुँदैन” भनेर राजा सुलेमानले लेखे। मरेको मानिसले कसैलाई प्रेम गर्न वा घृणा गर्न सक्दैन अनि उसले ‘चिहानमा न कुनै काम गर्न, न केही सोच्न सक्छ अनि त्यहाँ न ज्ञान, न बुद्धि नै हुन्छ।’ (उपदेशक ९:५, ६, १० पढ्‌नुहोस्‌) बाइबलको भजन १४६:४ मा बताइएअनुसार मानिस मरेपछि उसका “विचारहरू” पनि मर्छन्‌।

मरिसकेको मानिसको अवस्थाबारे येसुले के भन्‍नुभयो?

यहोवा परमेश्‍वरले मानिसहरूलाई पृथ्वीमा सधैँभरि बाँच्नको लागि सृष्टि गर्नुभयो

७. येसुले मृत्युलाई केसित तुलना गर्नुभयो?

येसुले आफ्नो मिल्ने साथी लाजरसको मृत्यु हुँदा आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “हाम्रा मित्र लाजरस सुतेका छन्‌।” तर येसुले लाजरस आराम गरिरहेका छन्‌ भन्‍न खोज्नुभएको थिएन। किनभने उहाँले यसो पनि भन्‍नुभयो: “लाजरस मरिसकेका छन्‌।” (युहन्‍ना ११:११-१४) यसरी येसुले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। येसुले लाजरस स्वर्गमा छन्‌ वा मरिसकेका आफन्तहरूसित छन्‌ भन्‍नुभएन। अनि लाजरसले नरकमा सास्ती पाइरहेका छन्‌ वा तिनी अर्कै मानिस अथवा जनावर भएर फेरि जन्मिएका छन्‌ पनि भन्‍नुभएन। लाजरसको अवस्था गहिरो निद्रामा परेको मानिसको जस्तै थियो। बाइबलका अरू पदमा पनि मृत्युलाई गहिरो निद्रासित तुलना गरिएको छ। येसुका एक जना चेला स्तिफनसको हत्यापछि “तिनी मृत्युको चिर निद्रामा परे” भनी बाइबलमा बताइएको छ। (प्रेषित ७:६०) पावलले पनि आफ्नो समयका केही ख्रिष्टियन “मृत्युको चिर निद्रामा परिसकेका छन्‌” भनेर लेखे।—१ कोरिन्थी १५:६.

८. परमेश्‍वरले मानिसलाई मर्नको लागि सृष्टि गर्नुभएको थिएन भनेर हामी किन भन्‍न सक्छौँ?

परमेश्‍वरले आदम र हव्वालाई मर्नको लागि सृष्टि गर्नुभएको थिएन। यहोवा परमेश्‍वरले तिनीहरू स्वस्थ भइरहून्‌ र सधैँभरि बाँचून्‌ भनेर बनाउनुभएको थियो। उहाँले मानिसजातिको मनमा सधैँभरि बाँच्ने इच्छा पनि हालिदिनुभएको थियो। (उपदेशक ३:११) कोही पनि आमाबुबा आफ्नो छोराछोरी बूढाबूढी भएको र मरेको चाहँदैन। यहोवा परमेश्‍वर पनि हामी बूढाबूढी भएको र मरेको हेर्न चाहनुहुन्‍न। यदि परमेश्‍वरले हामीलाई सधैँभरि बाँच्नको लागि सृष्टि गर्नुभएको थियो भने हामी किन मर्छौँ त?

हामी किन मर्छौँ?

९. यहोवा परमेश्‍वरले दिनुभएको आज्ञा पालन गर्न आदम र हव्वालाई किन गाह्रो थिएन?

अदनको बगैँचामा यहोवा परमेश्‍वरले आदमलाई यो आज्ञा दिनुभएको थियो: “बगैँचाको हरेक रूखबाट चाहेजति फल खान सक्छौ। तर असल र खराबको ज्ञानको रूखको फलचाहिँ खाँदै नखानू किनकि जुन दिन तिमीले त्यो खान्छौ, त्यही दिन तिमी मर्नेछौ।” (उत्पत्ति २:९, १६, १७) यो आज्ञा पालन गर्न गाह्रो थिएन। अनि आदम र हव्वाको लागि असल के हो र खराब के हो, त्यो निर्धारण गर्ने अधिकार यहोवा परमेश्‍वरसित थियो। उहाँको आज्ञा मानेर तिनीहरूले उहाँको अख्तियार स्विकारेको देखाउन सक्थे। साथै उहाँले दिनुभएको सबै कुराको लागि धन्यवादी भएको कुरा पनि तिनीहरूले देखाउन सक्थे।

१०, ११. (क) सैतानले आदम र हव्वालाई कसरी बहकायो? (ख) आदम र हव्वाको गल्ती किन माफी दिन लायकको थिएन?

