पाठ १७

क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्‌?

क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्‌?

मलावी

प्रचार जान भेला भएको समूह

प्रचार गर्दै

एल्डरहरूको सभा

बाइबलको मत्तीदेखि प्रकाशसम्मको भागमा बर्णाबास र प्रेषित पावलबारे थुप्रै चोटि उल्लेख गरिएको छ। उनीहरू परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्थे र त्यतिखेरका मण्डलीहरूको भ्रमण गर्थे। किन? उनीहरू आफ्ना ख्रीष्टियन भाइबहिनीको साँचो चासो राख्थे। पावलले ‘फेरि गएर भाइहरूलाई भेट्‌न’ र तिनीहरूको हालखबर बुझ्न चाहेको कुरा बताए। तिनीहरूलाई भेटेर सुदृढ पार्न पावल सयौं किलोमिटर यात्रा गर्न इच्छुक थिए। (प्रेषित १५:३६) आज हामीमाझ सेवा गर्ने परिभ्रमण निरीक्षकहरू पनि यस्तै इच्छुकता देखाउँछन्‌।

तिनीहरू हामीलाई प्रोत्साहन दिन आउँछन्‌। प्रत्येक क्षेत्रीय निरीक्षकले लगभग २० वटा मण्डलीको वर्षमा दुई पटक भ्रमण गर्छन्‌। तिनले हरेक मण्डलीसित एक हप्ता बिताउँछन्‌। ती निरीक्षक भाइहरूका अनुभवबाट हामी निकै लाभ उठाउन सक्छौं। यदि तिनीहरू विवाहित हुन्‌ भने तिनीहरूका श्रीमतीको अनुभवबाट पनि लाभ उठाउन सक्छौं। तिनीहरूले जवान, वृद्ध सबैलाई राम्ररी चिन्‍ने प्रयास गर्छन्‌। साथै हामीसँगै क्षेत्र सेवामा भाग लिन र हाम्रा बाइबल अध्ययनहरूमा सँगै जान इच्छुक हुन्छन्‌। ती निरीक्षकहरू एल्डरहरूसँग मिलेर मण्डलीका सदस्यहरूलाई गोठालोले झैं भेटघाट गर्छन्‌। अनि हामीलाई सुदृढ पार्नको लागि सभा सभा र सम्मेलनहरूमा प्रोत्साहनदायी भाषणहरू दिन्छन्‌।—प्रेषित १५:३५.

तिनीहरू सबै जनाको चासो राख्छन्‌। क्षेत्रीय निरीक्षकहरू मण्डलीका सदस्यहरूले परमेश्‍वरसित कत्तिको प्रगाढ सम्बन्ध गाँसेका छन्‌ भन्‍ने विषयमा एकदमै चासो राख्छन्‌। तिनीहरू एल्डर र सहायक सेवकहरूलाई भेटेर मण्डलीले गरेको उन्‍नतिबारे बुझ्छन्‌ अनि ती भाइहरूलाई आ-आफ्ना जिम्मेवारी सम्हाल्न चाहिने व्यावहारिक सल्लाह पनि दिन्छन्‌। तिनीहरू अग्रगामीहरूलाई सेवाको काममा अझ सफलता हासिल गर्दै जान मदत दिन्छन्‌। तिनीहरू मण्डलीसित सङ्‌गत गर्ने नयाँ व्यक्‍तिहरूलाई राम्ररी चिन्‍न र उनीहरूले गरेको प्रगतिबारे सुन्‍न पाउँदा रमाउँछन्‌। यस्ता निरीक्षक भाइहरू ‘हाम्रो भलाइको लागि काम गर्ने हाम्रा सहकर्मी’ हुन्‌ र निःस्वार्थ भावले हाम्रो सेवा गर्छन्‌। (२ कोरिन्थी ८:२३) हामीले पनि तिनीहरूको विश्‍वास र भक्‍तिको अनुकरण गर्नुपर्छ।—हिब्रू १३:७.

  • क्षेत्रीय निरीक्षकहरू किन मण्डलीहरूको भ्रमण गर्छन्‌?

  • तिनीहरूको भ्रमणबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?