पाठ २२

शाखा कार्यालयमा कस्तो काम गरिन्छ?

शाखा कार्यालयमा कस्तो काम गरिन्छ?

सलोमन टापुहरू

क्यानाडा

दक्षिण अफ्रिका

बेथेल परिवारका सदस्यहरू विभिन्‍न विभागमा सेवा गर्छन्‌। तिनीहरूले जुनसुकै विभागमा सेवा गरे तापनि त्यसले कुनै एउटा वा त्यसभन्दा बढी देशमा भइरहेको प्रचारकार्यलाई टेवा पुऱ्‍याउँछ। तिनीहरूमध्ये कोही-कोही अनुवाद टोलीमा वा छापाखानामा काम गर्छन्‌ भने अरू कतिले पत्र-पत्रिका तथा पुस्तक-पुस्तिका भण्डार गर्ने, श्रव्य/दृश्‍य सामग्री उत्पादन गर्ने वा अन्य आवश्‍यक काम गर्छन्‌।

शाखा समितिले आफ्नो शाखामा हुने कामको सुपरिवेक्षण गर्छ। परिचालक निकायले शाखा कार्यालय सञ्चालन गर्ने जिम्मा शाखा समितिलाई सुम्पेको हुन्छ। प्रत्येक शाखा समितिमा तीन वा सोभन्दा धेरै दक्ष एल्डर हुन्छन्‌। यस समितिले आफ्नो मातहतमा भएका मुलुकमा भइरहेको प्रगति अनि त्यहाँ देखा परेका समस्याहरूबारे परिचालक निकायलाई अवगत गराउँछ। यसले गर्दा परिचालक निकायलाई आगामी प्रकाशन, सभा र सम्मेलनमा कस्ता विषयहरूबारे छलफल गर्नु उपयुक्‍त हुन्छ भनेर निर्णय गर्न सजिलो हुन्छ। शाखा कार्यालयको नियमित रूपमा भ्रमण गर्न परिचालक निकायका प्रतिनिधिहरू पठाइन्छन्‌। तिनीहरू त्यहाँ गएर शाखा समितिलाई आफ्नो जिम्मेवारी सँभाल्न आवश्‍यक मदत दिन्छन्‌। (हितोपदेश ११:१४) यस्तो भ्रमणको बेला त्यस शाखाको इलाकामा बस्ने भाइबहिनीहरूलाई प्रोत्साहन दिनको लागि एउटा विशेष कार्यक्रमको आयोजना गरिन्छ, जसमा मुख्यालय प्रतिनिधिले भाषण दिने प्रबन्ध मिलाइएको हुन्छ।

शाखा समितिले आफ्नो मातहतमा रहेका मण्डलीहरूलाई सघाउँछ। शाखा कार्यालयमा जिम्मेवारी वहन गर्ने भाइहरूले नयाँ मण्डली स्थापना गर्न स्वीकृति दिन्छन्‌। यहाँ सेवा गर्ने भाइहरूले आफ्नो शाखाको मातहतमा रहेका अग्रगामी, मिसनरी अनि क्षेत्रीय निरीक्षकहरूलाई आवश्‍यक निर्देशन पनि दिन्छन्‌। तिनीहरूले सम्मेलन तथा अधिवेशनको आयोजना गर्छन्‌, नयाँ राज्यभवन निर्माणकार्यको संयोजन गर्छन्‌ अनि मण्डलीहरूलाई पत्र-पत्रिका तथा पुस्तक-पुस्तिका ढुवानी गर्ने प्रबन्ध मिलाउँछन्‌। शाखा कार्यालयमा गरिने सबै कामले प्रचारकार्यलाई व्यवस्थित ढङ्‌गले अघि बढाउन योगदान पुऱ्‍याउँछ।—१ कोरिन्थी १४:३३, ४०.

  • शाखा समितिले परिचालक निकायलाई कसरी सघाउँछ?

  • शाखा कार्यालयमा कस्ता कामहरू गरिन्छन्‌?