पाठ २०

अहिले परिचालक निकायले कसरी काम गर्छ?

अहिले परिचालक निकायले कसरी काम गर्छ?

प्रथम शताब्दीको परिचालक निकाय

परिचालक निकायको पत्र पढेर सुनाउँदै

प्रथम शताब्दीमा “यरूशलेममा भएका प्रेषित र एल्डरहरू”-को सानो समूहले परिचालक निकायको रूपमा काम गर्थ्यो। त्यही निकायले अभिषिक्‍त ख्रीष्टियनहरूको सम्पूर्ण मण्डलीलाई असर गर्ने महत्त्वपूर्ण निर्णयहरू गर्थ्यो। (प्रेषित १५:२) कुनै निर्णय गर्नुअघि तिनीहरू बाइबलमा बताइएका कुराहरू विचार गर्थे अनि पवित्र शक्‍तिको डोऱ्‍याइ खोज्थे। यसको फलस्वरूप तिनीहरूको निर्णय सर्वसम्मतिले पारित हुन्थ्यो। (प्रेषित १५:२५) आज पनि परिचालक निकायले यही तरिका अपनाउँछ।

परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न यस निकायलाई प्रयोग गरिरहनुभएको छ। आज परिचालक निकायमा सेवा गर्ने अभिषिक्‍त भाइहरू परमेश्‍वरको वचनमा गहिरो चासो राख्छन्‌। साथै तिनीहरू धर्मशास्त्रसित सम्बन्धित प्रश्‍नको जवाफ दिन र सङ्‌गठनको कामकुरा सम्हाल्न असाध्यै अनुभवी छन्‌। संसारभरि रहेका भाइबहिनीहरूको आवश्‍यकताबारे छलफल गर्न परिचालक निकायका सदस्यहरू हरेक हप्ता एकसाथ भेला हुन्छन्‌। प्रथम शताब्दीमा जस्तै आज पनि परिचालक निकायले पत्रद्वारा वा परिभ्रमण निरीक्षकजस्ता व्यक्‍तिहरूद्वारा बाइबलआधारित निर्देशनहरू दिन्छ। यसले गर्दा परमेश्‍वरका जनको सोचाइ र व्यवहारमा एकता सम्भव भएको छ। (प्रेषित १६:४, ५) परिचालक निकायले परमेश्‍वरको वचनमा आधारित भोजन तयार गर्ने कामको रेखदेख गर्छ, प्रचारकार्यलाई पहिलो स्थान दिन सबैलाई प्रोत्साहन दिन्छ अनि जिम्मेवारी वहन गर्न भाइहरूलाई नियुक्‍त गर्ने कामको निगरानी गर्छ।

यसले परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ स्वीकार्छ। परिचालक निकायले ब्रह्‍माण्डको सर्वोच्च शासक यहोवा र मण्डलीका शिर येशूको डोऱ्‍याइ खोज्छ। (१ कोरिन्थी ११:३; एफिसी ५:२३) यसका सदस्यहरू आफूलाई परमेश्‍वरका जनको नेता ठान्दैनन्‌। परिचालक निकायका सदस्य तथा सबै अभिषिक्‍त ख्रीष्टियन “थुमा [अर्थात्‌ येशू] जता-जता जान्छन्‌, त्यतै-त्यतै तिनको पछि लाग्छन्‌।” (प्रकाश १४:४) हामीले परिचालक निकायको काम र यसका सदस्यहरूको लागि प्रार्थना गरिदिंदा तिनीहरू असाध्यै आभारी हुन्छन्‌।

  • प्रथम शताब्दीको परिचालक निकाय को-को मिलेर बनेको थियो?

  • आज परिचालक निकायले कसरी परमेश्‍वरको डोऱ्‍याइ खोज्छ?