पाठ १६

सहायक सेवकहरूले के-के गर्छन्‌?

सहायक सेवकहरूले के-के गर्छन्‌?

म्यानमार

मण्डलीको सभा सञ्चालन गर्दै

क्षेत्र सेवाको सभा सञ्चालन गर्दै

राज्यभवनको सरसफाइमा भाग लिंदै

मण्डलीका जिम्मेवारीहरू सम्हाल्ने दुई प्रकारका ख्रीष्टियन पुरुषहरूबारे बाइबलमा बताइएको छ। ती हुन्‌: “निरीक्षक र सहायक सेवकहरू।” (फिलिप्पी १:१) साधारणतया हरेक मण्डलीमा एल्डर र सहायक सेवकको रूपमा सेवा गर्ने पुरुषहरू हुन्छन्‌। सहायक सेवकहरूले हाम्रो हितको लागि के-के गर्छन्‌?

तिनीहरूले एल्डरहरूको निकायलाई सहयोग गर्छन्‌। सहायक सेवकहरू भरोसायोग्य र लगनशील पुरुषहरू हुन्‌, जसले यहोवासित बलियो सम्बन्ध गाँसेका हुन्छन्‌। तिनीहरू जवान या वृद्ध, जुनसुकै उमेरका हुन सक्छन्‌। मण्डलीलाई सुव्यवस्थित राख्न नियमित रूपमा गर्नुपर्ने थुप्रै अत्यावश्‍यक काम गर्न सहायक सेवकहरूले सघाउँछन्‌। यसमा शारीरिक बल प्रयोग गर्नुपर्ने कामहरू पनि पर्छन्‌। यसले गर्दा एल्डरहरूले मण्डलीलाई सिकाउने र गोठालोले झैं हेरविचार गर्ने काममा आफ्नो पूरै ध्यान लगाउन सक्छन्‌।

तिनीहरूले सबैका लागि उपयोगी कामहरू गर्छन्‌। कोही-कोही सहायक सेवकलाई परिचारकको काम गर्न खटाइन्छ। तिनीहरू सभामा आउनेहरूलाई स्वागत गर्छन्‌। कोही-कोहीले भने सभामा प्रयोग गरिने ध्वनि उपकरणहरू मिलाउने, साहित्य वितरण गर्ने, मण्डलीको खर्च र अनुदानको हिसाब राख्ने अनि मण्डलीका सदस्यहरूको लागि प्रचार गर्ने इलाकाको प्रबन्ध मिलाइदिने काम गर्छन्‌। सहायक सेवकहरूले राज्यभवनको मर्मतसम्भारमा पनि सहयोग गर्छन्‌। मण्डलीका वृद्ध भाइबहिनीहरूलाई सघाउन एल्डरहरूले सहायक सेवकलाई खटाउन सक्छन्‌। मण्डलीमा जस्तोसुकै जिम्मेवारी पाए पनि सहायक सेवकहरू खुसी भएर त्यो पूरा गर्छन्‌। त्यसैले तिनीहरू सबैको आदर पाउन योग्य छन्‌।—१ तिमोथी ३:१३.

तिनीहरूले ख्रीष्टियन पुरुषको रूपमा असल उदाहरण बसाल्छन्‌। सहायक सेवकहरूले असल ख्रीष्टियन गुणहरू देखाएर राम्रो उदाहरण बसालेका हुन्छन्‌। तिनीहरूले सभामा प्रस्तुत गर्ने कार्यक्रमद्वारा हाम्रो विश्‍वास बलियो हुन्छ। प्रचारकार्यमा अगुवाइ लिएर तिनीहरू हामीलाई पनि प्रचारकार्यमा अझ जोसिलो हुन जुरमुऱ्‍याउँछन्‌। तिनीहरू एल्डरहरूको निकायसित मिलेर काम गर्ने हुँदा मण्डलीको आनन्द र एकतामा योगदान पुग्छ। (एफिसी ४:१६) समयको दौडान तिनीहरू पनि एल्डरको रूपमा सेवा गर्न योग्य हुन सक्छन्‌।

  • कस्ता पुरुषहरू सहायक सेवकको रूपमा सेवा गर्न योग्य हुन्छन्‌?

  • मण्डलीका सबै काम सुचारु रूपले चलाउन सहायक सेवकहरूले कसरी मदत गर्छन्‌?