पाठ १५

एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्‌?

एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्‌?

फिनल्याण्ड

सिकाउँदै

गोठालो भेट गर्दै

प्रचार गर्दै

हाम्रो सङ्‌गठनमा तलब लिएर सेवा गर्ने पास्टरहरू छैनन्‌। तर सुरु-सुरुका ख्रीष्टियन मण्डलीमा जस्तै ‘परमेश्‍वरको मण्डलीलाई गोठालोले झैं डोऱ्‍याउन’ योग्य निरीक्षकहरू भने नियुक्‍त गरिएका छन्‌। (प्रेषित २०:२८) यी निरीक्षक अर्थात्‌ एल्डरहरू परमेश्‍वरसित बलियो सम्बन्ध गाँसेका परिपक्व पुरुषहरू हुन्‌। यिनीहरू “करमा परेर होइन तर स्वेच्छाले; बेइमानीद्वारा केही हासिल गर्ने लोभले होइन तर तत्परता साथ” मण्डलीमा नेतृत्व लिन्छन्‌ र गोठालोले झैं सेवा गर्छन्‌। (१ पत्रुस ५:१-३) एल्डरहरूले हाम्रो लागि के-के गर्छन्‌?

हाम्रो ख्याल राख्छन्‌ र सुरक्षा गर्छन्‌। एल्डरहरूले बाइबलबाट निर्देशन दिन्छन्‌ अनि मण्डलीलाई यहोवासित घनिष्ठ रहिरहन मदत गर्छन्‌। यहोवाले सुम्पनुभएको यस जिम्मेवारीलाई एल्डरहरू गम्भीरतापूर्वक लिन्छन्‌। त्यसैले तिनीहरू परमेश्‍वरका जनमाथि हैकम जमाउन खोज्दैनन्‌, बरु हाम्रो हित हुने र हामीलाई आनन्द दिने कुरामा ध्यान दिन्छन्‌। (२ कोरिन्थी १:२४) गोठालोले आफ्नो एक-एक भेडाको ख्याल राख्न निकै मेहनत गरेजस्तै एल्डरहरू पनि मण्डलीका एक-एक सदस्यलाई राम्ररी चिन्‍ने प्रयास गर्छन्‌।—हितोपदेश २७:२३.

हामीलाई परमेश्‍वरको इच्छाअनुसार चल्न सिकाउँछन्‌। हाम्रो विश्‍वासलाई बलियो बनाउन र हामीलाई ढाडस दिन एल्डरहरू हरेक हप्ता हुने मण्डलीका सभाहरूमा अगुवाइ लिन्छन्‌। (प्रेषित १५:३२) यी विश्‍वासी पुरुषहरू प्रचारकार्यमा पनि अगुवाइ लिन्छन्‌। प्रचारकार्यको विभिन्‍न पक्षमा तिनीहरू हामीसँगसँगै भाग लिन्छन्‌ र हामीलाई तालिम दिन्छन्‌।

हामीलाई व्यक्‍तिगत तवरमा प्रोत्साहन दिन्छन्‌। यहोवासितको हाम्रो सम्बन्धलाई अझ घनिष्ठ बनाउन एल्डरहरू निकै प्रयास गर्छन्‌। हामीलाई राज्यभवनमा भेटेर वा हाम्रो घरमै आएर तिनीहरू हामीलाई बाइबलबाट मदत र सान्त्वना दिन्छन्‌।—याकूब ५:१४, १५.

धेरैजसो एल्डरले मण्डलीमा जिम्मेवारीहरू सम्हाल्नुका साथै जागिरमा र पारिवारिक दायित्व पूरा गर्नमा पनि आफ्नो समय र शक्‍ति खर्च गर्नुपर्ने हुन्छ। त्यसैले यी मेहनती एल्डरहरू हाम्रो आदर पाउन योग्य छन्‌।—१ थिस्सलोनिकी ५:१२, १३.

  • मण्डलीका एल्डरहरूले हाम्रो लागि के-के गर्छन्‌?

  • एल्डरहरूले कसरी हामी प्रत्येकलाई चासो देखाउँछन्‌?