पाठ ११

हामी किन ठूलठूला जमघटमा उपस्थित हुन्छौं?

हामी किन ठूलठूला जमघटमा उपस्थित हुन्छौं?

मेक्सिको

जर्मनी

बोत्स्वाना

निकारागुआ

इटाली

यी मानिसहरूको मुहार किन हँसिलो देखिन्छ? तिनीहरू यहोवाका साक्षीहरूको जमघटमा उपस्थित भइरहेका छन्‌। परमेश्‍वरका पहिले-पहिलेका सेवकहरूलाई वर्षको तीन चोटि एकसाथ भेला हुन आज्ञा दिइएको थियो। (व्यवस्था १६:१६) तिनीहरूजस्तै हामी पनि ठूलो समूहमा भेला हुन पाउँदा रमाउँछौं। हरेक वर्ष हामी तीन वटा ठूलठूला जमघटमा उपस्थित हुन्छौं। ती हुन्‌: दुइटा एक दिने क्षेत्रीय सम्मेलन र तीन दिने अधिवेशन। यस्ता जमघटमा उपस्थित हुँदा हामीलाई कस्तो लाभ हुन्छ?

हामीबीचको बन्धन बलियो हुन्छ। यहोवाको उपासना गर्ने पहिले-पहिलेका इस्राएलीहरूले ‘समुदायमा उहाँको प्रशंसा’ गर्थे। (भजन २६:१२; १११:१) त्यसरी नै हामी पनि विशेष जमघटमा उहाँको उपासना गर्न पाउँदा रमाउँछौं। यसरी एकसाथ भेला हुँदा अरू मण्डलीका अनि कहिलेकाहीं त अर्कै मुलुकका यहोवाका साक्षीहरूलाई भेट्‌ने र तिनीहरूसित चिनजान गर्ने मौकासमेत पाउँछौं। यस्ता जमघटमा परमेश्‍वरबारे सिक्न पाउँदा हामी रमाउँछौं र मध्यान्तरमा कार्यक्रम थलोमा सँगै खाजा खाँदा पनि निकै रमाइलो हुन्छ। (प्रेषित २:४२) अनि “सबै भाइहरूलाई” एकतामा बाँध्ने प्रेम कस्तो हुँदो रहेछ भनेर आफ्नै आँखाले देख्न पाउँछौं।—१ पत्रुस २:१७.

परमेश्‍वरको कुरा अझ राम्ररी बुझ्न मदत गर्छ। धर्मशास्त्रको कुरा पढेर त्यसबारे राम्ररी बताइदिंदा इस्राएलीहरूले त्यसको अर्थ ‘बुझे।’ (नहेम्याह ८: ८, १२) हामी पनि यस्ता जमघटमा बाइबलबाट थुप्रै निर्देशन पाउँछौं र यसको निकै मोल गर्छौं। हरेक कार्यक्रम बाइबलमा आधारित एउटा मूल विषयमा केन्द्रित हुन्छ। कार्यक्रमको दौडान रोचक भाषण, विभिन्‍न भाग भएको गोष्ठी र वास्तविक घटनाको पुनःअभिनय प्रस्तुत गरिन्छ। यस्ता प्रस्तुतिले हामीलाई परमेश्‍वरको इच्छाबमोजिम कसरी जीवन बिताउने भनेर सिकाउँछ। अहिलेको कठिन समयमा ख्रीष्टियनको रूपमा जीवन बिताउँदा आइपर्ने चुनौतीलाई थुप्रैले सफलतापूर्वक सामना गरिरेहका छन्‌। यस्ता व्यक्‍तिहरूको अनुभव सुन्दा हामीले हरेस नखाई अघि बढिरहने हौसला पाउँछौं। जिल्ला अधिवेशनमा पूर्ण भेषभूषासहित मञ्चन गरिने नाटकले बाइबलको विवरणलाई जीवन्त ढङ्‌गमा प्रस्तुत गर्छ। यसबाट हामी थुप्रै व्यावहारिक पाठ सिक्न सक्छौं। परमेश्‍वरप्रतिको समर्पणलाई जनसमक्ष प्रकट गर्न चाहनेहरूको लागि यस्ता जमघटमा बप्तिस्मा गर्ने प्रबन्ध मिलाइएको हुन्छ।

  • ठूलठूला जमघटमा किन रमाइलो हुन्छ?

  • यस्ता जमघटमा उपस्थित भएर तपाईं कस्तो लाभ उठाउन सक्नुहुन्छ?