पाठ ३

बाइबल सत्य फेरि कसरी पत्ता लगाइयो?

बाइबल सत्य फेरि कसरी पत्ता लगाइयो?

बाइबल स्टुडेन्ट्‌स, सन्‌ १८७० को दशक

प्रहरीधरहरा-को (अङ्‌ग्रेजी) पहिलो अङ्‌क, सन्‌ १८७९

अहिलेको प्रहरीधरहरा

येशू ख्रीष्टको मृत्युपछि सुरु-सुरुका ख्रीष्टियनहरूकै बीचबाट झूटा शिक्षकहरू उठ्‌नेछन्‌ र तिनीहरूले बाइबलको सत्यलाई भ्रष्ट पार्नेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो। (प्रेषित २०:२९, ३०) समय बित्दै जाँदा त्यस्तै भयो। तिनीहरूले येशूका शिक्षालाई गैर-ख्रीष्टियन रीतिथितिसँग छ्यासमिस गरे र यसको परिणामस्वरूप झूटो ख्रीष्टियन धर्मको विकास भयो। (२ तिमोथी ४:३, ४) बाइबलले वास्तवमा सिकाउने कुरा आज हामीले सही तरिकामा बुझेका छौं कि छैनौं भनेर कसरी पक्का गर्न सक्छौं?

यहोवाले सत्य प्रकट गर्ने समय आयो। ‘अन्तको समयमा धेरै जना ज्ञान बढाउनलाई यता र उता जानेछन्‌’ अनि साँचो ज्ञान प्रशस्त हुनेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। (दानियल १२:४, NRV) सन्‌ १८७० मा, सत्यको खोजी गर्नेहरूको एउटा सानो समूहले चर्चका शिक्षाहरू धर्मशास्त्रसित मेल खाँदैन भनेर बुझे। त्यसैले तिनीहरूले बाइबलको सुरुका शिक्षाहरूबारे खोजीनिती गर्न थाले र यहोवाले तिनीहरूलाई धर्मशास्त्र राम्ररी बुझ्न मदत गर्नुभयो।

सत्यको खोजी गर्नेहरूले होसियारीसाथ बाइबल अध्ययन गरे। सुरु-सुरुका जेहनदार बाइबल स्टुडेन्ट्‌स जो हाम्रा अग्रज हुन्‌, तिनीहरूले बाइबल अध्ययन गर्न एउटा तरिका अपनाए। आज पनि हामी त्यही तरिका प्रयोग गर्दै छौं। तिनीहरू बाइबलको कुनै एउटा विषय छान्थे र त्यसबारे छलफल गर्थे। कुनै बाइबल विवरण बुझ्न गाह्रो हुँदा त्यसको अर्थ बुझाउने अन्य पदहरू खोज्थे। अनि धर्मशास्त्रको बाँकी भागसँग मेल खाने निष्कर्षमा पुगेपछि तिनीहरू त्यसलाई लेखेर राख्थे। यसरी बाइबललाई नै त्यसको अर्थ खोल्न दिएर तिनीहरूले परमेश्‍वरको नाम र उहाँको राज्य, पृथ्वी र मानिसजातिको लागि उहाँको उद्देश्‍य, मरिसकेकाहरूको अवस्था अनि पुनर्जीवनको आशाजस्ता विषयबारे सत्य कुरा फेरि पत्ता लगाए। यसरी खोजीनिती गर्दा तिनीहरू थुप्रै झूटा विश्‍वास र रीतिथितिबाट स्वतन्त्र हुन सके।—यूहन्‍ना ८:३१, ३२.

सत्य चारैतिर फैलाउने समय भइसकेको छ भनेर सन्‌ १८७९ सम्ममा बाइबल स्टुडेन्ट्‌सले बुझिसकेका थिए। त्यसकारण तिनीहरूले त्यही वर्षदेखि एउटा पत्रिका प्रकाशित गर्न थाले जुन अहिले पनि छापिन्छ र त्यसको नेपाली नाम हो, प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ। अहिले हामी २४० मुलुकमा र ७५० भन्दा धेरै भाषामा मानिसहरूलाई बाइबलमा पाइने सत्य कुराबारे बताउँछौं। साँचो ज्ञान यत्तिको प्रशस्त पहिला कहिल्यै भएको थिएन।

  • येशू ख्रीष्टको मृत्युपछि बाइबल सत्यलाई के गरियो?

  • हामीले कसरी परमेश्‍वरको वचन बाइबलबाट सत्य फेरि पत्ता लगाउन सक्यौं?