पाठ १

यहोवाका साक्षीहरू कस्ता मानिस हुन्‌?

यहोवाका साक्षीहरू कस्ता मानिस हुन्‌?

डेनमार्क

ताइवान

भेनेजुएला

भारत

तपाईं कति जना यहोवाका साक्षीलाई चिन्‍नुहुन्छ? हामीमध्ये कोही तपाईंको छिमेकी, सहकर्मी वा सहपाठी हौंला। हामीले तपाईंसित बाइबलबारे छलफल पनि गरेका छौं होला। हामी वास्तवमा को हौं अनि किन आफ्नो विश्‍वासबारे अरू मानिसहरूलाई बताउँछौं?

हामी तपाईंजस्तै साधारण मानिस हौं। हाम्रो सामाजिक अवस्था र पृष्ठभूमि भिन्‍नाभिन्‍नै छ। हामीमध्ये कोही-कोही पहिले अर्कै धर्म मान्थ्यौं भने कोहीलाई चाहिं भगवान्‌मा विश्‍वासै थिएन। तर यहोवाको साक्षी हुनुभन्दा अगाडि हामीले बाइबलको शिक्षा होसियारीसाथ जाँच्न समय निकाल्यौं। (प्रेषित १७:११) आफूले सिकेको कुरा साँचो रहेछ भनेर हामीले बुझ्यौं। त्यसपछि अरू कसैको करकापले होइन तर आफै उत्प्रेरित भएर यहोवाको उपासना गर्ने निर्णय गऱ्‍यौं।

हामी बाइबल अध्ययनबाट लाभ उठाउँछौं। अरू सबैको जस्तै हाम्रो पनि आ-आफ्नै समस्या र कमी-कमजोरीहरू छन्‌। तर बाइबलमा दिइएका सिद्धान्तहरू दिनहुँ लागू गर्ने कोसिस गर्दा आफ्नो जीवनमा राम्रा परिवर्तनहरू आएको हामीले अनुभव गरेका छौं। (भजन १२८:१, २) आफूले बाइबलबाट सिकेका राम्रा कुराहरू हामीले अरूलाई बताउनुको एउटा कारण यही हो।

हामी परमेश्‍वरले तोक्नुभएको स्तरअनुरूप जिउँछौं। बाइबलमा दिइएको स्तरअनुरूप जीवन बिताउँदा हाम्रो हित हुन्छ। साथै यसले अरूको आदर गर्न अनि इमानदार र दयालु हुन पनि सिकाउँछ। यसले मानिसहरूलाई शारीरिक र मानसिक तवरमा स्वस्थ रहन र समाजमा योगदान पुऱ्‍याउनुका साथै परिवारमा एकता कायम गर्न मदत गर्छ। साथै यसले नैतिक स्वच्छता विकास गर्न पनि मदत दिन्छ। “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” भनेर हामी विश्‍वस्त छौं। हामी जातीय अनि राजनैतिक भेदभाव नभएको अन्तरराष्ट्रिय परिवारका सदस्य हौं। हामी व्यक्‍ति-व्यक्‍तिको हिसाबले साधारण मानिस हौं तर समूहको रूपमा भने हाम्रो विशेष चिनारी छ।—प्रेषित ४:१३; १०:३४, ३५.

  • यहोवाका साक्षीहरू र अरू मानिसबीच के समानता छ?

  • यहोवाका साक्षीहरूले बाइबल अध्ययन गरेर कस्ता राम्रा कुराहरू सिकेका छन्‌?