पाठ १८

सङ्‌कष्टमा परेका भाइबहिनीलाई हामी कसरी मदत गर्छौं?

सङ्‌कष्टमा परेका भाइबहिनीलाई हामी कसरी मदत गर्छौं?

डोमिनिकन गणतन्त्र

जापान

हाइटी

प्राकृतिक प्रकोप आइपर्दा त्यसबाट प्रभावित भाइबहिनीलाई राहत दिनको लागि यहोवाका साक्षीहरू तुरुन्तै कदम चाल्छन्‌। यसले हामी आपसमा साँचो प्रेम गर्छौं भनेर देखाउँछ। (यूहन्‍ना १३:३४, ३५; १ यूहन्‍ना ३:१७, १८) हामी कुन-कुन तरिकामा मदत गर्छौं?

हामी आर्थिक सहयोग गर्छौं। पुरातन सहर यहूदियामा ठूलो अनिकाल पर्दा त्यहाँका भाइबहिनीहरूको लागि एन्टिओकका ख्रीष्टियनहरूले आर्थिक सहयोग पठाए। (प्रेषित ११:२७-३०) अहिले पनि कुनै-कुनै ठाउँका भाइबहिनीले सङ्‌कष्ट भोगिरहेको कुरा हामी कहिलेकाहीं सुन्‍ने गर्छौं। यस्तो कठिन अवस्था भोगिरहेकाहरूलाई आर्थिक सहयोग गर्न हामी आ-आफ्नो मण्डलीमार्फत अनुदान पठाउँछौं।—२ कोरिन्थी ८:१३-१५.

हामी आवश्‍यक मदत गर्छौं। प्राकृतिक प्रकोपबाट प्रभावित ठाउँका एल्डरहरूले आफ्नो मण्डलीका एक-एक सदस्य कहाँ छन्‌ अनि तिनीहरू सुरक्षित छन्‌ कि छैनन्‌, त्यो पक्का गर्छन्‌। राहत समितिले तिनीहरूका लागि खानेकुरा, लुगाफाटा, सफा पिउने पानी, बस्ने ठाउँ अनि स्वास्थ्य उपचार उपलब्ध गराउने प्रबन्ध मिलाउँछ। प्रभावित क्षेत्रमा मदत गर्न चाहिने सीप भएका थुप्रै साक्षी आफ्नै खर्चमा त्यहाँ गएर राहतकार्यमा भाग लिन्छन्‌ वा क्षतिग्रस्त राज्यभवन र घरहरूको मर्मतसम्भार गर्छन्‌। हाम्रो सङ्‌गठनमा एकता छ अनि हामीले सँगै मिलेर काम गर्न पनि सिकेका छौं। यसले गर्दा सङ्‌कष्टको बेला राहतकार्यको लागि तुरुन्तै कदम चाल्न सक्छौं। हुन त हामी ‘एउटै विश्‍वास हुने हाम्रा भाइबहिनीहरूलाई’ सर्वप्रथम मदत गर्छौं तर सम्भव छ भने अर्कै धर्म मान्‍ने व्यक्‍तिहरूलाई पनि मदत गर्छौं।—गलाती ६:१०.

हामी बाइबलबाट सान्त्वना दिन्छौं र भावनात्मक चोट सहन मदत गर्छौं। प्राकृतिक प्रकोपबाट पीडित व्यक्‍तिहरूलाई विशेषगरि सान्त्वनाको खाँचो पर्छ। त्यस्तो बेला हामी “सबै सान्त्वनाका परमेश्‍वर” यहोवाबाट बल प्राप्त गर्छौं। (२ कोरिन्थी १:३, ४) हामी यस्ता निराश व्यक्‍तिहरूलाई अब चाँडै परमेश्‍वरको राज्यले सबै पीडादायी सङ्‌कष्टको अन्त गर्नेछ भनेर बाइबलले दिने आशा र ढाडस दिन्छौं।—प्रकाश २१:४.

  • प्राकृतिक प्रकोपको बेला यहोवाका साक्षीहरूले तुरुन्तै कदम चाल्न सक्नुको कारण के हो?

  • प्रकोपबाट बचेकाहरूलाई हामी बाइबलबाट कस्तो सान्त्वना दिन सक्छौं?