१० तर दुःखको कुरा, आदम र हव्वाले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌। सैतानले हव्वालाई यसो भन्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्‍नुभएको हो?” हव्वाले यस्तो जवाफ दिइन्‌: “हामी बगैँचाका सबै रूखका फल खान सक्छौँ। तर बगैँचाको बीचमा भएको रूखबारे भने परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘त्यसको फल खाँदै नखानू, त्यसलाई छुँदा पनि नछुनू नत्र तिमीहरू मर्नेछौ।’”—उत्पत्ति ३:१-३.

११ त्यसपछि सैतानले यसो भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ! किनकि परमेश्‍वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌। तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।” (उत्पत्ति ३:४-६) आफ्नो लागि के असल, के खराब, त्यो आफैले निर्णय गर्न सक्छ भनेर हव्वाले सोचेको सैतान चाहन्थ्यो। परमेश्‍वरको आज्ञा पालन नगर्दा हुन सक्ने नतिजाबारे पनि सैतानले झूट बोल्यो। सैतानले हव्वा मर्नेछैन भन्यो। त्यसैले हव्वाले फल टिपेर खाइन्‌ र आफ्नो पतिलाई पनि दिइन्‌। आदम र हव्वालाई यहोवा परमेश्‍वरले त्यो फल नखानू भन्‍नुभएको छ भनेर थाह थियो अनि त्यो आज्ञा पालन गर्न गाह्रो पनि थिएन। तर तिनीहरूले परमेश्‍वरको आज्ञा पालन नगर्ने निर्णय गरे र त्यो फल खाए। यसरी तिनीहरूले स्वर्गमा बस्नुहुने आफ्नो मायालु बुबाको अनादर गरे। तिनीहरूको गल्ती माफी दिन लायकको थिएन।

१२. आदम र हव्वाले यहोवा परमेश्‍वरको आज्ञा नमान्‍नु किन दुःखलाग्दो कुरा हो?

१२ हाम्रो पहिलो आमाबुबाले त्यसरी आफ्नो सृष्टिकर्ताको अनादर गर्नु धेरै दुःखलाग्दो कुरा हो! आफूले निकै मेहनत गरेर हुर्काएको छोरा वा छोरीले तपाईँको विरोध गर्छ र तपाईँले भनेको पटक्कै मान्दैन भने तपाईँलाई कस्तो लाग्छ? धेरै चित्त दुख्छ नि, होइन र?

आदम माटोबाट बनाइएका थिए र माटोमै मिले

१३. यहोवा परमेश्‍वरले आदमलाई ‘तिमी माटोमै मिल्नेछौ’ भन्‍नुको अर्थ के थियो?

१३ परमेश्‍वरको आज्ञा पालन नगरेकोले आदम र हव्वाले सधैँभरि बाँच्ने मौका गुमाए। यहोवा परमेश्‍वरले आदमलाई यसो भन्‍नुभयो: “तिमी माटै हौ र माटोमै मिल्नेछौ।” (उत्पत्ति ३:१९ पढ्‌नुहोस्‌) यसको मतलब आदमलाई माटोबाट बनाइएको थियो, त्यसैले तिनी मरेपछि फेरि माटोमै मिल्ने थिए। (उत्पत्ति २:७) पाप गरेपछि आदम मरे र तिनको अस्तित्व मेटियो।

१४. हामी किन मर्छौँ?

१४ आदम र हव्वाले परमेश्‍वरको आज्ञा पालन गरेको भए तिनीहरू आजसम्म जीवितै हुनेथिए। तर तिनीहरूले उहाँको आज्ञा पालन नगरेर पाप गरे। अन्तमा तिनीहरू मरे। पाप भनेको आमाबुबाबाट छोराछोरीमा सर्ने घातक रोगजस्तै हो। हाम्रो पहिलो आमाबुबाबाट हामी सबैमा पाप सऱ्‍यो। त्यसैले हामी सबै जना जन्मँदै पापी भएर जन्मन्छौँ अनि एकदिन हामी सबै मर्छौँ। (रोमी ५:१२) तर परमेश्‍वरले कहिल्यै त्यस्तो उद्देश्‍य राख्नुभएको थिएन। मानिसहरू मरून्‌ भनेर उहाँले कहिल्यै चाहनुभएको थिएन। बाइबलले मृत्युलाई “शत्रु” भनेको छ।—१ कोरिन्थी १५:२६.

सत्य कुरा थाह पाउँदा हुने फाइदा

१५. मृत्युबारे सत्य कुरा थाह पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?

१५ मृत्युबारे सत्य कुरा थाह पाउँदा हामी झूटा शिक्षाहरूको पासोमा पर्नदेखि जोगिन्छौँ। मरिसकेको मानिसले कुनै किसिमको दुःख वा पीडा महसुस गर्दैन भनेर बाइबलले बताउँछ। हामी तिनीहरूसित कुरा गर्न सक्दैनौँ न त तिनीहरू हामीसित कुरा गर्न सक्छन्‌। हामी तिनीहरूलाई मदत गर्न सक्दैनौँ न त तिनीहरू हामीलाई मदत गर्न सक्छन्‌। तिनीहरूले हाम्रो कुनै हानि गर्न सक्दैनन्‌, त्यसैले तिनीहरूसित डराउनु पर्दैन। तर थुप्रै धर्मले मानिस मरेपछि अर्कै लोकमा जान्छ अनि धर्मगुरुहरूलाई दान दियौँ भने मरेका मानिसहरूले ती कुरा पाउँछन्‌ भनेर सिकाउँछ। तर मानिस मरेपछि कहाँ जान्छ, त्यसबारे सत्य कुरा थाह पाउँदा हामीलाई त्यस्ता झूटा कुराहरूले बहकाउन सक्दैन।

१६. थुप्रै धर्मले मरिसकेका मानिसहरूको अवस्थाबारे कस्तो कुरा सिकाउँछ?

