पाठ ७

हाम्रा सभाहरूमा कस्ता कार्यक्रम हुन्छन्‌?

हाम्रा सभाहरूमा कस्ता कार्यक्रम हुन्छन्‌?

न्यु जील्याण्ड

जापान

युगाण्डा

लिथुनिया

सुरु-सुरुका ख्रीष्टियन सभाहरूमा मुख्यतया भजन, प्रार्थना अनि धर्मशास्त्रको अध्ययन र छलफल हुन्थ्यो। त्यहाँ कुनै धार्मिक रीतिथिति हुँदैनथ्यो। (१ कोरिन्थी १४:२६) आज हाम्रा सभाहरू पनि सुरु-सुरुका ती ख्रीष्टियन सभाहरूजस्तै छन्‌।

सभामा दिइने निर्देशन बाइबलआधारित र व्यावहारिक हुन्छ। हरेक शनिबार वा आइतबार मण्डलीका सबै जना एक ठाउँमा भेला हुन्छन्‌। त्यहाँ सुरुमा ३० मिनेट लामो बाइबलआधारित भाषण दिइन्छ। त्यस भाषणबाट हामी बाइबलका शिक्षाहरू आफ्नो जीवनमा कसरी लागू गर्ने भनेर सिक्छौं। साथै हामी बाँचिरहेको समयबारे बाइबल के भन्छ भनेर पनि उक्‍त भाषणमा बताइन्छ। हामी सबैलाई वक्‍ता सँगसँगै आ-आफ्नो बाइबल पल्टाउन आग्रह गरिन्छ। भाषणपछि एक घण्टाको लागि अर्को सभा, प्रहरीधरहरा अध्ययन हुन्छ। यो सभामा प्रहरीधरहरा-को अध्ययन संस्करणबाट एउटा लेख छलफल गरिन्छ। यसमा मण्डलीका सबैले भाग लिन सक्छन्‌। यस्तो छलफलबाट हामी आफ्नो जीवनमा बाइबलका निर्देशनहरू लागू गर्न मदत पाउँछौं। संसारभरिका १,१०,००० भन्दा धेरै मण्डलीमा प्रहरीधरहरा-को एउटै लेख अध्ययन गरिन्छ।

हाम्रो शिक्षण कला तिखार्ने मदत पाउँछौं। हप्ताको बीचतिर कुनै एक साँझ हामी फेरि सभाको लागि एकसाथ भेला हुन्छौं। त्यो सभा हो, हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य। यो सभामा हामी जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-मा दिइएका सामग्रीहरू छलफल गर्छौं। ‘बाइबलमा पाइने अनमोल धन’ भागबाट हामी बाइबलको थुप्रै कुरा सिक्न सक्छौं। यस भागबाट लाभ उठाउन पहिल्यै तयारी गर्न सक्छौं। ‘प्रचार गर्ने सीप तिखारौं’ भागमा विद्यार्थीहरूको प्रदर्शन हेरेर बाइबलको कुरा अरूसित कसरी बाँड्‌ने भनेर सिक्न सक्छौं। यस भागमा सल्लाहकारले विद्यार्थीको पढ्‌ने र बोल्ने कला तिखार्न आवश्‍यक सल्लाह पनि दिन्छन्‌। (१ तिमोथी ४:१३) ‘ख्रीष्टियन जीवन’ भन्‍ने सभाको अन्तिम भागमा हामी बाइबलका सिद्धान्तहरू जीवनमा लागू गर्ने तरिका सिक्न सक्छौं। साथै यस भागमा हुने प्रश्‍न-उत्तर छलफलमार्फत बाइबलका गहिरा-गहिरा कुराहरू सिक्न सक्छौं।

हाम्रा सभाहरूमा उपस्थित हुँदा त्यहाँ पाइने बाइबल शिक्षाको गुणस्तर देखेर तपाईं पक्कै प्रभावित हुनुहुनेछ।—यशैया ५४:१३.

  • यहोवाका साक्षीहरूको सभामा कस्ता कुराहरू हुन्छन्‌?

  • हाम्रो कुन चाहिं सभामा तपाईं उपस्थित हुन चाहनुहुन्छ?