पाठ १३

अग्रगामी कसलाई भनिन्छ?

अग्रगामी कसलाई भनिन्छ?

क्यानाडा

घर-घरको प्रचारकार्य

बाइबल अध्ययन

व्यक्‍तिगत अध्ययन

“अग्रगामी” शब्दले नयाँ ठाउँमा गएर कुनै कामको सुरुवात गर्ने व्यक्‍तिलाई बुझाउँछ। येशूलाई पनि एक अर्थमा अग्रगामी भन्‍न सकिन्छ। किन? किनभने मानिसहरूको जीवन बचाउने सन्देश सुनाउन र उनीहरूले उद्धार पाउने बाटो खोल्न येशूलाई स्वर्गबाट पृथ्वीमा पठाइयो। (मत्ती २०:२८) ‘चेला बनाउने’ काममा सकेसम्म धेरै समय बिताएर आज येशूका अनुयायीहरूले उहाँको अनुकरण गर्दै छन्‌। (मत्ती २८:१९, २०) यी चेलाहरूमध्ये कोही-कोही अग्रगामीको रूपमा सेवा गर्छन्‌।

अग्रगामी भनेको आफ्नो पूरा समय प्रचारकार्यमा बिताउने व्यक्‍ति हो। यहोवाका साक्षीहरू सबैले सुसमाचार प्रचार गर्छन्‌। तर कोही-कोहीले भने जीवनमा छाँटकाँट गरेर हरेक महिना प्रचारकार्यमा ७० घण्टा बिताउँछन्‌। तिनीहरूलाई नियमित अग्रगामी भनिन्छ। प्रचारकार्यमा धेरै समय बिताउनको लागि तिनीहरू थोरै समय मात्र काम गरे पुग्ने जागिर खान्छन्‌। कोही-कोहीलाई भने राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न विशेष अग्रगामी-को रूपमा नियुक्‍त गरिन्छ। तिनीहरू हरेक महिना १३० घण्टा वा त्योभन्दा धेरै समय प्रचारकार्यमा बिताउँछन्‌। यहोवाले आफ्ना आवश्‍यकता पूरा गरिदिनुहुनेछ भनेर विश्‍वस्त हुँदै तिनीहरू सरल जीवन बिताउँछन्‌। (मत्ती ६:३१-३३; १ तिमोथी ६: ६-८) सबैले प्रचारकार्यमा मात्र आफ्नो पूरा समय बिताउन सक्दैनन्‌। तर परिस्थितिले दिएको बेला तिनीहरू महिनाको ३० वा ५० घण्टा प्रचारकार्यमा बिताउँछन्‌। तिनीहरूलाई सहायक अग्रगामी भनिन्छ।

अग्रगामीहरू परमेश्‍वर र मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित भएर सेवा गर्छन्‌। येशूले जस्तै आज हामी पनि आफू वरपरका मानिसहरूले परमेश्‍वर र उहाँको उद्देश्‍यबारे जान्‍नु एकदमै जरुरी छ भन्‍ने महसुस गर्छौं। (मर्कूस ६:३४) त्यसैले हामीसँग भएको ज्ञानले तिनीहरूलाई अहिल्यै मदत गर्नुका साथै भविष्यको लागि पक्का आशा पनि दिन्छ। अग्रगामीहरू छिमेकीप्रतिको प्रेमले उत्प्रेरित भई अरूलाई सुसमाचार सुनाउन आफ्नो समय र शक्‍ति खर्च गर्छन्‌। (मत्ती २२:३९; १ थिस्सलोनिकी २:८) यसो गर्दा अग्रगामीहरूको विश्‍वास बलियो हुन्छ, तिनीहरू यहोवासित घनिष्ठ हुन्छन्‌ र अझ आनन्दित हुन सक्छन्‌।—प्रेषित २०:३५.

  • अग्रगामी कसलाई भनिन्छ?

  • आफ्नो पूरा समय अग्रगामी सेवामा बिताउन कसै-कसैलाई केले उत्प्रेरित गर्छ?