१६ सैतान झूटो धर्मलाई आफ्नो माध्यम बनाएर हामीलाई झूटो कुरा सिकाउँछ। उदाहरणको लागि, मानिस मरे पनि उसको कुनै न कुनै अंश भने जीवितै रहन्छ भनेर कुनै-कुनै धर्मले सिकाउँछ। के तपाईँको धर्मले पनि त्यस्तै कुरा सिकाउँछ? अथवा मरिसकेका मानिसको अवस्थाबारे बाइबलले जे भन्छ, त्यही सिकाउँछ? सैतानले झूटो कुरा सिकाएर मानिसहरूलाई यहोवा परमेश्‍वरबाट टाढा लैजाने कोसिस गर्छ।

१७. पापीहरूलाई नरकको आगोमा हालिन्छ भन्‍ने शिक्षाले किन यहोवाको बदनाम गर्छ?

१७ मृत्युबारे धेरैजसो धर्मले सिकाउने कुरा अचम्मलाग्दो छ। उदाहरणको लागि, कुनै-कुनै धर्मले पापी मानिसहरूलाई नरकको आगोमा हालेर सधैँभरि सास्ती दिइन्छ भनेर सिकाउँछ। यस्तो झूटो कुराले यहोवा परमेश्‍वरको बदनाम गर्छ। उहाँ मानिसहरूलाई कहिल्यै सास्ती दिनुहुन्‍न! (१ युहन्‍ना ४:८ पढ्‌नुहोस्‌) कुनै आमा वा बुबाले आफ्नो छोराछोरीलाई सजाय दिन उसको हात आगोमा झोस्छ भने तपाईँलाई कस्तो लाग्छ? त्यो आमा वा बुबा कति निर्दयी रहेछ भनेर सोच्नुहुन्छ नि, होइन र? के तपाईँ त्यस्तो व्यक्‍तिसित घनिष्ठ हुन चाहनुहुन्छ र? यहोवा त्यस्तै निर्दयी परमेश्‍वर हुनुहुन्छ भनेर हामीले सोचेको सैतान चाहन्छ!

१८. हामी मरेका मानिसहरूसित किन डराउनु पर्दैन?

१८ केही धर्मले मानिस मरेपछि प्रेत बन्छ भनेर सिकाउँछ। ती प्रेतहरू या त हाम्रो मित्र या हाम्रो शत्रु बन्‍न सक्ने भएकोले तिनीहरूको चित्त बुझाउनुपर्छ अनि तिनीहरूलाई चिढ्याउनु हुँदैन भनेर पनि सिकाउँछ। त्यस्ता झूटा कुराहरूमा विश्‍वास गर्ने मानिसहरू संसारमा धेरै छन्‌। तिनीहरू मरेका मानिसहरूसित डराउँछन्‌। त्यसैले यहोवा परमेश्‍वरको सट्टा तिनीहरूको उपासना गर्छन्‌। मरेका मानिसहरूले देख्न, सुन्‍न अनि केही पनि अनुभव गर्न सक्दैनन्‌ भनेर नबिर्सनुहोस्‌। त्यसैले हामी तिनीहरूसित डराउनु पर्दैन। यहोवा परमेश्‍वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँ साँचो परमेश्‍वर हुनुहुन्छ र हामीले उहाँको मात्र उपासना गर्नुपर्छ।—प्रकाश ४:११.

१९. मृत्युबारे सत्य कुरा थाह पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?

१९ मृत्युबारे सत्य कुरा थाह पायौँ भने विभिन्‍न कुरीति अनि अन्धविश्‍वासबाट हामी मुक्‍त हुन्छौँ। अनि यो सत्यले हामीलाई यहोवा परमेश्‍वरले हाम्रो जीवन र हाम्रो भविष्यबारे गर्नुभएको सुन्दर प्रतिज्ञाहरू सिक्न अनि बुझ्न मदत गर्छ।

२०. हामी अर्को अध्यायमा के सिक्नेछौँ?

२० हजारौँ वर्षअघि अय्युब नाम गरेका एक जना भक्‍त मानिसले यसरी सोधेका थिए: “मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?” (अय्युब १४:१४) यसबारे बाइबलले दिने जवाफ साँच्चै रोचक छ। हामी अर्को अध्यायमा यसबारे सिक्नेछौँ।

^ अनु. 5 मानिस मरे पनि उसको आत्मा मर्दैन भनेर कोही-कोही विश्‍वास गर्छन्‌। तर बाइबलले यस्तो कुरा सिकाउँदैन। नोट १८ हेर्नुहोस्‌।