पाठ २

हामीलाई किन यहोवाका साक्षी भनिन्छ?

हामीलाई किन यहोवाका साक्षी भनिन्छ?

नूह

अब्राहाम र सारा

मोशा

येशू ख्रीष्ट

थुप्रैले यहोवाका साक्षीहरू भनेको एउटा नयाँ धर्म हो भन्ठान्छन्‌। तर २,७०० वर्षभन्दा अघि नै एकमात्र साँचो परमेश्‍वरले आफ्ना सेवकहरूलाई “मेरा साक्षी” भन्‍नुभयो। (यशैया ४३:१०-१२) सन्‌ १९३१ सम्म हामी बाइबल स्टुडेन्ट्‌स भनेर चिनिन्थ्यौं। त्यसोभए हामीले किन यहोवाका साक्षी भन्‍ने नाम अपनायौं?

यस नामले परमेश्‍वरको चिनारी दिन्छ। पुराना पाण्डुलिपिहरूअनुसार बाइबलमा परमेश्‍वरको नाम ‘यहोवा’ सात हजारभन्दा धेरै पटक उल्लेख गरिएको छ। तर थुप्रै अनुवादमा परमेश्‍वरको नामको सट्टा परमप्रभु वा परमेश्‍वरजस्ता पदवीहरू प्रयोग गरिएका छन्‌। साँचो परमेश्‍वर यहोवाले आफ्नो नामबारे यसो भन्‍नुभएको छ, “बाँकी रहेका मानिसहरूले सबै गैर-यहूदीहरूसित मिलेर जोडतोडले यहोवाको खोजी गर्न सकून्‌, जसको विषयमा यी सबै काम गर्ने यहोवा भन्‍नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्‌।” (प्रेषित १५:१७) यसरी परमेश्‍वरको पवित्र नामले उहाँलाई अरू झूटा देवहरूको भन्दा छुट्टै चिनारी दिन्छ। त्यसैले यो पवित्र नाम वहन गर्न पाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो।

यस नामले हाम्रो कामबारे बताउँछ। पहिले-पहिलेका थुप्रै असल मानिसले यहोवामाथिको आफ्नो विश्‍वासबारे साक्षी दिए। तीमध्ये पहिलो व्यक्‍ति हाबिल थिए। शताब्दियौंको दौडान नूह, अब्राहाम, सारा, मोशा, दाऊद अनि अरू थुप्रै व्यक्‍ति बाइबलमा उल्लेख गरिएका साक्षीहरूको “बाक्लो बादल”-मा सामेल भए। (हिब्रू ११:४–१२:१) एक जना निर्दोष व्यक्‍तिको पक्षमा कसैले अदालतमा साक्षी दिएजस्तै हामी पनि अरूलाई परमेश्‍वरबारे सत्य कुरा बताउन कटिबद्ध छौं।

यो नाम वहन गर्दा हामी येशूको अनुकरण गरिरहेका हुन्छौं। बाइबलमा येशूलाई “विश्‍वासी अनि साँचो साक्षी” भनिएको छ। (प्रकाश ३:१४) ‘मैले परमेश्‍वरको नाम प्रकट गरेको छु’ भनेर येशू आफैले भन्‍नुभयो र परमेश्‍वरबारे “सत्यको साक्षी” पनि दिनुभयो। (यूहन्‍ना १७:२६; १८:३७) त्यसकारण ख्रीष्टका साँचो अनुयायीहरूले यहोवाको नाम वहन गर्नुपर्छ र यसबारे अरूलाई बताउनुपर्छ। यहोवाका साक्षीहरू आज यसै गर्न प्रयास गरिरहेका छन्‌।

  • बाइबल स्टुडेन्ट्‌सले किन यहोवाका साक्षीहरू भन्‍ने नाम वहन गरे?

  • यहोवाबारे साक्षी दिने व्यक्‍तिहरू पृथ्वीमा कहिलेदेखि थिए?

  • यहोवाको महान्‌ साक्षी को हो?