अध्याय ५

सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?

सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?

“दया, विनम्रता, कोमलता र धीरज धारण गर।”—कलस्सी ३:१२

विवाहपछि एउटा छुट्टै नयाँ परिवारको सुरुवात हुन्छ। तपाईं आमाबुबालाई धेरै माया अनि आदर गर्नुहुन्छ। तर अबदेखि भने तपाईंको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति श्रीमान्‌ अथवा श्रीमती हो। यो कुरा स्वीकार्न आमाबुबालाई गाह्रो हुन सक्छ। तपाईं आफ्नो आमाबुबा र सासू-ससुरासितको सम्बन्धलाई राम्रो बनाइराख्न चाहनुहुन्छ। यसो गर्न तपाईंलाई बाइबलमा दिइएका सल्लाहहरूले मदत गर्नेछ। यस अध्यायमा दिइएका सल्लाहहरू सासू-ससुराको सन्दर्भमा मात्र होइन, तपाईंको दाजुभाइ, दिदीबहिनी, सासू-ससुराको नजिकको आफन्त, काका-काकी, मामा-माइजू, हजुरबुबा, हजुरआमा अनि परिवारका अरू सदस्यहरूसित व्यवहार गर्दा पनि लागू हुन्छ।

१ सासू-ससुराको आदर गर्नुहोस्‌

बाइबल के भन्छ? “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।” (एफिसी ६:२) तपाईं जतिसुकै ठूलो भए तापनि तपाईंले आमाबुबाको आदर गर्नुपर्छ। त्यसैगरि तपाईंको जीवनसाथी पनि कसैको छोरा वा छोरी हो। त्यसैले तिनले पनि आफ्नो आमाबुबाको आदर गर्नुपर्छ। बाइबल यसो भन्छ, “प्रेमले डाह गर्दैन।” त्यसैले तपाईंको जीवनसाथी तिनको आमाबुबासित घनिष्ठ हुँदैमा तपाईंहरूबीचको दूरी बढ्‌ने हो कि भनेर चिन्ता नगर्नुहोस्‌।—१ कोरिन्थी १३:४; गलाती ५:२६.

यसो गरेर हेर्नुहोस्‌:

  • यस्तो खालको कुरा नगर्नुहोस्‌, “तपाईंको ममी/ड्याडीले मलाई सधैं हेपेर कुरा गर्नुहुन्छ” अथवा “तपाईंको ममीलाई त मैले गरेको केही चित्तै बुझ्दैन।”

  • जीवनसाथीको ठाउँमा आफूलाई राखेर हेर्ने कोसिस गर्नुहोस्‌।

२ खुलस्त कुराकानी गर्नुहोस्‌

बाइबल के भन्छ? ‘मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, तिनीहरू एउटै जीउ हुन्छन्‌।’ (उत्पत्ति २:२४) छोराछोरीलाई हुर्काउने-बढाउने दायित्व आमाबाबुको हो। त्यसैले विवाह भइसकेपछि पनि उहाँहरूलाई तपाईंको चिन्ता लाग्न सक्छ। त्यसैले तपाईंले मदत नमागे तापनि उहाँहरूले तपाईंको लागि निर्णय गरिदिने अनि सरसल्लाह दिने गर्न सक्छन्‌।

आमाबुबाले कस्तो मामिलामा हस्तक्षेप गरेको चाहनुहुन्‍न, श्रीमान्‌-श्रीमती आपसमा कुरा गर्नुहोस्‌ अनि उहाँहरूलाई आफ्नो कुरा खुलस्त बताउनुहोस्‌। यसरी कुरा गर्दा रूखो नहुनुहोस्‌। (हितोपदेश १५:१) विनम्र, कोमल अनि धीरजी हुनुभयो भने ‘प्रेम देखाउँदै एक-अर्कालाई सहिरहन’ र सासू-ससुरासितको सम्बन्ध न्यानो बनाइराख्न सक्नुहुन्छ।—एफिसी ४:२.

यसो गरेर हेर्नुहोस्‌:

  • तपाईंले आमाबुबा वा सासू-ससुरासित मदत माग्नुभएको छैन। तैपनि उहाँहरू ‘यसो गर, उसो गर’ भन्‍नुहुन्छ भने त्यस विषयमा जीवनसाथीसित उपयुक्‍त समयमा कुरा गर्नुहोस्‌।

  • यस्तो समस्या समाधान गर्ने उपाय निकालेपछि दुवै जनाले त्यसैअनुसार गर्नुहोस्‌।